काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिक दलमा आबद्ध हुन संविधानले नरोकेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नेकपा एमालेको लोकतान्त्रीकरण विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले संविधानमा नरहेको व्यवस्थालाई कुनै एउटा पार्टीले विधान बनाएर र निर्णय गरेर रोक्न नमिल्ने बताए ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेमा सक्रिय हुन सदस्यता नवीकरण गर्न पहल गरेसँगै नेकपा एमालेले उनको सदस्यता नवीकरण हुन नसक्ने निर्णय गरेको छ । राष्ट्रपति जस्तो गरिमामय पदमा बसिसकेको व्यक्ति पुनः राजनीतिक दलमा आउनुले व्यवस्थामाथि नै प्रश्न उठ्ने एमालेको ठम्याइ छ ।
तर कतिपय एमालेकै नेताहरु भने संविधानले नरोकेको कुरा पार्टीले रोक्न नमिल्ने र सदस्यता नवीकरण हुनुपर्ने माग गर्दै आएका छन् ।
पूर्वराष्ट्रपति भण्डारीले पनि एमालेको सक्रिय नेताको रुपमा आफूलाई प्रचार गर्दै आएकी छन् । सोही बारेमा बोल्दै उपाध्यक्ष पाण्डेले विधान महाधिवेशनमा यसबारे आफूहरुले विषय उठान गर्ने बताए । संविधानले निर्वाचित भएको पद, मनोनीत भएको पद र नियुक्ति भएको पद राष्ट्रपति भएपछि स्वतः जान्छ मात्रै भनेको उनको भनाइ छ ।
लोकतान्त्रिक अधिकारलाई उल्लंघन गर्नेकुरा कुनै राजनीतिक दलहरुले गर्न नहुने पनि उनले स्पष्ट पारे ।