–बिदुर दाहाल
सरकारले विषय शिक्षक दिन सकेन ! विद्यार्थीले किताबसमेत पाएनन् ! शिक्षकले राजनीति गरेर बसे, पढाएनन् ! विद्यार्थीलाई बस्न डेस्क बेन्चसमेत छैन ! विद्यालय र विश्वविद्यालयमा पूर्वाधारको अभाव भयो ! विद्यार्थीले ताला बन्दी गरे ! शैक्षिक संस्था तोडफोड गरे भन्ने जस्ता समाचार हरेक दिन मिडियामा आउँछन् । यस्ता कुराको सहज निकास मात्र होइन, निराकरण गर्न सकिन्छ । सम्भव छ । मात्र सोच परिवर्तनको खाँचो छ ।
प्रविधिले एकपछि अर्को फड्को मार्दै छ । तर, हाम्रो सोच उहीँ पुरानो छ । तल्लो तह (साना कक्षा) बाहेक माध्यमिक र विश्वविद्यालय तहमा प्रयोगात्मक गर्नुपर्ने विशेष विषय बाहेक अरूमा भर्चुअल कक्षा चलाउन सकिन्छ । भर्चुअल कक्षा भनेको सिक्ने र सिकाउनेको भौतिक उपस्थिति आमने–सामने नहुने कक्षा हो । तर, प्रविधिले सिक्ने र सिकाउनेलाई सजिलै आमने–सामने बनाउन सक्छ । विशेष गरी अनलाइन शिक्षालाई भर्चुअल शिक्षा मानिन्छ । अनलाइन बाहेक टेलिभिजन र रेडियोबाट पनि सिकाउन सकिन्छ । टेलिभिजनमा दोहोरो संवाद हुने व्यवस्था मिलाई प्रभावकारी बनाउन सकिन्छ । उच्च तहमा रेडियो शिक्षा शिक्षण पनि प्रभावकारी हुन्छ । यद्यपि, यसमा दोहोरो संवाद गर्न सकिँदैन । शिक्षकले विद्यार्थीका तहबाट सोचेर शिक्षण गरे भने यो पनि प्रभावकारी हुन्छ । वैकल्पिक सिकाइको माध्यमबाट विषय शिक्षकको अभावलाई सदाको लागि दूर गर्न सकिन्छ । खर्चका हिसाबले यो सस्तो हुन्छ । विद्यालय र विश्वविद्यालय कक्षामा गरिने पूर्वाधार निर्माणको अरबौँ खर्च जोगिन्छ । शिक्षा लिने र दिने यो किफायती तरिका हो । विद्यार्थीको भौतिक उपस्थितबाट सिर्जना हुने गन्जागोल अन्त हुन्छ । राज्यले आर्थिक रूपमा ठुलो राहत महसुस गर्न सक्छ ।
सामान्य खालका प्रयोगात्मक कक्षासमेत भर्चुअल र दूर शिक्षाको माध्यमबाट प्रदान गर्न सकिन्छ । रेडियो र टेलिभिजन शिक्षालाई दूर शिक्षाका माध्यम मानिन्छ । दूर–दराजका ठाउँमा यो वरदान हुन्छ । आफ्नै ठाउँमा बसेर विद्यार्थीले सिक्न सक्छन् । नेपालले यसको सुरुवात गरेको चार दशक नाघेको छ । तर, अझै प्रभावकारी हुन सकेको छैन । अहिले पनि खुला विश्वविद्यालय छ । यसले भर्चुअल र दूर शिक्षाका माध्यमबाट शिक्षा दिन्छ । यो पनि लोकप्रिय हुन सकेको छैन । वैकल्पिक माध्यमबाट हुने सिकाइलाई राज्यले सामाजिक मूल्य प्रदान गरेर लोकप्रिय बन्न सक्छ । त्यसो भएमा वैकल्पिक शिक्षाको प्रयोग बढ्छ । राज्यले वातावरण बनाउनु पर्छ । अन्ततः राज्यलाई नै फाइदा हुन्छ ।
विज्ञान, चिकित्सा, इन्जिनियरिङ तथा प्रत्यक्ष शिक्षकको निगरानीमा लिनुपर्ने कक्षा बाहेक अरू विषयमा भर्चुअल तथा दूर शिक्षाको माध्यमबाट सजिलै विद्यार्थीलाई सिकाउन सकिन्छ । घरैमा बसेर वा आफ्नो पेसा व्यवसाय गरेर सिक्न सकिन्छ । गृहिणीहरू, शारीरिक रूपमा अशक्तहरू, गरिब र निमुखाहरू, उमेर ढल्केर पढ्न पाइन भन्नेहरूलाई यो वरदान साबित हुन्छ । सहरको भीड–भाड र कोलाहल कम हुन्छ । सहरको महँगीले असर गर्दैन । त्यति मात्र होइन, ट्राफिक व्यवस्थापनमा सहज हुन्छ ।
राज्यले वैकल्पिक शिक्षा प्रणालीलाई प्रभावकारी बनाई आफ्नो ठुलो ढुकुटी जोगाउन सक्छ । आफै सिक्न खोज्नेहरू र स्व–उत्प्रेरणा हुनेहरूले यसबाट भरपुर लाभ उठाउन सक्छन् । पातलो जनसंख्या, भौगोलिक रूपमा विकट, पूर्वाधारको अभाव भएको ठाउँमा यो झन् उपयोगी हुन्छ । राज्यले वैकल्पिक शिक्षाको माध्यमलाई व्यापक बनाउनुपर्छ । उपयोगको नीति ल्याउनपर्छ । यसमा ढिला गर्नु हुँदैन । शिक्षा लिने÷दिने पुरानो प्रणालीमा अब परिवर्तन गर्नुपर्छ । पुरानो सिकाई तरिका मात्र ठिक भन्ने सोच बदल्न जरुरी छ । यो समयको माग हो ।