–विश्वनाथ खरेल
नेपालमा हरितालिका तिज पर्व लिच्छवि कालदेखि नै चलेको कुरा विद्वानहरू बताउँछन् । समयानुसार यसमा मनाइने विधि विधान तथा शैली र मान्यता फरक हुँदै आएतापनि यसभित्र लुकेको तात्विक गुण जीवितै रहेको विश्वास गरिन्छ । यो ठाउँअनुसार यसमा केही तलमाथि भए तापनि यो व्रत भगवान् शिव–पार्वतीसँग गाँसिएको छ । जुन तिजको अघिल्लो दिन मीठा मीठा परिकार बनाई दर खाने चलन छ भने भोलिपल्ट निर्जल र निराहार व्रत बस्ने भएकाले यो दिन रातिसम्म अनेक किसिमका परिकार बनाई खाने गरिन्छ । यसमा खासगरीकन व्रतालुहरू भोलिपल्ट बिहानै स्नान गरी विशेषगरी शुद्ध रातो वस्त्र पहिरिई विभिन्न गरगहनाले सिँगारिई शिवालयमा गई शिवको उपासना, पूजा अर्चना आदि गर्दछन् । विशेषतः यो दिनमा शिव पार्वती षोडशोपचार विधिले पूजापाठ गर्ने चलन छ ।
तिजमा विवाहित महिलाले आफ्ना पति मात्र नभई सम्पूर्ण परिवारकै सुख समृद्धिको कामना गरी व्रत बस्दछन् । यसमा भन्ने हो भने गृहिणी नै घरको मूल मानिने र घरको सम्पूर्ण जिम्मेवारी दिएकाले पनि आफूभन्दा पनि आफ्ना पति र सम्पूर्ण परिवारकै भलाइको कामना गरेर विवाहित स्त्रीले विशेषरूपमा यो व्रतलाई पालना गर्दछन् । त्यस्तै अविवाहित कन्याले आफ्नो भावी पति र दाम्पत्य जीवन सोचअनुरूपको सफल रहोस् भन्ने कामनाका साथ व्रत बस्ने चलन रहेको छ । यो तिज वर्त माहात्म्य हिमालय पर्वतमा आसीन शिव पार्वतीको दाम्पत्य जीवनसँग सम्बन्धित छ । यसैले नेपाली महिलाका लागि यो पर्व प्राणभन्दा पनि प्यारो हुन्छ ।
प्रत्येक वर्ष भाद्र शुल्क तृतीयाका दिन मनाइने तिज स्त्री जातिका लागि निकै महत्वपूर्ण चाड हो । यसमा धार्मिक तथा संस्कृति दृष्टिले पनि नित्यकर्म सकेर, निराहार भई शिवजीको आराधना गर्नाले जन्म जन्मान्तरको पाप नाश हुने, भाग्यको वृद्धि हुने, सन्तानको कल्याणका साथै इह लोकदेखि परलोकसम्म कल्याणकारी मानिने यो पर्व सामाजिक सन्दर्भका दृष्टिले पनि अत्यन्त महत्वपूर्ण छ । अतः हरितालिका पर्व नेपाली नारीहरूको अत्यन्त ठूलो पर्व हो ।
तिजको अघिल्लो दिनलाई ‘दरखाने’ दिनले चिनिन्छ । जसमा मीठा–मीठा तागतदार दरिलो भोजन तयार गरेर खाइन्छ । आजकाल यो दरखाने दिनको समय बढेर तिज आउनुभन्दा १÷२ महिना अगाडि दिनदेखि चेलीबेटीहरू एवं आफन्तहरूलाई डाकेर खुवाउने प्रचलन सहरी क्षेत्रमा बढी देखिएको छ । वस्तुतः महिलाहरूको लागि यो पर्व ज्यादै कठिन मानिन्छ । यस पर्वका दिन बिहान महादेवको पूजाआजा गरी नजिकको शिव मन्दिरमा गएर पूजा–अर्चना गरेर सम्पन्न गरिन्छ । यस दिनमा प्रत्येक विवाहित, नारीहरूले आ–आफ्नो पुरुषको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछन् भने अविवाहित स्त्रीहरूले राम्रो पति पाइयोस् भन्ने कामनाका साथ यो व्रत बस्ने गर्दछन् ।
