काठमाडौँ : “माननीय सभापतिज्यू, छ महिनाअघि संशोधन प्रस्ताव दर्ता गरेको थिएँ । छलफलका लागि अहिले खबर आयो । मैले के संशोधन हालेको थिएँ भन्ने पनि बिर्सेछु ।”
नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा यसरी जिज्ञासा राख्दा सहभागी सांसदहरू गल्लल हाँसे । गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भई हाल विचाराधीन रहेको सो विधेयकमा संसदीय इतिहासमै सबैभन्दा धेरै सांसद र धेरै दफामा संशोधन परेकाले सबै संशोधनकर्तालाई छलफलमा एकैपटक बोलाउन नसकिएले पालैपालो समितिमा छलफलका लागि आमन्त्रण गरिएको छ ।
नियमित छलफल नबोलाइने भएकाले आफ्ना पालोमा आएर आफ्नो संशोधन प्रस्तुत गर्ने अवसर मात्रै दिइँदा सांसदहरूले आफ्नै संशोधन बिर्सने स्थिति उत्पन्न भएको हो । सांसद घिमिरेले आफूहरूको कुनै कार्यालय नहुने भएकाले छलफलमा बोलाउँदा संशोधनहरू पनि उपलब्ध गराउन आग्रह गर्दै विधेयकलाई लामो समय विचारधीन राख्दा विषयवस्तुमा पनि हेरफेर आउने टिप्पणी गरे ।
सोही समितिको बुधबारको बैठकमा जनता समाजवादी पार्टीका सांंसद रञ्जुकुमारी झाले पनि आफूहरूले आफ्नै संशोधन के थियो भनेर फेरि कागज पल्टाएर हेर्नुपरेको बताइन् । विधेयकमाथि सरल र छिटो विधिबाट छलफल गरेर टुङ्गोमा लान उनको आग्रह थियो । कुल एक सय ५१ सांसदद्वारा एक हजार सात सय ८२ संशोधन हालिएको सो विधेयकमा हालसम्म २४ जना संशोधनकर्तासँग मात्रै छलफल सम्पन्न भएको छ ।
उक्त समितिका तत्कालीन सभापति भानुभक्त जोशी गत फागुन २३ गते तत्कालीन मन्त्रिपरिषद्मा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएपछि रिक्त पदमा यही चैत ७ गते सांसद अम्मरबहादुर थापा निर्वाचित भएका थिए । नयाँ सभापतिले यही चैत ९ गते बैठक आह्वान गरी विधेयकमा संशोधन हाल्ने सात सांसदसँग छलफल प्रारम्भ गराएका छन् ।
समितिमा गत फागुन २० गते संशोधनकर्ता सदस्यसँग पहिलो छलफल भएकामा त्यसदिन बोलाइएका मध्ये एक सांसदमात्रै उपस्थित भएका थिए । बोलाएका दिन सबै सांसद नआउने र अर्काे दिन नआएका सांसदलाई बोलाउने कि बोलाउन बाँकी रहेकालाई बोलाउने भन्ने विषय समितिका लागि झन्झटको काम भएको छ । एकातिर विधेयक छिटो ल्याउनुपर्ने दबाब अर्कातिर धेरै संशोकनकर्तालाई छलफलमा एकत्रित पार्ने चुनौती समितिलाई रहेको छ । सभापति थापाले हिउँदे अधिवेशनसम्ममा यसलाई किनारा लगाउने र यो विधेयक पारित नभएसम्म आफू मन्त्री हुने अवसर पाए पनि नजाने बैठकमा घोषणा गरिसक्नुभएको छगरेका छन् ।
नेपालको संविधानको मौलिक हक कार्यान्वयनका क्रममा निःशुल्क तथा अनिवार्य शिक्षा ऐन जारी भएको थियो । तत्कालीन शिक्षामन्त्री अशोककुमार राईको कार्यकालमा प्रतिनिधिसभामा दर्ता भई हाल विचाराधीन रहेको विधेयकलाई बहुप्रतिक्षीत विधेयकमा रुपमा लिइएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सांसद रघुजी पन्तले धेरै सांसदमा संशोधन भएको र सबैलाई नियमित बोलाउन नभ्याउने भए मुख्य–मुख्य विवादका सवालमा राजनीतिक दलगत संशोधनकर्ता सांसदको छलफल गरेर ती दलका प्रतिनिधि सांसदले समितिमा नियमित भाग लिएर पनि यसलाई टुङ्गो लगाउन सकिने सुझाव दिए ।
