२०८२ असार २३ गते सोमवार / Jul 07 , 2025 , Monday
२०८२ असार २३ गते सोमवार
Ads

वृद्धाश्रम बन्ने खतरा

shivam cement
२०८२ असार २३ गते ०६:००
वृद्धाश्रम बन्ने खतरा

–नरेन्द्रमान श्रेष्ठ 

पछिल्लो समयमा युवाहरू धमाधम विदेशिएको कारणले देश वृद्धा आश्रम बन्ने त होइन, भन्ने चिन्ता आममा देखिन्छ । युवाहरू कोही अध्ययनको लागि त कोही रोजगारीको लागि विदेशिएको कारणले धेरैजसो गाउँघर युवा विहीन हुँदै गइरहेका छन् । जसकारणले धेरैजसो गाउँमा युवाहरू नै छैनन् भन्दा पनि फरक नपर्ला । यस्तोमा कतिपय वृद्ध वृद्धा वा आमाहरूलाई त सरकारले दिने गरेको वृद्ध भत्ता लिन जानको लागि समेत समस्या परेको छ । कतिपयको घरमा वृद्ध भत्ता लिन जानको लागि साथी जानेको समेत अभाव भएको बताउँछन् कतिपय बा–आमाहरू । सँगै, राज्यको वृद्ध भत्ताको सन्दर्भमा फेरिने नीतिहरूले पनि वृद्ध वृद्धालाई समस्या पारिरहेको छ । 

कहिले वृद्ध भत्ता लिन र नवीकरण गर्नको लागि राष्ट्रिय परिचय पत्र अनिवार्य भनेर भनेका छन् त कहिले वृद्ध भत्ता नवीकरण गर्नको लागि वडा कार्यालयमा स्वयम् उपस्थित हुनुपर्छ भनेका छन् । सँगै, सही छाप डिजिटललाइज गर्नुपर्छ भन्ने नीति पनि आएको छ । वृद्ध वृद्धाहरूलाई त कहिले बैंकहरू नै परिवर्तन गर्ने गरेको घटनाले पनि समस्यामा पार्छ । शारीरिक अवस्थासँगै मानसिक अवस्थाले पनि कमजोर बनेका वृद्ध वृद्धाहरूलाई सहयोगको साटो नीतिगत असहजता बनाउँदा धेरै समस्यामा छन् । 

वृद्ध भत्ता लिन जे–जस्तो परिपाटी बनाइएको छ, त्यसलाई हेर्दा भत्ता सुविधा कि सास्ती भन्ने प्रश्न उठ्छ । एकातिर ६८ वर्षका व्यक्तिले समेत भत्ता पाउने व्यवस्था गरिएको छ भने अर्कोतिर अशक्त बिरामीहरू र हिँडडुल गर्न नसक्नेहरूले भत्ता पाउनबाट वञ्चित गर्न खोजेको त होइन, यो कस्तो नियम हो । राष्ट्रिय परिचयपत्र चाहिने भएको भए नागरिकता किन चाहियो ? किन नागरिकता र राष्ट्रिय पत्रबिच तादाम्यता नमिलाइएको हो ? 

अहिले छोराछोरीहरू बिदेसिएको कारणले वृद्ध भत्ता लिन समस्या भइरहेको छ । देशका युवाहरू धमाधम विदेशिएका छन् । कोही नेपालमा रोजगार छैन, सरकारले रोजगारी दिन सकेन भनेर विदेशिएका छन् भने कोही अध्ययनका नाममा विदेशिएका छन् । अध्ययनको लागि भनेर विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, बेलायत आदि देशहरूमा जाने गरिरहेका छन् । जसको संख्या दिनमै सय होइन, हजारको छ । जससँगै गाउँहरू युवाविहीन हुन थालेका हुन् ।युवाहरू धमाधम विदेशिएसँगै गाउँ वृद्ध वृद्धाको मात्रै थलो बनेको हो । खाडी गएका त जसरी पनि फर्किन्छन्, तर युरोप र अमेरिका जानेहरूलाई भने फर्काउन गाह्रो छ । उनीहरू उस्तै परे देशभित्रको सम्पत्तिसमेत बेचेर जान्छन् । अहिले प्रायः गाउँ खाडी जानेहरूको कारण खाली छ भने सहर युरोप–अमेरिका जानेको कारण । विडम्बनाको कुरा भन्नुपर्छ, गाउँ र सहर वृद्धा वृद्धाको डेरा बन्दै छ । अहिलेको परिपाटी नसच्चिएमा देश छिट्टै जनशक्तिको अभावमा ठूलो समस्यामा पर्नेछ । युवाहरूलाई खाडीबाट फिर्ता नगरेसम्म, विकासको मेरुदण्डको रूपमा रहेको गाउँलाई विकास नगरेसम्म मुलुक समृद्ध हुन सक्दैन । मुलुकले कोल्टे फेर्न सक्दैन ।

ADV

सम्बन्धित खबर

Advertise