जुम्ला : जुम्ला जिल्लामा निर्माणाधीन ‘जुगाड खोला कोरिडोर’ योजनामा कृत्रिम ठेक्का प्रक्रियामार्फत भुक्तानी गरिएको प्रकरणले गम्भीर आर्थिक अनियमितताको आशंका जन्माएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना, जुम्लाअन्तर्गत यो योजनामा उपभोक्ता समितिमार्फत २ करोड ७ लाख रुपैयाँ २०८२ साल असार ३० गते भुक्तानी गरिएको देखिन्छ । तर सो रकम भुक्तानी भएको भोलिपल्टै २०८२ असार ३१ गते कृषि विकास बैंक, जुम्ला शाखामा रहेको खातालाई रोक्का गर्न पत्र पठाइएको थियो ।
अझ चकित पार्ने कुरा के छ भने, रोक्का गरिएको उक्त खाता २०८२ असार ३२ गते पुनः फुकुवा गरिएको देखिन्छ । स्रोतका अनुसार आयोजना प्रमुख जगदीश लामिछानेले ‘आर.एम. बर्दिया जियाना आर.एन.वि. जे.भी.’ नामक निर्माण कम्पनीको खाता (नं. ०७२१३०५४७२६९२०१८०) फुकुवा गर्न निर्देशन दिएका थिए । सो खातामा जम्मा रकम २ करोड ७ लाख ६३ हजार २९६ रुपैयाँ रहेको थियो । उपभोक्ता समितिमार्फत गरिने भनिएको योजनाको काम ठेक्का कम्पनीमार्फत कृत्रिम रूपमा गराइ भुक्तानी दिलाइएको आशंका गरिएको छ ।
प्रक्रियाविहीन फुकुवा ?
स्थानीय स्रोतहरूका अनुसार, रोक्का गरिएको खाता कुनै स्पष्ट छानबिन विना भोलिपल्टै फुकुवा हुनु योजनाको कार्यान्वयनमा गम्भीर नियमनको अभाव भएको संकेत हो । नेकपा माओवादी केन्द्रले पनि यसमा प्रश्न उठाउँदै पारदर्शिता र नियतमै संकाको आधार रहेको आरोप लगाएको छ । यस सन्दर्भमा सघन शहरी तथा भवन निर्माण आयोजना, जुम्लाका सव–इन्जिनियर तथा सूचना अधिकारी चन्द्रबहादुर खड्काले, बर्दिया जियाना आर.एन.वि. जे.भी. कम्पनीका ठेकेदारले दिएको निवेदनकै आधारमा खाता रोक्का गरिएको र त्यसपछि फुकुवाका लागि पुनः निवेदन आएकोले खाता फुकुवा गरिएको बताए । उनले यस प्रक्रियामा कार्यालयको कुनै व्यक्तिगत नियत नरहेको स्पष्ट पारे ।
लोक दोहोरी प्रतिष्ठानको विषयमा
सूचना अधिकारी खड्काले लोक दोहोरी प्रतिष्ठानको कार्यक्रम आयोजनाको नभइ शहीद स्मृति भवन वडा कार्यालयको सिफारिसमा कर्णाली स्पोट्र्स क्लबको जग्गामा निर्माण गरिएको जानकारी दिए । उनले सो प्रक्रियालाई यथासम्भव प्राविधिक ढंगले अगाडि बढाइएको दाबी गरे ।
राजनीतिक दलको माग : छानबिन होस्
नेकपा माओवादी केन्द्र चन्दननाथ नगर कमिटीले घटनाको छानबिन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ । सो पत्रमा नगर क्षेत्रभित्रका विकास योजनाहरूमा व्यापक आर्थिक अनियमितता रहेको उल्लेख गरिएको छ ।
पार्टी अध्यक्ष सुरेन्द्र बहादुर महतद्वारा हस्ताक्षरित पत्रमा, चन्दननाथ नगरपालिका वडा नं. २ मा पहिले नै ढलान गरिएको स्थानमा पुनः ढुंगा सोलिङ गरी पुनः ढलान गरिएको, वडा नं. ५ मा कम मात्रामा ढलान गरिए पनि पूरा भुक्तानी गरिएको, तथा सहिद स्मृति प्रतिष्ठान र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको जग्गा पास नहुँदै भवन निर्माणको नाममा रकम भुक्तानी गरिएको जस्ता गम्भीर आरोपहरू उल्लेख छन् ।
त्यसैगरी, १८० घन मिटर मात्र गर्नुपर्ने पलम कंक्रिटलाई ३४८ घन मिटर देखाई करिब ५६ लाख रुपैयाँ बढी भुक्तानी गरिएको, कतिपय योजना अधुरै रहँदा पनि पूर्ण रकम भुक्तानी गरिएको, र केही योजनामा काम नगरी नै बिल पेश गरिएको समेत जनाइएको छ ।
कारबाहीको माग
ध्यानाकर्षण पत्रमार्फत माओवादी केन्द्रले सबै अनियमितताको छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेको छ । अध्यक्ष महतले भने, ‘विकास बजेटको दुरुपयोग नगरवासीप्रति विश्वासघात हो । यदि सम्बन्धित निकाय मौन बस्यो भने हाम्रो पार्टी कडा आन्दोलनमा जान बाध्य हुनेछ ।’ यसैबीच, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले ध्यानाकर्षण पत्र प्राप्त भएको पुष्टि गर्दै घटनाबारे आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइने जानकारी दिएका छन् ।