काठमाडौं : बालबालिकाको मुटुरोगको निःशुल्क उपचार रोकिएको छ । पछिल्लो केही समय यता सरकारले १५ वर्ष मुनिका बालबालिकोको मुटुरोगको निःशुल्क उपचार गर्दै आएको थियो ।
सरकारी भुक्तानी नहुँदा १५ वर्षमुनिका बालबालिकाको निःशुल्क मुटुरोग उपचार सेवा रोकिएको अस्पतालका अधिकारीहरू बताउँछन् ।
आवश्यक रकम समयमै उपलब्ध नहुँदा १५ वर्षमुनिका बालबालिकाका लागि सञ्चालित निःशुल्क मुटुरोग उपचार कार्यक्रम ठप्प भएको सरकारी अधिकारीहरू नै स्वीकार्छन् ।
सरकारी भुक्तानी रोकिँदा देशभरका विभिन्न अस्पतालहरू लागु भएको यस कार्यक्रम पूर्ण रूपमा अवरुद्ध भएको हो । मन्त्रालयले बालबालिकाका लागि घोषित यो निःशुल्क सेवा कार्यक्रमलाई निरन्तरता दिनुपर्ने रकम समयमै नछुट्याउँदा अस्पतालहरूले सेवा दिन नसक्ने अवस्था आएको हो । यो विषयमा संसदमा समेत प्रश्न उठेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहकाअनुसार शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत सञ्चालन भइरहेको १५ वर्षमुनिका बालबालिकाको निःशुल्क मुटुरोग उपचार सेवा रोकिएको छ ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद सिंहले सरकारले भुक्तानी नदिँदा गंगालालमा १५ वर्षमुनिका बालबालिकाले पाउने गरेको निःशुल्क उपचार सेवा रोकिएको भनेर सरकारको ध्यानाकर्षण गराए ।
सरकारले विपन्न परिवारका बालबालिकाहरुको मुटुरोग उपचारका लागि २ लाख ५० हजार सहायता अनुदान दिने निर्णय गरेको थियो । गत आर्थिक वर्षको भुक्तानी नभएको भन्दै गंगालालले उक्त सेवा रोकेको छ । सांसद सिंहले निःशुल्क मुटु रोगको उपचार सेवा तत्काल सुचारु गर्न स्वास्थ्यमन्त्रीको समेत ध्यानाकर्षण गराए ।
अस्पतालमा उपचार रोकिएपछि बिरामीहरू अलपत्र परेका छन् ।
काठमाडौंको मनमोहन कार्डियक थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, शहीद गंगालाल हृदय केन्द्र, शिक्षण अस्पताल लगायतका प्रमुख सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क मुटुरोग उपचारका लागि आएका बालबालिका सेवा नपाएर फर्किन थालेका छन् । कतिपय अभिभावकले आर्थिक कारणले निजी उपचार गर्न नसक्ने अवस्था आएको गुनासो गरेका छन् ।
सरकारले केही वर्षयता १५ वर्षमुनिका मुटुरोगी बालबालिकाको शल्यक्रिया र उपचार निःशुल्क गर्ने नीति लिएको थियो । वार्षिक रूपमा सयौं बालबालिकाले यो सुविधाबाट जीवन र स्वास्थ्य पाउने गरेका थिए । तर चालु आर्थिक वर्षको बजेट स्वीकृति भए पनि निक्षेप रकम समयमै निकासा नहुँदा सेवा अवरुद्ध हुन पुगेको अस्पतालले जनाएका छन् ।
हृदय विशेषज्ञहरू सेवा रोकिनु नैतिक र मानवीय दृष्टिले गम्भीर विषय भएको बताउँछन् ।