विधेयकमा पेचिला मुद्दा
शिक्षा ऐन, २०२८ मा नवौँ संशोधनका आधारमा सञ्चालन भइरहेको विद्यालय शिक्षालाई संविधानअनुसारको नयाँ कानुन ल्याएर बिरानो कानुन खारेज गर्न लागिएकाले यसमा सरोकारवालाका पनि धेरै चासो छन् । विधेयकमा अधिकांश सांसदका उस्तै र पेचिला मुद्दामा संशोधन परेका छन् । आफ्ना माग र आफूहरुको आन्दोलनपछि भएका सहमतिको पालना भई छिटो विधेयक ल्याउन नेपाल शिक्षक महासंघलगायतले दबाब दिइसकेका छन् भने स्थानीय तहका जनप्रतिनिधिले संविधानमा उल्लेखित विद्यालय तहको आफूहरूको अधिकारमा तलमाथि भए अदालत जाने चेतावनी दिँदै आएका छन् । सामुदायिक विद्यालय शिक्षकहरू आफूहरुको सरुवा, अभिलेखलगायतका काम प्रदेश सरकारबाट गराउन चाहन्छन् । निजी विद्यालयलाई गुठी, कम्पनी या कुन ढाँचामा सञ्चालन गर्ने, संविधानतः निःशुल्क भनिएकाले माध्यमिक तहसम्म निजी विद्यालय सञ्चालन गर्न दिने नदिने, विद्यालय कर्मचारी र बालविकासका शिक्षकलाई दरबन्दीमा राख्ने नराख्ने आदि विवादमा विषय विधेयकमा छन् ।
राहत शिक्षक सङ्घर्ष समितिको मागका आधारमा आन्तरिक प्रतिस्पधार्मा ७५ प्रशितसम्म कोटा दिने सरकारसँगको सहमति कार्यान्वयन गर्न पनि चुनौतीपूर्ण देखिन्छ । शिक्षक, कर्मचारीलगायत कुनै पनि पेसामा राजनीतिक दलको भ्रातृ सङ्गठन कायम नराख्ने भन्ने विषय पनि विधेयकमा सन्दर्भमा पेचिलो विषय बनेको छ ।
सरकारले संसद्मा विधेयक दर्ता गराएपछि असन्तुष्ट महासंघले काठमाडौँकेन्द्रित आन्दोलन गरेपछि गत असोज ५ र १२ गते दुई चरणमा शिक्षक र कर्मचारीका माग र मुद्दामा सहमति भएको थियो । सहमतिलाई मन्त्री राईले प्रतिनिधिसभाकामा सैद्धान्तिक छलफलको जवाफका क्रममा प्रस्तुत गरेका थिए । नयाँ शिक्षामन्त्रीले उक्त सहमतिलाई कसरी स्वामित्व लिने भन्ने पनि स्पष्ट भइसकेको छैन ।
संविधानबमोजिम विद्यालय शिक्षाको राष्ट्रिय मानक तथा मापदण्ड निर्धारण गर्न तथा विद्यालय शिक्षाका मुलभूत विषयमा समता, एकरूपता र गुणस्तर कायम गरी विद्यालयको स्थापना र सञ्चालनसम्बन्धी विषयलाई व्यवस्थित यो विधेयक ल्याइएको हो ।
छलफल शिक्षामन्त्रीको प्राथमिकतामा
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विधेयकमाथिका लगातार दुई दिन भएका समितिको छलफलमा पूरै समय दिएकी छन् । विधेयकमाथि छलफलमा विभागीय मन्त्रीको उपस्थिति अनिवार्य मानिन्छ । यसअघिमा मन्त्रीहरूले छलफलको सुरुमा उपस्थित हुने र त्यसपछि सचिवलगायत कर्मचारीलाई जिम्मा दिएर हिँड्ने गरेकामा मन्त्री भट्टराई सरकारले आदर गर्नुपर्ने निकायका रूपमा संसद् भएकाले आफूले उच्च प्राथमिकता दिने बताएकी छन् । उनले निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ र विद्यालय शिक्षा विधेयक, २०८० बीच सामञ्जस्य खोजेर काम गरिने स्पष्ट पारिन् ।
अघिल्लो सोमबार शिक्षामन्त्री नियुक्त भएपछि पहिलोपटक विषयगत समितिको बैठकमा सहभागी उनले सांसदका सुझावका आधारमा पाठ्यक्रम, परीक्षालगायत मुलुकको शैक्षिक प्रणालीको समीक्षा गरी तदनुरुप काम गर्ने तथा त्यस निम्ति संसद्सँग समन्वय र सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।