काठमाडौं : आइतबार बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म छलफल गर्दासमेत राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले ‘संघीय निजामती सेवा विधेयक’ पारित गर्न सकेन । विधेयकमा रहेका अधिकांश विषयमा सहमति जुट्यो तर अनिवार्य अवकाशको उमेरहद लागू गर्ने प्रक्रियामा कुरा मिलेन ।
निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेरहद ६० वर्ष राख्ने विषयमा सबै सहमत छन् । हाल अवकाशको उमेरहद ५८ वर्ष छ । यस विषयमा प्रतिनिधि सभामा पनि छलफल भएको थियो । प्रतिनिधि सभाले विधेयक पारित गर्दा विधेयक ऐनमा रूपान्तरित चएर लागू भएको वर्ष ५८ वर्ष नै कायम रहने, अर्को वर्ष ५९ र त्यसपछिको वर्षमा ६० वर्ष लागू हुने भनेको छ । यसअनुसार राष्ट्रिय सभामा पुगेको विधेयकमा फेरि अनिवार्य अवकाशको उमेरहद लागू गर्ने प्रक्रियाको विषयमा दलहरूबीच छलफल भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले विधेयक ऐनमा रूपान्तरित भएर लागू भएको वर्षमा उमेरहद ५९ वर्ष लाग्ने व्यवस्थाका लागि प्रस्ताव गरेकी छन् । ‘सरकारको अनुरोध छ । केही प्रावधिक विषय छन् । विधेयक ऐनमा रूपान्तरित भएको वर्ष अवकाश उमेर ५९ वर्ष लागू हुने भनौं र अर्को वर्षदेखि ६० वर्ष कायम हुने गरौं जाऔं’ विधायन समितिको बैठकमा उनले भनेकी छन् ।
तर, सरकारको यस्तो प्रस्ताव विपक्षी दलहरूले मानेका छैनन् । यसको कारण हो– विधेयक ऐनमा रूपान्तरित भएको वर्ष अनिवार्य अवकाशको उमेर ५९ वर्ष लागू हुने गरिए यसको प्रत्यक्ष लाभ वर्तमान मुख्यसचिव एकनारायण अर्यालसहितका केही सचिवहरूले प्राप्त गर्नेछन् ।
अनिवार्य अवकाशको उमेर ५८ वर्ष नै कायम रहने आगामी मंसिर ९ गते नेपाल सरकारका मुख्यसचिव अर्याल अनिवार्य अवकाशमा जानेछन् । अनिवार्य अवकाशको उमेर ५९ वर्ष बनाइए उनले २०८३ साल मंसिर ९ गतेसम्म काम गर्न पाउनेछन् ।
५८ वर्ष उमेरहद कायम रहे आगामी मंसिर १७ गते हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत कानुनतर्फका सचिव फणिन्द्र गौतम अनिवार्य अवकाशमा जानेछन् । हाल राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगकामा कार्यरत रहेका भरतमणि सुवेदी पनि अवकाशमा जाँदै छन् । राष्ट्रिय योजना आयोगमा कार्यरत सचिव सुमनराज अर्याल आगामी २०८२ माघ १८ गते अवकाशमा जाने सूचीमा छन् ।
आगामी २०८२ फागुन ९ गते राष्ट्रपति कार्यालयमा कार्यरत सचिव डा. रामप्रसाद घिमिरे अनिवार्य अवकाशमा जाँदै छन् । आगामी फागुन २३ गते युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत सचिव डा. हरिप्रसाद लम्साल अवकाशमा जाने सूचीमा छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत सचिव केशवकुमार शर्मा विडारी २०८२ चैत ८ गते, आगामी चैत १४ मा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत सचिव डा. दीपककुमार खराल २०८३ साल असार २० गते हाल राष्ट्रिय तथ्यांक कार्यालयमा कार्यरत सचिव मधुसुदन बुर्लाकोटी अवकाशमा जाँदै छन् ।
हाल श्रम, रोजगार तथा सामाजिक मन्त्रालयमा कार्यरत सचिव कृष्णहरि पुष्कर २०८३ साल असार २३ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन् ।
अनिवार्य अवकाशको मुखमा रहेका मुख्यसचिव अर्यालको कार्यकाल एक वर्ष लम्ब्याउने प्रयास सफल भए हाल बहाल रहेका नौ सचिवलाई पनि लाभ हुनेछ । यसकारण पनि आइतबार विधायन व्यवस्थापन समिति निर्णयमा पुग्न सकेन । नमिलेको विषयमा मिलाउने प्रयासका लागि सोमबार बिहान ११ बजे पुनः बस्ने तय भएको छ ।
राष्ट्रिय सभाको बैठक सोमबार दिउँसो सवा १ बजे बस्दै छ । सो बैठक बस्नु अगाडि विधेयकमा सहमति जुटाउने र विधायन समितिबाट पास गरेर सभामा पेस गर्ने तयारी छ ।
यो विधेयक गत असार १५ गते प्रतिनिधि सभाबाट पास भएर राष्ट्रिय सभामा गएको थियो । प्रतिनिधि सभाबाट पास भएर राष्ट्रिय सभामा गएको ६० दिनभित्र फिर्ता हुनुपर्छ । अन्यथा, प्रतिनिधि सभाले अगाडि बढाउन पाउँछ । यसकारण पनि राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति सोमबार विधेयक पास गरेर अगाडि बढाउनैपर्ने दबाबमा छ ।