रोल्पा : रोल्पाका पाँच स्थानीय तहले आफ्नै नगरप्रहरी भर्ना गरेका छन् । जिल्लाका १० स्थानीय तहमध्ये रोल्पा नगरपालिका, सुनिल स्मृति गाउँपालिका, रुन्टिगढी गाउँपालिका, माडी गाउँपालिका र परिवर्तन गाउँपालिकाले नगरप्रहरी भर्ना गरेका हुन् ।
नगर प्रहरी सञ्चालनका लागि परिवर्तन गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ अनुसार बनेको कार्यविधि २०८१ अनुसार २०८१ चैत १९ गते पदपूर्ति प्रक्रिया अगाडि बढाएको थियो । २०८२ जेठदेखि नगर प्रहरी खटाएपछि हालसम्म जिल्लामा पाँच पालिकामा नगर प्रहरी रहेका छन् ।
रुन्टिगढी गाउँपालिकामा वरिष्ठ प्रहरी सहायक निरीक्षक लिलाराज थापाको नेतृत्वमा ७ जना, सुनिल स्मृति गाउँपालिकामा प्रहरी सहायक निरीक्षक चेतमान विष्टको नेतृत्वमा ४ जना, रोल्पा नगरपालिकामा हवल्दार सहवीर विकको नेतृत्वमा ९ जना, माडी गाउँपालिकामा कार्यवाहक निरीक्षक दिनेश बाँठाको नेतृत्वमा ४ जना नगर प्रहरी कार्यरत छन् ।
माडीमा भने ७ दरबन्दीमध्ये २ पद रिक्त रहेको र साउनदेखि नयाँ सूचना निकालेर पदपूर्ति गरिने अध्यक्ष अमरसिंह घर्ती मगरले जानकारी दिए । परिवर्तन गाउँपालिकामा प्रहरी सहायक निरीक्षक तुफान घर्ती मगरको नेतृत्वमा ४ जना नगर प्रहरी कार्यरत छन् ।
नगर प्रहरीहरू प्रशासनिक भवन सुरक्षा, सार्वजनिक स्थानहरूको निगरानी, पालिकामा आउने व्यक्तिहरुको विवरण संकलन, तालिम तथा कार्यक्रमहरूमा सुरक्षा व्यवस्थापन र आपतकालीन अवस्थाहरूमा खटिने गरेका छन् ।
नगर प्रहरीको सेवा सुविधाबारे स्पष्ट जानकारी नदिइए पनि स्थानीय तहका प्रमुखहरूले करार सेवामा नियुक्त भएकाले फरक–फरक सुविधा रहेको बताएका छन् । कतिपय पालिकामा सेवा सुविधा बढी वा कम भएकाले नगर प्रहरीबीच पनि तुलना र असन्तुष्टि हुने गरेको स्थानीय अध्यक्षहरूको भनाइ छ । लुङग्री, सुनछहरी, थबाङ, गंगादेव र त्रिवेणी गाउँपालिकामा अझै नगर प्रहरी स्थापना गरिएको छैन ।