२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

वृद्धको सत्ता

Nada
२०८१ साउन ४ गते ०६:३०
Shares
वृद्धको सत्ता

–सन्देश अर्याल

ncell

थरथरती काँप्दै, घ्यार्र–घ्यार्र गर्दै, र्‍याल चुहाउँदै, औसत आयु (७१.३ वर्ष– राष्ट्रिय तथ्याङ्क विभाग) पार गरेका, अनि नाफाको जिन्दगी बाँचिरहेका वृद्धहरू नै आज मुलुकको सत्तामा छन् । विडम्बना नै भन्नुपर्ला, सत्तामा सिधा उभिनसमेत आड लिनुपर्ने, आफ्नै शरीर आफैँलाई बोझ भएकाहरूकै बोलाबाला छ । नेतृत्व फेरियो, अनुहार फेरियो भनेर खुसी मान्नुपर्ने अवस्था छैन । सबैतिरबाट रिटायर्डहरू सत्तामा फेरिएका छन् । पात्र, प्रवृत्ति, शैली उस्तै भएकाहरू नै सत्तामा दोहोरिएका छन् ।

मुलुक युवा जति विदेश पैठारी गरेर वृद्ध आश्रम बन्ने तरखरमा छ । युवा पैठारीको गतिलाई हेर्दा, केही वर्षभित्रै मुलुक युवा बिहीन बन्दै छ । ‘युवा जति खाडीमा, बुढा जति राडीमा’ यत्तिकै रचिएको उखान होइन । मुलुकको परिवेश उल्टो छ, उखानले वास्तविकता बोल्छ । तथापि, अचम्मको विषय युवा पङ्क्ति प्रत्येक अध्यायमा साक्षी बनिरहेको छ । सहयोगी बनिरहेको छ । 

३४ वर्षका ग्याब्रियल एटा फ्रान्सको प्रधानमन्त्री बनेका छन् । आयरल्यान्डको प्रधानमन्त्रीमा ४४ वर्षका लियो वराडकर छन् । ४४ वर्षीय जेभियर एस्पोट जामोरा, एन्डोराका प्रधानमन्त्री हुन् । नजिकैको भुटानमा ४३ वर्षीय जिग्मे खेसर नामग्याल वाङ्चुक राजाको भूमिकामा छन् । अमेरिका जस्तो महाशक्तिलाई हल्लाउने उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन मात्रै ४० वर्षका भए । अरु त अरु एक दिनका लागि नेपाल आउँदा हामीले बडो हर्ष व्यक्त गर्ने कतारी अमिर तमिम बिन हमाद अल थानी जम्मा ४३ वर्षका भए । 

हामीसँग विश्वका यस्ता थुप्रै उदाहरण छन्, जुन प्रेरणादायी कथा भन्दै हामी सुनाउँछौँ । जसलाई हेरेर युवाहरूलाई उत्प्रेरित गर्न खोज्छौँ । हामी परिवर्तनका कुरा गर्दा, तिनका उदाहरण दिन्छौँ । तर विडम्बना, हाम्रै मुलुकभित्रको राजनीति वृद्धहरूको कब्जामा छ । पालैपालो गरेर उनीहरू मुलुकको नेतृत्वकर्ता बनिरहेका छन् । 

विश्वका त्यस्ता थुप्रै उदाहरण हामी लिन सक्छौँ, जहाँ युवाले नै नेतृत्व गरेका छन् र देशले विकासको फड्को मारेको छ । युवाले नेतृत्व नलिई विकासको फड्को मारेको देश हामी अपवाद बाहेक भेट्टाउन सक्दैनौ । 

युवामा जस्तो खालको जाँगर हुन्छ, त्यो बढौली उमेरमा हुँदैन । युवाले जति श्रम र पसिना बगाउन सक्छ, त्यो वृद्धले बगाउन सक्दैन । प्रस्ट छ, युवा नेतृत्वमा आउँदा नै स्थिति र परिस्थिति फेरिन्छ । यद्यपि, हामी त्यो दिशातर्फ उन्मुख छैनौ । हामी युवालाई खाडी पठाउँछौ र वृद्धहरूलाई सत्तामा पुर्‍याउँछौँ । जसको नतिजा आज हामी आफैँ बेहोरिरहेका छौँ ।

हामी भन्छौँ, युवा देशको परिवर्तनशील शक्ति हो, आधुनिक विज्ञानको प्रयोग गर्न र चमत्कार गर्न सक्ने शक्ति हो । चर्चित भारतीय नागरिक अंकिता कवात्राले युवा नै देशको मेरुदण्ड हो भनेका छन् । उनले युवा चलायमान नभएसम्म मुलुकको प्रगति नहुने निष्कर्ष निकालेका छन् । यद्यपि, हामी राजनीतिमा ‘नेभर रिटायर्ड’ भन्दै वृद्धहरूलाई शासक बनाइरहेका छौँ । उनकै भद्रगोल शासनलाई स्विकारी रहेका छौँ । युवाको लागि सत्ता ‘आकाशको फल आँखा तरी मर’ भन्ने भाष्य बनाइरहेका छौँ । 

वृद्धकै नेतृत्वमा राजनीति

नेपालको सन्दर्भमा, व्यवस्था परिवर्तनपछिको १६ वर्षको समयावधिमा हेर्‍यौं भने एकातिर नेतृत्वमा एउटै पात्रहरू दोहोरिइरहेका छन् भने अर्कोतिर दोहोरिएका अधिकांश पात्रहरू बुढौलीले घेरिएका छन् । अहिले प्रधानमन्त्रीमा नियुक्त नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ७३ वर्षका भए । यद्यपि, ओली पहिलो प्रधानमन्त्री बनेका पनि होइनन् । उनी यसअघि २०७२, २०७४, २०७८ मा पनि प्रधानमन्त्री भइसकेका थिए । सँगै अहिलेको राजनीतिक परिपाटीलाई हेर्दा, यो उनको अन्तिम कार्यकाल नहुन पनि सक्छ । उनी एकातिर एमालेभित्रका निर्विकल्प जस्ता पात्र हुन् भने अर्कोतिर राष्ट्रिय राजनीति उनका निम्ति अनुकूलित नै छ । 

अहिले ओलीलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा ७८ वर्षका भए । ओली र देउवाबिच सरकार बनाउने सहमति हुँदै गर्दा, सरकारको नेतृत्वमा पनि आलोपालोको सहमति भएको छ । यदि सहमति पालना भएमा देउवा अबको दुई वर्षपछि प्रधानमन्त्री बन्नेछन् । गजबको विषय, सबैभन्दा धेरै पटक (छ पटक) प्रधानमन्त्री बन्नेको रेकर्ड देउवाले राख्नेछन् । देउवा पहिलो पटक २०५२ मा प्रधानमन्त्री बनेका देउवा, २०५८, २०६१, २०७४ र २०७८ मा गरी पाँचौँ पटक प्रधानमन्त्री बनेका थिए ।

यसो भनिरहँदा अहिले प्रधानमन्त्रीबाट पदमुक्त भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’को पनि यो पहिलो कार्यकाल थिएन । २०७९ उनको तेस्रो नियुक्ति थियो । ७० वर्षीय प्रचण्ड २०६५, २०७३ मा यसअघि प्रधानमन्त्री बनिसकेका थिए । 

देशको नेतृत्वमा दोहोरिएका यी तीन नेता मात्रै होइन, संसदीय अभ्यासमा रहेका अन्य अधिकांश दलका मुख्य नेताहरू पनि बुढ्यौलीले च्यापिएका छन् । निर्वाचन आयोगको अद्यावधिक विवरण (२०८१ असार)सम्मलाई हेर्दा, आयोगमा दर्ता भएर क्रियाशील दलको सङ्ख्या ११९ छ । जसमध्ये संसदमा १४ दलले प्रतिनिधित्व गर्दछन् । संसदमा प्रतिनिधित्व गर्ने १४ दलमध्ये अधिकांश नौ दलका नेतृत्वकर्ता वृद्ध भत्ता बुझ्ने उमेर समूहका छन् । अनौठो मान्नुपर्दैन, कतिपय ८० वर्षलाई समेत पार गरिसकेका छन् । 

कानुनी अभ्यास र तथ्य

नेपालको कानुन (ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३)ले साठी वर्ष उमेर पूरा गरेको नागरिकलाई ज्येष्ठ नागरिक भनी परिभाषित गरेको छ । विद्यमान निजामती सेवा ऐन, २०४९ लाई हेर्‍यौं भने कर्मचारीको सेवा उमेर हद ५८ वर्षको मात्रै छ । ५८ वर्ष पुगेपछि निजामती कर्मचारीले अनिवार्य अवकाश लिनुपर्छ । सबैभन्दा धेरै उमेरसम्म सेवामा रहन पाउने क्षेत्र न्यायालय हो । जहाँ पनि उमेर हद पनि ६५ वर्ष मात्रैको छ । ६५ पूरा भएपछि न्यायाधिशहरूले अवकाश लिनुपर्छ ।

सरकारले एकातर्फ ५८ वर्ष उमेर पुगेकालाई अनिवार्य अवकाश दिएर पठाउँछ भने अर्कोतर्फ ६८ वर्ष उमेर पुगेका नागरिकलाई आश्रित उमेर समूहको बुझाइसहित विशेष सामाजिक सुरक्षाअन्तर्गत ज्येष्ठ नागरिक भत्ता उपलब्ध गराउँछ । 

विश्व स्वास्थ्य संगठनका अनुसार ६० वर्ष पार गरेका व्यक्तिमा थुप्रै खालका स्वास्थ्य समस्याहरू सिर्जना हुन्छन् । उनीहरूको स्मरण क्षमता कमजोर हुँदै जान्छ, उनीहरू सृजनशील हुँदैनन् । उनीहरूको निर्णय क्षमता प्रभावकारी हुँदैन । सायद, यही निष्कर्षको प्रभाव नै होला विश्वभर करिब ६० वर्ष उमेर पार गरेका व्यक्तिलाई रिटायर्ड गराइन्छ । 

यद्यपि, कर्मचारीमा उमेर हद लगाउने राज्यमा कार्यकारी नेतृत्व गर्ने पात्रका निम्ति भने उमेर हद छैन । जसको प्रभाव रिटायर्ड प्रकृतिका पात्रहरू नै सत्ताको नेतृत्वमा दोहोरिइरहेका छन् । 

निष्कर्षमा,

आज समाज यिनै वृद्ध र असफल नेतृत्वको कारण निराश छ । सत्य हो, आशा, भरोसा जगाउन नसक्ने नेतृत्वले मुलुकलाई अगाडि लैजान सक्दैन । तर नियतिलाई हेर्दा, यसको निकास सहज देखिन्न । एकातिर भइरहेका दलहरूभित्र पुस्तान्तरणको गुन्जाएस् छैन भने अर्कोतिर नयाँ भनिएका दलले पनि जनतामा उभार ल्याउन सकिरहेका छैनन् । तथापि, यसको निकास खोजिनै पर्छ । राजनीतिकरूपमा सचेत वर्गले यसमा पहल लिनै पर्छ । जबसम्म असफल र रिटायर्ड मानसिकताका पात्रहरूलाई राजनीतिबाट विस्थापित गरिँदैन तबसम्म मुलुकले निकास पाउन सक्दैन । युवा वर्गले अब पनि वृद्धहरूकै अनुयायी बन्ने र भजन गाएर बस्ने परिपाटी नत्यागे आगामी पुस्ताको समेत भविष्य बर्बाद हुनेछ ।

सम्बन्धित खबर