२०८२ साउन ११ गते आइतवार / Jul 27 , 2025 , Sunday
२०८२ साउन ११ गते आइतवार
Ads

दर्ता नभएको ‘शहीद स्मृति प्रतिष्ठान’को नाममा उपभोक्ता समिति, कर्णाली स्पोर्ट्स क्लबको जग्गामा भवन निर्माण

shivam cement
दिलमाया शाही
२०८२ साउन ११ गते २०:३१
दर्ता नभएको ‘शहीद स्मृति प्रतिष्ठान’को नाममा उपभोक्ता समिति, कर्णाली स्पोर्ट्स क्लबको जग्गामा भवन निर्माण

जुम्ला : जुम्लामा दर्ता प्रक्रिया नै नगरी स्थापना गरिएको ‘शहीद स्मृति प्रतिष्ठान’को नाममा उपभोक्ता समिति गठन गरी कर्णाली स्पोर्ट्स क्लबको स्वामित्वमा रहेको जग्गामा भवन निर्माण गरिएको तथ्य बाहिरिएको छ । 

क्लबको स्वामित्वमा रहेको कित्ता नम्बर २४५, क्षेत्रफल ००१३० मा भवन निर्माण प्रक्रिया सुरु गरी हालसम्म ३० लाख रुपैयाँ बजेट भुक्तानी गरिएको खुलेको छ । उक्त बजेट संघीय सरकारले सघन शहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय, जुम्लामार्फत शहीद स्मृति प्रतिष्ठानको नाममा विनियोजन गरी पठाएको थियो । शहीद स्मृति प्रतिष्ठान भवन निर्माण उपभोक्ता समिति जुम्लामार्फत उक्त कार्य भएको हो । 

यो बजेट प्रतिनिधिसभा सांसद छिरिङ ल्यामु ल्यामो तामाङको पहलमा प्राप्त ६० लाख रुपैयाँमध्येबाट आएको हो । सुरुमा आयोजना कार्यालयले शहीद स्मृति प्रतिष्ठानको नाममा जग्गा नहुँदा परियोजना अघि बढ्न नसक्ने स्पष्ट पारेको थियो । नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक नवराज न्यौपानेले पनि कार्यालयको भनाइ जायज भएको भन्दै योजना रोकिएको बताए । उनले भने,‘हामीले जग्गा पाएपछि केन्द्रमा दर्ता भएको शहीद स्मृति प्रतिष्ठानसँग सिफारिस मागी नामसारी गर्ने सोच बनाएका थियौं, तर सकिएन । अहिले भने कर्णाली स्पोर्ट्स क्लबको नाममा रहेको जग्गामा भवन बनेको भन्ने थाहा पाएको छु ।’

उनले थपे,‘नियम सबैका लागि एउटै हुनुपर्छ । हामीले कसैको जग्गा माग्दा अप्ठ्यारो देखाउने, अर्कोतिर भने फरक व्यक्तिको जग्गा देखाएर सहजै भुक्तानी दिने ? यस्तो पनि हुन्छ ?’

उनका अनुसार शहीद स्मृति प्रतिष्ठानको नाममा उपभोक्ता समिति गठन गरी ३० लाख रुपैयाँको भुक्तानी गरिएको बिल देखिएको छ ।

यसैबीच, चन्दननाथ नगरपालिका–५ का वडाध्यक्ष वृष बहादुर कार्कीका अनुसार वडा कार्यालयले शहीद स्मृति भवन निर्माणका लागि आएको बजेट कर्णाली खेलकुद क्लबको जग्गामा खर्च गर्नुपर्ने भएकाले सहमतिको पत्र पठाएको हो । उनले भने, ‘बजेट फिर्ता जाने अवस्थामा रहेकाले धावक हरिबहादुर रोकाया आएपछि सम्झौताका लागि वडा कार्यालयबाट सिफारिस पत्र लेखिएको हो । बजेट कहाँ दिने भन्ने जिम्मेवारी सघन शहरी विकास तथा आयोजना कार्यालयकै हो ।’

सब–इन्जिनियर एवं सूचना अधिकारी चन्द्रबहादुर खड्काले पनि वडा कार्यालयको सिफारिसमा क्लबको जग्गामा शहीद स्मृति भवन निर्माण गरिएको पुष्टि गरे ।

तर, दर्ता नभएको संस्थाको नाममा उपभोक्ता समिति बनाइ सार्वजनिक बजेट सञ्चालन गरी निजी क्लबको जग्गामा भवन निर्माण गरिएको विषयले गम्भीर कानुनी तथा नैतिक प्रश्न उठाएको छ । यस्ता गतिविधिहरूले सार्वजनिक लेखा, सार्वजनिक जग्गा संरक्षण र बजेटको पारदर्शिता सम्बन्धी मापदण्डमा प्रश्नचिन्ह खडा गरिरहेको छ ।

उक्त योजना ६० लाखको रहेको र शहीद स्मृति प्रतिष्ठान भवन निर्माण उपभोक्ता समिति, जुम्लाको नाममा ३० लाख रुपैयाँ भुक्तानी भएको पुष्टि भएको छ । हाल भवन निर्माणको कार्य अझै जारी छ ।

आरोप–प्रत्यारोप

शहीद स्मृति प्रतिष्ठान भवन निर्माण उपभोक्ता समिति, जुम्लाका अध्यक्ष हरिबहादुर रोकाया (धावक) ले आफू अध्यक्ष बनेको पुष्टि गरे । उनले भने, ‘मलाई अध्यक्ष बस भन्नु भएको थियो, त्यसैले बसेको हुँ । तर बजेटबारे मलाई कुनै जानकारी छैन ।’

कर्णाली खेलकुद क्लबका अध्यक्ष सरोज शाहीले भने भवन निर्माण सबैको सहमतिमा गरिएको बताए । उनले भने, ‘हामीले यस्तो काम गर्न खोजेका थिएनौं, सबैको सहमतिमा अघि बढाइएको हो । अहिले भने यसलाई अनावश्यक रूपमा ‘इगो’ को विषय बनाइएको छ ।’

उनले माओवादी केन्द्र चन्दननाथ नगर कमिटीका अध्यक्ष सुरेन्द्र बहादुर महतले व्यक्तिगत रूपमा ‘इगो’ राखेर समस्या सिर्जना गरेको आरोप लगाए ।

उनका अनुसार सुरुमा सांसद लामा तामाङलगायत माओवादी नेताहरूको सहमतिमा बजेट कर्णाली खेलकुद क्लबलाई दिइएको थियो । ‘सबैले भनेका थिए बजेट फिर्ता पठाउनु भन्दा काम गर । त्यसैले काम सुरु गर्यौं,’ उनले भने ।

शाहीले अझै क्लबकै पैसाले बाँकी काम चलिरहेको उल्लेख गरे । संघीय सरकारले आर्थिक वर्ष २०८१÷८२ का लागि सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, जुम्लामार्फत ६० लाख रुपैयाँ बजेट पठाएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise