२०८२ साउन २९ गते बिहिवार / Aug 14 , 2025 , Thursday
२०८२ साउन २९ गते बिहिवार
Ads

नेपालीलाई तर्साउँदै जापनिज इन्सेफ्लाइटिस : १० दिनमा २० जनामा संक्रमण पुष्टि, जोखिममा बालबालिका

shivam cement
अस्मिता बम
२०८२ साउन २९ गते ०६:२५
नेपालीलाई तर्साउँदै जापनिज इन्सेफ्लाइटिस : १० दिनमा २० जनामा संक्रमण पुष्टि, जोखिममा बालबालिका

काठमाडौं : नेपालमा जापनिज इन्सेफलाइटिस (जेई)को संक्रमण फैलिन थालेको छ । क्युलेक्स नामक लामखुट्टेका माध्यमबाट सर्ने यो रोगका कारण सन् २०२५ को हालसम्ममा तीन जनाको मृत्यु भएको छ । यससँगै ३३ जनामा जेईको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्तबहादुर केसीले जानकारी दिएका छन् । विगत १० दिनमा मात्रै २० जनामा संक्रमण पुष्टि भएको उनको भनाइ छ ।

उनका अनुसार हाल १८ जिल्लामा यो रोगको संक्रमण फैलिएको छ । यसमध्ये बर्दिया, कावासोती, रत्ननगर, ठोरी, हरिवन, लाहान, भद्रपुर, उल्लाबारी र गौरीगन्जमा बढी संक्रमित भएका छन् । 

यसै रोगबाट गत वर्ष २५ जनाको ज्यान गएको मन्त्रालयको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । गत वर्ष संक्रमितको संख्या भने ८६ जना रहेको महाशाखाले जनाएको हो । महाशाखाको तथ्यांकअनुसार नेपालमा सन् २०२३ मा १ सय ७ जनामा संक्रमण पुष्टि भएको थियो । जसमध्ये सात जनाको मृत्यु भएको थियो । सन् २०२२ मा भने ६६ जनामा जेईको संक्रमण भएको थियो । यसैगरी, २०२१ मा २८ जना र २०२० मा २२ जनामा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । 

नेपालमा करिब २५ वर्षअघि व्यापक रूपमा फैलिएको यो रोग पुनः उब्जिनु चिन्ताजनक भएको सरुवा रोग विशेषज्ञ शेरबहादुर पुन बताउँछन् । उनका अनुसार यस रोगले ठुलो रूप लियो भने बाँच्ने सम्भावना कम हुन्छ । ‘यो रोग कडा रूपमा निस्क्यो भने ३० प्रतिशत मान्छेको मृत्यु हुन्छ, बाँचेका ७० प्रतिशतमा पनि ५० प्रतिशत चाहीँ स्थायी रूपमा असर रहन्छ,’ उनले भने । 

यसले विशेषगरी मष्तिष्कमा असर गर्ने, नसासम्बन्धी अपांगता देखिने, दृष्टि गुम्ने, सुन्ने क्षमतामा ह्रास आउने, बोलिचालीमा समस्या, हातखुट्टा लुलो हुनेलगायतका समस्या देखिने भएकाले यो रोगलाई सामान्य रूपमा नहेर्न उनको सुझाव छ । ‘यो रोगको डर भनेको यसले मष्तिष्कमा असर गर्छ । रोग लागेपछि मष्तिष्क सुन्निने हुन्छ । सम्भवतः निको हुन्न, भइहाले पनि मानसिक अवस्था पहिलेजस्तै हुने सम्भावना एकदम कम हुन्छ,’ उनले भने । 

अचानक ज्वरो आउने, टाउको दुख्ने, घाँटी सुक्ने, बेहोससम्म हुने, बिर्सनेजस्ता लक्षण देखिने र पछि गएर घातक रूप लिने भएकाले ज्वरो आउनेबित्तिकै जँचाइहाल्न पनि उनले सुझाव दिए । उनले भने, ‘संक्रमण भएको एकदेखि दुई साताभित्रमा ज्वरो आयो वा टाउको दुख्यो भने चेकजाँच गराएर आवश्यक परामर्श लिई उपचार गराइहाल्नुपर्छ ।’ 

बालबालिकालाई यो खोप लगाइरहेको भए पनि अन्य उमेर समूहका मानिसलाई खोपबारे जानकारीसमेत नभएको बताउँदै उनले सरकारले यसलाई फैलन नदिन खोपको व्यवस्थापन गर्नुपर्ने र आमनागरिकमा रोगसम्बन्धी जानकारी फैलाउनुपर्नेमा जोड दिनुपर्ने औंल्याए । ‘यो नौलो रोग होइन, रि–मर्ज भएर आएको रोग हो । १५ वर्षमुनिको उमेर समूहलाई बढी प्रभावित पार्ने बताइए पनि हाल मृत्यु हुनेमा १५ वर्ष माथिको उमेर समूह नै छ । विगतमा खोपका कारण निर्मूल भएको थियो । अहिले पनि खोपलाई नै व्यापक बनाउनुपर्छ,’ उनले भने ।  

रोग फैलिरहेको अवस्थामा स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. केसीले संघ र स्थानीय सरकारलाई जेईबारे जनचेतना फैलाउन निर्देशन दिइएको बताए । उनले हेर्दा लामखुट्टेबाट सर्ने डेंगुजस्तै देखिए पनि यो घातक अत्यन्त घातक भएकाले खोपको पहुँच सबै ठाउँमा पुर्‍याउने प्रयासमा सरकार रहेको जानकारी दिए । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise