२०८२ भदौ १२ गते बिहिवार / Aug 28 , 2025 , Thursday
२०८२ भदौ १२ गते बिहिवार
Ads

नारीप्रधान चाड : ऋषिपञ्चमी

shivam cement
२०८२ भदौ १२ गते ०६:००
नारीप्रधान चाड : ऋषिपञ्चमी

–विश्वनाथ खरेल

ऋषिपञ्चमी, भाद्र शुक्ल पञ्चमी तिथिमा मनाइने एक धार्मिक पर्व हो, जसमा सप्तऋषिको पूजा गरिन्छ । ऋषिपञ्चमी व्रतको इतिहास हजारौं वर्ष पुरानो छ, जसले वैदिक सनातन संस्कारमा नारीको यौन, प्रजनन स्वास्थ्य र अधिकारलाई दिएको महत्व झल्काउँछ । यस व्रतमा रजस्वलाका चार दिनलाई चार देवीहरूको रूपमा तुलना गरिन्छ– प्रथम दिन– चण्डालनी, दोस्रो दिन– ब्रह्मधातिनी, तेस्रो दिन– धोबिनी, चौथो दिन– स्नान गरी शुद्ध हुने चलन ।

नारीलाई माया र शक्तिको प्रतीकका रूपमा हेरिन्छ, त्यसैले शास्त्रमा पनि भनिएको छ –‘या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।’ सृष्टिकालको आरम्भमा ऋषिपञ्चमी व्रत ब्रह्महत्या जस्ता पापहरूबाट मुक्तिका लागि गरिएको थियो । पछि यो व्रत स्त्रीहरूको मासिक धर्मसँग जोडिन गयो ।

भाद्र शुक्ल पञ्चमीका दिन यो व्रत सबै जात–जातिका लागि थियो तर अहिले अधिकांश महिलाहरूले मात्र व्रत बस्ने गर्छन् । ब्रह्माण्ड पुराणमा यसको विस्तृत वर्णन पाइन्छ । यो दिन व्रतालुले नदी, पोखरी, ताल आदि जलाशयमा स्नान गरी, सप्तऋषिहरू– मरिची, वशिष्ठ, अंगिरा, अत्रि, पुलस्त्य, पुलह र क्रतु र वसिष्ठकी पत्नी अरुन्धतीको षोडशोपचार पूजापाठ गर्दछन् ।

हिन्दू संस्कारअनुसार ऋषिपञ्चमीलाई पनि उत्तिकै महत्वको पर्वका रूपमा हेरिन्छ । पौराणिक मान्यताअनुसार, रजस्वला हुँदा नारीले जानेर वा नजानेर गरेका पापहरूबाट मुक्तिका लागि यो व्रत गरिन्छ । गरुड पुराणलगायत अन्य शास्त्रहरूमा उल्लेख छ–देवराज इन्द्रलाई ब्रह्महत्या पापबाट मुक्त गराउन चार भाग पाप बाँड्दा, एक भाग नारीहरूको मासिक धर्ममा प्रवेश गराइएको थियो । त्यसैकारण महिलाहरू रजस्वलाको चौथो दिनसम्म अशुद्ध मानिन्छन् । तर यही मासिक प्रक्रिया सन्तानोत्पादनको आधार भएकाले मानव जातिको निरन्तरता सुनिश्चित गर्छ ।

यो दिन व्रतालु महिलाहरूले ३ सय ६५ वटा दतिवनको टुक्राले दाँत माझ्ने, माटो, तिल र गोबर लगाएर स्नान गर्ने, चोखो वस्त्र लगाउने, र मध्याह्नमा सप्तऋषिको पूजा गरी कर्कलाको तरकारी बनाएर एकछाक खाना खाने गर्छन् । विवाहित महिलाहरूले अटल सौभाग्यको कामनामा चुरा, पोते, सिन्दूर, धागो आदि चढाउने गर्दछन् ।

ऋषिहरू– कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अरुन्धतीको पूजा गर्दा रजोदोषलगायत सम्पूर्ण दोष नष्ट भई, लोकमा समृद्धि र परलोकमा मुक्ति प्राप्त हुने भविष्योत्तर पुराणमा वर्णन छ । ऋषिपूजापछि नाचगान र भजनकीर्तन गरेमा तीजको व्रत पूर्ण हुन्छ भन्ने धार्मिक मान्यता पनि पाइन्छ ।

पञ्चमीको पूजा सकिएपछि तीज पर्वको समापन मानिन्छ । यदि पञ्चमी तिथि टुटेको छ भने चतुर्थीयुक्त पञ्चमी ग्राह्य हुन्छ । यद्यपि, यो निर्णय विवादरहित भने छैन । हाम्रो समाजमा रजस्वला हुँदा अन्जानमा भएको छोइछिटो वा गल्तीको पश्चातापस्वरूप महिलाहरू यो व्रत बस्छन् । तर ३ सय ६५ वटा दतिवन चपाउने, माटोले शरीर दल्ने र प्रदूषित जलाशयमा स्नान गर्नेजस्ता क्रियाकलापले छालासम्बन्धी रोग फैलने सम्भावना हुने भएकाले स्वास्थ्यकर्मी र वैज्ञानिकहरूको रायअनुसार व्यवहार परिवर्तन गर्नु आवश्यक छ । 

समग्रमा, ऋषि पञ्चमी महिलाहरूले आफ्नो प्राकृतिक जैविक प्रक्रियासँग सम्बन्धित सामाजिक धारणा र व्यवहारबारे सोच्ने अवसर पनि हो । मानव सृष्टि नारीबिना सम्भव छैन । रजस्वला लुकाउने, लाज मान्ने वा अपवित्र ठान्ने होइन, यो जीवनदायिनी प्रक्रिया हो भन्ने सन्देश ऋषिपञ्चमीले दिन्छ । पौराणिक कथामा, व्रत नगरेको कारण ब्राह्मणीको शरीरमा किरा पर्ने प्रसंग र अर्काे जन्ममा कुकुर्नी र गोरु भएर जन्मनु परेको प्रसंग उल्लेख छ । ऋषिपञ्चमीको व्रतले यस्तो पापबाट मुक्त गराउने बताइएको छ । अन्ततः यस्तो व्रत धर्म, स्वास्थ्य र आत्मशुद्धिको सन्देश बोकेको नारीप्रधान पर्व हो, जसले नारीको अस्तित्व र प्रकृतिको चक्रप्रति सम्मान प्रकट गर्छ ।

ADV

सम्बन्धित खबर

Advertise