जुम्ला : जुम्लाको सरकारी टोली भगवती पूजाका लागि बाजुरातर्फ प्रस्थान गरेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरा अवस्थित बडीमालिका भगवती मन्दिरको पूजाआजाका लागि जुम्लाबाट सरकारी टोली प्रस्थान गरेको हो ।
जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा विष्णुबहादुर महतको नेतृत्वमा पुजारी विष्णुप्रसाद उपाध्यायसहितको पाँच जनाको टोली बडीमालिका प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले जानकारी दिए । उनका अनुसार यो टोली हरेक वर्ष साउन शुक्लपूर्णीमा (नाग पञ्चमी) का दिन तत्कालीन जुम्ला र डोटी राज्यबाट संयुक्तरूपमा गरिँदै आएको परम्पराअनुसार पूजामा सहभागी हुन गएको हो ।
प्रजिअ शर्माका अनुसार नेपाली सेनाको एक टुकडीले बटुक भैरवनाथ, बाबा चन्दननाथ र दरबार मालिकालाई सलामी अर्पण गर्दै पाँचवटा तोप सलामी, ब्यान्डबाजा र बिगुल फुकेर पूजाको डोलीसहित बडीमालिका जाने टोलीलाई बिदाइ गरेको थियो ।
परम्परादेखि नै नाग पञ्चमीका दिन जुम्लाबाट सरकारी टोली बडीमालिकाको पूजा गर्न जाने चलन रहिआएको छ । डोटी र बाजुराबाट पनि त्यस्तै गरी टोली आउने गर्दछन् । र बडीमालिकामा संयुक्त पूजा गर्ने गरिन्छ । यस अवसरमा सयौँ भक्तजन, सरकारी तथा गैसस (गैरसरकारी संस्था)का प्रतिनिधिहरूले फूलमाला, अबिरसहित टोलीलाई बिदाइ गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय जुम्लाकोतर्फबाट सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र, मुरली गरी पाँच थान पूजाका सामग्री ‘पेटारो’ झोलीमा राखेर मन्दिरमा चढाइने परम्परा अनुसार पठाइएको छ ।
टोली बडीमालिका पुगेपछि जुम्लामा जात्रा लाग्ने चलन छ । सो टोली कृष्णाष्टमीको अघिल्लो दिन बाजुराबाट फर्किएपछि भोलिपल्ट जुम्लामा लाखे नाच (लाख्य काट्ने)को कार्यक्रम गरिन्छ ।
बिदाइ गर्न आएका स्थानीयवासीहरूले आ–आफ्ना मनोकामना पूर्ति होस् भन्ने विश्वासका साथ अक्षता र नासो पठाउने गर्छन् । हजारौँको संख्यामा उपस्थित जनसमुदायले टोलीको सफल यात्राका साथै जुम्लाको समृद्धि र शुभकामनाको कामना गरेका छन् । जुम्लाबाट लगिएको अक्षता र फूलपाती बडीमालिका मन्दिरमा चढाइने परम्परा छ ।