शास्त्रीय विधानअनुसार तिज पर्वका दिनमा नारीहरूले पानीसमेत नखाई उपवास बस्छन् । जसरी प्राचीन समयमा पार्वतीले शिव वर पाऊँ भनी तिजको व्रत गरेको हुनाले नै पार्वतीले शिव वर पाएकी हुन् भन्ने धार्मिक शास्त्रमा उल्लेख छ । तर, आजकाल विवाह पूर्वका कन्याकेटीहरू समेत हरितालिका व्रत बस्छन्, किनकि पार्वतीले शिव वर पाएजस्तै आफूले पनि चिताएको वर या राम्रो सुयोग्य वरको कामनाका साथ उपवास बस्ने प्रचलन छ ।
विवाह गरेर आफ्नो घरमा गएको चेलीहरूले घरमा सबैको बुहार्तन र अपमान सहनुपथ्र्याे । यो क्रम अहिले पूरै सकिएको छ भन्न सकिन्न । यस्ता किसिमका विगतका तीता मनको दुःख पीडालाई पोख्ने माध्यम यस अवसरमा मिल्दछ । यस पर्वमा महिलाहरूले आफ्नो जन्म घर छोडी कर्म घर जाँदा र बस्दा भोग्नुपरेका दुःख वेदनाहरूलाई लयात्मक ढंगबाट गीतको माध्यमबाट व्यक्त गरी रमाइलो गर्ने गर्दछन् । जुन नारीहरूलाई आफ्नो माइतीप्रतिको माया, मोह र स्नेह ज्यादै नै गहिरो रहेको छ भन्ने कुरा पनि यस पर्वबाट स्पष्ट हुन्छ । यसमा आफ्नो माइती घरमा सँगै खेलेर बसेका संगिनीसँग भेटघाट गरी विगतका मीठा–नमिठा भोगाइलाई गीतको रूपमा व्यक्त गर्दछन् । यसमा पनि भन्ने हो भने धेरै दिनसम्म छुटिएर रहेका साथी–सँगिनी, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीको मिलन हुने दिन पनि हो तिज । अनि राम्रो मीठो खाने र वर्ष दिनको मनको बह पोख्ने दिन पनि हो । त्यसैले यो दिनलाई नारीहरूको दुःख पोख्ने दिनको रूपमा चिनिन्छ ।
वास्तवमा तिज पौराणिक समयको उपज हो । अतः शिवपुराणमा पार्वतीले शिवलाई मन पराएको तर पार्वतीलाई उनका पिता हिमालयले विष्णुसँग विवाह गरिदिन लागेकाले साथीहरूले उसलाई भगाएर वनमा पु¥याएको र पार्वतीले निराहार व्रत बसेकाले शिव प्रसन्न भएर उपस्थित भई वरदान दिएको वर्णन छ । त्यति बेलाको मिथकलाई नै आधार मात्रे हो भने पनि पार्वतीको त्यो एक प्रकारको विद्रोह नै थियो । परापूर्वकालमा एउटी नारीले गरेको त्यो विद्रोहको दिनलाई सम्झेर महिलाहरूले कष्टपूर्वक व्रत लिने होइन कि अन्याय–अत्याचारविरुद्ध विद्रोह गरेर आफ्नो अधिकार स्थापित गर्नुपर्ने हो । तर, त्यसको गलत बुझाइ र धार्मिक बन्धनका कारण महिलाहरू ठगिएका छन् ।
अहिले हाम्रो समाजमा धेरै परिवर्तन भइसकेको छ । फलतः संसारसँग छिनभरमै जोडिन सकिन्छ । यति ठूलो परिवर्तन भइसक्दा पनि हाम्रो पुरानो संस्कृतिमा कुनै परिवर्तन हुन सकेको छैन । यस्तो आधुनिक समाजमा भेटघाट र खानपानका लागि त्यस्ता अवसर कुरिरहनुपर्ने कुनै बाध्यता छैन ।