२०८२ भदौ ९ गते सोमवार / Aug 25 , 2025 , Monday
२०८२ भदौ ९ गते सोमवार
Ads

पुरुष पनि सिँगारिउन्..

shivam cement
२०८२ भदौ ९ गते ०६:००
पुरुष पनि सिँगारिउन्..

–क्षमा शर्मा

फेसनको संसारमा प्रत्येक दिन नयाँ–नयाँ ‘ट्रेन्ड’हरू देखा पर्छन् । यी ट्रेन्डहरू जब ठुला सेलिब्रेटीद्वारा प्रस्तुत गरिन्छन्, तब ती छिट्टै लोकप्रिय पनि बन्छन् । सेलिब्रेटीहरू यी ट्रेन्डहरू कुनै न कुनै कम्पनीको विज्ञापनको रूपमा अघि सार्छन्, जसबाट उनीहरूले ठुलो आम्दानी गर्छन् । अनि मानिसहरू उनीहरूबाट प्रभावित भई ती ब्रान्डका उत्पादनहरू झन् चाँडै किनमेल गर्न थाल्छन् ।

आजकाल पुरुषहरूका लागि नयाँ ट्रेन्ड बनेको छ— सजिनु, सिंगारिनु । विशेषगरी, आफ्नो नङहरूमा रंगीचंगी नेल पालिस लगाउने चलन बढ्दो छ । यसबारे केही पुरुषको भनाइ छ— फेसन वा सजिनु सिंगारिनु कुनै लिंगमा सीमित हुनुहुँदैन । पुरुषले पनि नेल पालिस किन नलगाउन पाउने ? उनीहरूले पनि आफ्ना नङहरू सुन्दर राख्ने चाहना राख्न सक्छन् । नेल पालिस महिलाहरूको मात्रै अधिकार हो भनेर कोही कसरी भन्न सक्छ ?

कुरा गरिँदै छ कि पुरुषहरूले नेल पालिस लगाउने कुरा नयाँ होइन । अंग्रेजी गायक डेभिड बोवी जब स्टेजमा गाइरहेका हुन्थे, प्रायः नेल पालिस लगाएका देखिन्थे । अहिले त नेल पालिस मात्र होइन, त्यसमा विभिन्न डिजाइनहरू पनि बनाउने प्रचलन छ । औंलाहरूमा विभिन्न प्रकारका औंठी लगाउने चलन पनि बढेको छ ।

पुरुषहरूको सौन्दर्य सज्जामा संलग्न विज्ञहरूको तर्क छ– यदि कुनै कुरा पुरुषहरूलाई राम्रो लाग्छ भने, उनीहरूले त्यो गर्न किन नपाउने ? प्रतीक बब्बरजस्ता कलाकार आफ्ना रंगीन नङ देखाएर खुसी व्यक्त गरिरहेका छन् । यसरी सजिएर उनीहरू महिला बन्दैनन्, पुरुषकै रूपमा रहन्छन् । हो, पुरुषलाई पनि सुन्दर र आकर्षक देखिने अधिकार छ । विश्वका धेरै प्रसिद्ध गायक र अभिनेता यो ट्रेन्डमा सहभागी छन् ।

केहीले त यो पनि भनिरहेका छन् कि पुरुषहरूले प्रयोग गर्ने नेल पालिसका रंगहरूले उनीहरूको सामाजिक हैसियत पनि झल्काउँछ । उदाहरणका लागि, कालो रंग उच्च आर्थिक स्तरको प्रतीक मानिन्छ भने हरियो रंग सामान्य वर्गका लागि । अचम्म लाग्न सक्छ, तर रंगहरूले पनि वर्ग विभाजन सिकिसकेछन् । 

नेल पालिस मात्र होइन, पुरुषहरूमा कपाल रंग्याउने, विभिन्न शैलीमा काट्ने, सजाउने फेसन पनि निकै बढेको छ । उनीहरूका लागि विविध प्रकारका सौन्दर्य सामग्री बजारमा उपलब्ध छन् र ती सामग्रीहरूको प्रयोग पनि तीव्र गतिमा बढिरहेको छ । यो भनिँदै छ कि पुरुषहरूले पनि ‘ब्युटी मिथ’हरू तोड्नुपर्छ । के मेकअप महिलाहरूका लागि मात्रै हो ? सबै मेकअप सामग्री र सौन्दर्य उद्योग किन महिलाका लागि मात्र समर्पित ?

वर्षौंदेखि पुरुष फेसन ट्रेन्डमाथि लेख्दै आएका विश्लेषकहरूका शब्दलाई सापटी लिँदा– आजकल पुरुषहरूमा मेकअपप्रतिको आकर्षण अघिल्ला समयहरूभन्दा धेरै बढेको छ । उनीहरू आफ्नो छालाको हेरचाहमा निकै ध्यान दिन थालेका छन् र त्यसका लागि विविध सौन्दर्य प्रसाधनहरूको प्रयोग गरिरहेका छन् । सम्भवतः निकट भविष्यमा उनीहरूले लिपस्टिक पनि ठुलो मात्रामा प्रयोग गर्न थाल्नेछन् ।

सजिनु सिंगारिनु पुरुषहरूका लागि नयाँ कुरा होइन भन्ने प्रमाण इतिहासमै भेटिन्छ । हामीकहाँ पुराना राजा–महाराजाहरूका तस्बिरहरू हेर्दा पनि उनीहरू गहना लगाएका, निधारमा टीका लगाएका देखिन्छन् । भगवानका मूर्तिहरू पनि गहनाले सजिएका हुन्छन् । यसको अर्थ, गहनाहरू महिलाको मात्रै अधिकार होइनन् ।

यो फेसन ट्रेन्ड हेर्दा ‘सखी सम्प्रदाय’को सम्झना आउँछ, जसमा पुरुषहरू स्त्री भावमा सजिएको पाइन्छ । तिलक, चुरा, मालालगायत लगाउँछन् । यस्ता व्यक्तिहरू आफूलाई साधु भन्छन् । तर, आजको पुरुष फेसन ट्रेन्ड भने पश्चिमबाट आयातित हो । र, जस्तोसुकै ट्रेन्ड पश्चिमबाट आए पनि हाम्रो समाजमा छिट्टै लोकप्रिय हुन्छ ।

यस्तो अवस्थामा कम्पनीहरू पनि किन पछि रहने ? तिनीहरूको चाहना हुन्छ— उत्पादनहरू कुनै एक वर्ग वा लिंगमा सीमित नरहोस् । यदि कुनै वस्तु स्त्री–पुरुषको भेदबाट मुक्त हुन्छ भने त्यसको उपभोग बढ्छ र कम्पनीहरूलाई धेरै नाफा हुन्छ । यिनीहरूले उत्पादनलाई सौन्दर्य वा अरूभन्दा अलग देखिने चाहनासँग जोड्छन् । अनि बिस्तारै त्यो उत्पादन हरेक घरमा पुग्न थाल्छ ।

(अमर उज्यालाबाट अनुवादित ।)

ADV

सम्बन्धित खबर

Advertise