सन्धिखर्क : लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले विदेशी काठको आयात तत्काल रोकि नेपाली काठको उच्चतम प्रयोग गर्नुपर्ने बताएका छन् ।
उनले अब नागरिकहरूले काठ लिन जाँदा विभिन्न प्रकारका अनावश्यक सिफारिस लिनुपर्ने परम्पराको अन्त्य गरी नागरिकता लिएर वन कार्यालय पुगेपछि निजी कामका लागि सरकारले काठ उपलब्ध गराउने गरी नीति बनाउन लागिएको बताए ।
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री कलवारले वन क्षेत्रको दिगो व्यवस्थापन गरी व्यवसायिक उपयोग गर्ने घोषणा गरे ।
नेपाल वर्षौँदेखि काठमा परनिर्भर भएको भन्दै अब स्वदेशी काठलाई प्राथमिकता दिँदै प्रदेशका सबै सरकारी कार्यालय निर्माण हुँदा काठ अनिवार्य प्रयोग गर्ने नीति प्रदेश सरकारले बनाउने गरी विज्ञहरूसँग छलफल भइरहेको पनि उनले बताए ।
मन्त्री कलवारले एकातिर वनमा काठ कुहिएर खेर गइरहेको र अर्कोतिर मुलुकमा आवश्यक पर्ने काठ किन्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै स्वदेशी काठको खपत गर्ने गरी लुम्बिनी सरकार अगाडि बढ्ने बताए । ४५ प्रतिशतभन्दा बढी वनक्षेत्र भएको मुलुक नै काठमा परनिर्भर हुनुपर्ने अवस्था र काठ उत्पादन तथा प्रयोगको स्पष्ट नीति नहुँदा वर्षेनी अर्बौँ रुपैयाँ काठ खरिदमा बाहिरिने गरेको मन्त्री कलवारको भनाइ छ ।
उनका अनुसार नेपालको वनको काठ सबै बजारमा ल्याउन सकिएमा नेपाल सरकारलाई खरबौंकोष जम्मा हुने र त्यही कोषबाट सरकार सञ्चालन गर्न सकिने सम्भावना रहेको छ । मन्त्री कलवारले भने, ‘अर्घाखाँचीमा समृद्धिका लागि वन कार्यक्रम निकै उत्कृष्ट रहेको छ र गैडे, डोहोटे, मजुरे, पावरा लगायतका सामुदायिक वनहरूले समूहको पैसाबाट गरेको विकास लोभलाग्दो भएको छ ।’ मन्त्री कलवारले समूहका पदाधिकारी, उपभोक्ता र पत्रकारहरूलाई पत्रकार भेटघाटमा धन्यवाद समेत दिए ।
देशको कुल भू–भागको ४५.३१ प्रतिशत वनले ढाकेको नेपालले ६ वर्षयता मात्रै ३८ अर्ब रुपैयाँभन्दा बढीको काठ आयात गरिसकेको छ ।
मन्त्री कलवारले करोडौँ क्यूबिक फिट काठ जंगलमा कुहिएको भन्दै यहाँको काठ बाहिरको भन्दा धेरै मूल्यवान र गुणस्तरीय भएको बताए । उनले नेपाली जंगलको काठ बजारमा आउन नसकेर कुहिरहेको र विदेशी काठ आयात भैरहनु दुःखद भएको उल्लेख गरे ।
भन्सार विभागको तथ्यांकअनुसार, आर्थिक वर्ष २०७९/८० मा ५ अर्ब ८९ करोड ४२ लाख ६७ हजार रुपैयाँको काठ आयात हुँदा ५ अर्ब १ करोड ४२ लाख २३ हजारको काठ निर्यात भएको थियो। आर्थिक वर्ष २०७८/७९ मा ७ अर्ब ४४ करोड ७८ लाख ७९ हजार रुपैयाँको काठ आयात हुँदा ५८ करोडको मात्र काठ निर्यात भएको देखिन्छ । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा नेपालले ७ अर्ब ८८ करोड ५८ लाख ५७ हजार रुपैयाँको काठ तथा काठजन्य सामग्री भित्र्याउँदा १२ करोड ५७ लाख ९८ हजार रुपैयाँको मात्र काठ निर्यात गरेको उल्लेख छ ।