२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

वनजङ्गल विनाशको चिन्ता

ADV
२०८१ असार ३० गते ०६:२५
वनजङ्गल विनाशको चिन्ता

–खगेन्द्र पौडेल

राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२६) मा एक सय ४१ मुलुकले वन तथा भू–उपयोगमा ग्लासगो नेतृत्वको घोषणामा हस्ताक्षर गरेका छन् । घोषणामा वन फँडानी रोक्ने मात्रै नभई सन् २०३० भित्रै वनजङ्गल विनाशको क्षतिपूर्ति गर्ने प्रतिबद्धता जनाइएको छ । यद्यपि, गरिएका प्रतिबद्धताका बाबजुद यस वर्षको ग्लोबल फरेस्ट वाचको प्रतिवेदनले वन विनाश डरलाग्दो गतिले बढिरहेको देखिन्छ ।एक रिपोर्टअनुसार सन् २०२० मा विश्वको कुल वन क्षेत्र ४.०६ अर्ब हेक्टर थियो, जुन कुल जमिनको ३१ प्रतिशत थियो । यो क्षेत्र प्रति व्यक्ति ०.५२ हेक्टर बराबर छ । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि सङ्गठनद्वारा प्रकाशित रिपोर्टअनुसार पछिल्लो १० वर्षमा विश्वले २२.८ करोड हेक्टर वन क्षेत्र गुमाएको छ । ग्लोबल फरेस्ट वाचको प्रतिवेदनलाई हेर्दा, विश्वले सन् २०२१ भित्रै नेदरल्यान्ड्सको क्षेत्रफल बराबरको वन क्षेत्र गुमाएको छ । ग्लोबल फरेस्ट वाचको त्यो प्रतिवेदनले विश्वलाई झस्काउँछ । हाम्रा प्रतिबद्धतामाथि प्रश्न उठाउँछ । 

अर्कोतर्फ, हरेक मुलुकमा वनजङ्गलको समान वितरण छैन । विश्वको कुल वनजङ्गलको आधा हिस्सा मात्रै पाँच देश अर्थात् रुस, ब्राजिल, क्यानडा, अमेरिका र चीनमा छ । यदि अस्ट्रेलिया, डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डिआरसी), इन्डोनेसिया, पेरु र भारतलाई सूचीमा समावेश गर्ने हो भने वनले ओगटेको क्षेत्र ६६ प्रतिशत हुनेछ । वन क्षेत्र कम भएको भूगोलमा निकै समस्या छ ।

रिपोर्टअनुसार पछिल्ला वर्षहरूमा वन फडानीको दर प्रतिवर्ष एक करोड हेक्टर हुने अनुमान छ । यद्यपि जुन दर १९९० को समयभन्दा कम हो । तत्कालीन समय वन फडानी दर एक करोड ६० लाख हेक्टरभन्दा माथि थियो । 

विश्वका निश्चित केही मुलुकमा वन विनाशको दर घटे पनि समग्रमा अवस्था अझै भयावह खालको छ । ब्राजिल, इन्डोनेसिया, एंगोला, तान्जानिया, पाराग्वे र म्यानमालगायतमा उच्च दरमा वन विनाश गरिएको छ । रिपोर्टअनुसार विगत ५० वर्षमा अमेजनले आफ्नो हरियो वनको १७ प्रतिशतभन्दा बढी क्षेत्र गुमाएको छ । जुन रिपोर्ट सामान्य खालको छैन ।

अहिले विश्वमा जे–जस्ता वातावरणीय सङ्कटहरू देखिएका छन्, यसको पछाडि वनजङ्गलको विनाश पनि सबैभन्दा महत्वपूर्ण कारकको रूपमा रहेको पाइन्छ । यस सन्दर्भमा वनजङ्गलको संरक्षण तथा प्रवद्र्धन अहिलेको निम्ति निकै महत्वपूर्ण हुन जान्छ । जैविक विविधता र पारिस्थितिकी प्रणालीहरू कायम राख्नका लागि मात्र नभई विश्वभरका मानिसहरूको जीवन चलाउन पनि वनजङ्गलको निकै महत्वपूर्ण भूमिका छ । वनजङ्गलले हरितगृह ग्यास उत्सर्जनलाई मात्रै कम गर्दैन, हाम्रो भूगोल सबै प्राणीका निम्ति बाँच्न योग्य बनाउन भूमिका खेल्छ । 

निष्कर्षमा, वनजङ्गल संरक्षणको लागि सबैले एक÷एक इँटा उठाउनै पर्छ । सबैले हातेमालो गर्नै पर्छ । नेपाल देखिँदा सानो मुलुक भए पनि यसले सिङ्गै विश्वमा ठुलो प्रभाव राख्दछ । यहाँको वातावरणीय सन्तुलन बिग्रँदा सिङ्गै विश्वमा असर पर्छ । जसको महत्वलाई ख्याल नेपालले पनि वन–जङ्गल संरक्षणको दिगो नीति अख्तियार गर्नुपर्छ । यद्यपि, यसो भनिरहँदा वनको उपयोगिताको विषयलाई पनि भुल्न हुँदैन ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise