२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

वृद्धको सत्ता

ADV
मध्यान्ह
२०८१ साउन ४ गते ०६:३०
वृद्धको सत्ता

–सन्देश अर्याल

थरथरती काँप्दै, घ्यार्र–घ्यार्र गर्दै, र्‍याल चुहाउँदै, औसत आयु (७१.३ वर्ष– राष्ट्रिय तथ्याङ्क विभाग) पार गरेका, अनि नाफाको जिन्दगी बाँचिरहेका वृद्धहरू नै आज मुलुकको सत्तामा छन् । विडम्बना नै भन्नुपर्ला, सत्तामा सिधा उभिनसमेत आड लिनुपर्ने, आफ्नै शरीर आफैँलाई बोझ भएकाहरूकै बोलाबाला छ । नेतृत्व फेरियो, अनुहार फेरियो भनेर खुसी मान्नुपर्ने अवस्था छैन । सबैतिरबाट रिटायर्डहरू सत्तामा फेरिएका छन् । पात्र, प्रवृत्ति, शैली उस्तै भएकाहरू नै सत्तामा दोहोरिएका छन् ।

मुलुक युवा जति विदेश पैठारी गरेर वृद्ध आश्रम बन्ने तरखरमा छ । युवा पैठारीको गतिलाई हेर्दा, केही वर्षभित्रै मुलुक युवा बिहीन बन्दै छ । ‘युवा जति खाडीमा, बुढा जति राडीमा’ यत्तिकै रचिएको उखान होइन । मुलुकको परिवेश उल्टो छ, उखानले वास्तविकता बोल्छ । तथापि, अचम्मको विषय युवा पङ्क्ति प्रत्येक अध्यायमा साक्षी बनिरहेको छ । सहयोगी बनिरहेको छ । 

३४ वर्षका ग्याब्रियल एटा फ्रान्सको प्रधानमन्त्री बनेका छन् । आयरल्यान्डको प्रधानमन्त्रीमा ४४ वर्षका लियो वराडकर छन् । ४४ वर्षीय जेभियर एस्पोट जामोरा, एन्डोराका प्रधानमन्त्री हुन् । नजिकैको भुटानमा ४३ वर्षीय जिग्मे खेसर नामग्याल वाङ्चुक राजाको भूमिकामा छन् । अमेरिका जस्तो महाशक्तिलाई हल्लाउने उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन मात्रै ४० वर्षका भए । अरु त अरु एक दिनका लागि नेपाल आउँदा हामीले बडो हर्ष व्यक्त गर्ने कतारी अमिर तमिम बिन हमाद अल थानी जम्मा ४३ वर्षका भए । 

हामीसँग विश्वका यस्ता थुप्रै उदाहरण छन्, जुन प्रेरणादायी कथा भन्दै हामी सुनाउँछौँ । जसलाई हेरेर युवाहरूलाई उत्प्रेरित गर्न खोज्छौँ । हामी परिवर्तनका कुरा गर्दा, तिनका उदाहरण दिन्छौँ । तर विडम्बना, हाम्रै मुलुकभित्रको राजनीति वृद्धहरूको कब्जामा छ । पालैपालो गरेर उनीहरू मुलुकको नेतृत्वकर्ता बनिरहेका छन् । 

विश्वका त्यस्ता थुप्रै उदाहरण हामी लिन सक्छौँ, जहाँ युवाले नै नेतृत्व गरेका छन् र देशले विकासको फड्को मारेको छ । युवाले नेतृत्व नलिई विकासको फड्को मारेको देश हामी अपवाद बाहेक भेट्टाउन सक्दैनौ । 

युवामा जस्तो खालको जाँगर हुन्छ, त्यो बढौली उमेरमा हुँदैन । युवाले जति श्रम र पसिना बगाउन सक्छ, त्यो वृद्धले बगाउन सक्दैन । प्रस्ट छ, युवा नेतृत्वमा आउँदा नै स्थिति र परिस्थिति फेरिन्छ । यद्यपि, हामी त्यो दिशातर्फ उन्मुख छैनौ । हामी युवालाई खाडी पठाउँछौ र वृद्धहरूलाई सत्तामा पुर्‍याउँछौँ । जसको नतिजा आज हामी आफैँ बेहोरिरहेका छौँ ।

हामी भन्छौँ, युवा देशको परिवर्तनशील शक्ति हो, आधुनिक विज्ञानको प्रयोग गर्न र चमत्कार गर्न सक्ने शक्ति हो । चर्चित भारतीय नागरिक अंकिता कवात्राले युवा नै देशको मेरुदण्ड हो भनेका छन् । उनले युवा चलायमान नभएसम्म मुलुकको प्रगति नहुने निष्कर्ष निकालेका छन् । यद्यपि, हामी राजनीतिमा ‘नेभर रिटायर्ड’ भन्दै वृद्धहरूलाई शासक बनाइरहेका छौँ । उनकै भद्रगोल शासनलाई स्विकारी रहेका छौँ । युवाको लागि सत्ता ‘आकाशको फल आँखा तरी मर’ भन्ने भाष्य बनाइरहेका छौँ । 

वृद्धकै नेतृत्वमा राजनीति

नेपालको सन्दर्भमा, व्यवस्था परिवर्तनपछिको १६ वर्षको समयावधिमा हेर्‍यौं भने एकातिर नेतृत्वमा एउटै पात्रहरू दोहोरिइरहेका छन् भने अर्कोतिर दोहोरिएका अधिकांश पात्रहरू बुढौलीले घेरिएका छन् । अहिले प्रधानमन्त्रीमा नियुक्त नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ७३ वर्षका भए । यद्यपि, ओली पहिलो प्रधानमन्त्री बनेका पनि होइनन् । उनी यसअघि २०७२, २०७४, २०७८ मा पनि प्रधानमन्त्री भइसकेका थिए । सँगै अहिलेको राजनीतिक परिपाटीलाई हेर्दा, यो उनको अन्तिम कार्यकाल नहुन पनि सक्छ । उनी एकातिर एमालेभित्रका निर्विकल्प जस्ता पात्र हुन् भने अर्कोतिर राष्ट्रिय राजनीति उनका निम्ति अनुकूलित नै छ । 

अहिले ओलीलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा ७८ वर्षका भए । ओली र देउवाबिच सरकार बनाउने सहमति हुँदै गर्दा, सरकारको नेतृत्वमा पनि आलोपालोको सहमति भएको छ । यदि सहमति पालना भएमा देउवा अबको दुई वर्षपछि प्रधानमन्त्री बन्नेछन् । गजबको विषय, सबैभन्दा धेरै पटक (छ पटक) प्रधानमन्त्री बन्नेको रेकर्ड देउवाले राख्नेछन् । देउवा पहिलो पटक २०५२ मा प्रधानमन्त्री बनेका देउवा, २०५८, २०६१, २०७४ र २०७८ मा गरी पाँचौँ पटक प्रधानमन्त्री बनेका थिए ।

यसो भनिरहँदा अहिले प्रधानमन्त्रीबाट पदमुक्त भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’को पनि यो पहिलो कार्यकाल थिएन । २०७९ उनको तेस्रो नियुक्ति थियो । ७० वर्षीय प्रचण्ड २०६५, २०७३ मा यसअघि प्रधानमन्त्री बनिसकेका थिए । 

देशको नेतृत्वमा दोहोरिएका यी तीन नेता मात्रै होइन, संसदीय अभ्यासमा रहेका अन्य अधिकांश दलका मुख्य नेताहरू पनि बुढ्यौलीले च्यापिएका छन् । निर्वाचन आयोगको अद्यावधिक विवरण (२०८१ असार)सम्मलाई हेर्दा, आयोगमा दर्ता भएर क्रियाशील दलको सङ्ख्या ११९ छ । जसमध्ये संसदमा १४ दलले प्रतिनिधित्व गर्दछन् । संसदमा प्रतिनिधित्व गर्ने १४ दलमध्ये अधिकांश नौ दलका नेतृत्वकर्ता वृद्ध भत्ता बुझ्ने उमेर समूहका छन् । अनौठो मान्नुपर्दैन, कतिपय ८० वर्षलाई समेत पार गरिसकेका छन् । 

कानुनी अभ्यास र तथ्य

नेपालको कानुन (ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३)ले साठी वर्ष उमेर पूरा गरेको नागरिकलाई ज्येष्ठ नागरिक भनी परिभाषित गरेको छ । विद्यमान निजामती सेवा ऐन, २०४९ लाई हेर्‍यौं भने कर्मचारीको सेवा उमेर हद ५८ वर्षको मात्रै छ । ५८ वर्ष पुगेपछि निजामती कर्मचारीले अनिवार्य अवकाश लिनुपर्छ । सबैभन्दा धेरै उमेरसम्म सेवामा रहन पाउने क्षेत्र न्यायालय हो । जहाँ पनि उमेर हद पनि ६५ वर्ष मात्रैको छ । ६५ पूरा भएपछि न्यायाधिशहरूले अवकाश लिनुपर्छ ।

सरकारले एकातर्फ ५८ वर्ष उमेर पुगेकालाई अनिवार्य अवकाश दिएर पठाउँछ भने अर्कोतर्फ ६८ वर्ष उमेर पुगेका नागरिकलाई आश्रित उमेर समूहको बुझाइसहित विशेष सामाजिक सुरक्षाअन्तर्गत ज्येष्ठ नागरिक भत्ता उपलब्ध गराउँछ । 

विश्व स्वास्थ्य संगठनका अनुसार ६० वर्ष पार गरेका व्यक्तिमा थुप्रै खालका स्वास्थ्य समस्याहरू सिर्जना हुन्छन् । उनीहरूको स्मरण क्षमता कमजोर हुँदै जान्छ, उनीहरू सृजनशील हुँदैनन् । उनीहरूको निर्णय क्षमता प्रभावकारी हुँदैन । सायद, यही निष्कर्षको प्रभाव नै होला विश्वभर करिब ६० वर्ष उमेर पार गरेका व्यक्तिलाई रिटायर्ड गराइन्छ । 

यद्यपि, कर्मचारीमा उमेर हद लगाउने राज्यमा कार्यकारी नेतृत्व गर्ने पात्रका निम्ति भने उमेर हद छैन । जसको प्रभाव रिटायर्ड प्रकृतिका पात्रहरू नै सत्ताको नेतृत्वमा दोहोरिइरहेका छन् । 

निष्कर्षमा,

आज समाज यिनै वृद्ध र असफल नेतृत्वको कारण निराश छ । सत्य हो, आशा, भरोसा जगाउन नसक्ने नेतृत्वले मुलुकलाई अगाडि लैजान सक्दैन । तर नियतिलाई हेर्दा, यसको निकास सहज देखिन्न । एकातिर भइरहेका दलहरूभित्र पुस्तान्तरणको गुन्जाएस् छैन भने अर्कोतिर नयाँ भनिएका दलले पनि जनतामा उभार ल्याउन सकिरहेका छैनन् । तथापि, यसको निकास खोजिनै पर्छ । राजनीतिकरूपमा सचेत वर्गले यसमा पहल लिनै पर्छ । जबसम्म असफल र रिटायर्ड मानसिकताका पात्रहरूलाई राजनीतिबाट विस्थापित गरिँदैन तबसम्म मुलुकले निकास पाउन सक्दैन । युवा वर्गले अब पनि वृद्धहरूकै अनुयायी बन्ने र भजन गाएर बस्ने परिपाटी नत्यागे आगामी पुस्ताको समेत भविष्य बर्बाद हुनेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise