२०८२ असोज १७ गते शुक्रवार / Oct 03 , 2025 , Friday
२०८२ असोज १७ गते शुक्रवार
Ads

पूर्वराजाको शुभकामना : सक्रियताको संकेत

shivam cement
दिवाकर अधिकारी
२०८२ असोज १३ गते ०६:१५
पूर्वराजाको शुभकामना : सक्रियताको संकेत

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले दसैंको अवसरमा शुभकामना सन्देश जारी गरेका छन् । जसमार्फत उनले केही सन्देश दिने प्रयास गरेका छन् ।

नयाँ पुस्ताको अभिलाषा समेट्नुपर्ने, बिगार्ने नभएर सपार्नेतिर अघि बढ्नपर्ने आह्वान गर्दै उनले पूर्वजहरूले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुताको रक्षा गर्न दिएको त्याग र बलिदान स्मरण गरेका छन् । नेपालको अस्तित्व, स्वाभिमान र गौरवशाली संस्कृतिको मेरुदण्ड ख्याल गर्नुपर्ने भन्दै उनले नेपाल सदा स्वतन्त्र र स्वाभिमानी राष्ट्रका रूपमा उभिएको बताएका छन् । 

अर्थात्, शुभकामना सन्देशमार्फत पूर्वराजा ज्ञानेन्द्रले आफूलाई राजनीतिक, सांस्कृतिक र सामाजिक भूमिकाबाट पृथक नरहेको सन्देश दिएका छन् । यस्तो शुभकामना सन्देशमा पूर्वराजा शाहको सक्रियता चाहनाको अभास मिल्छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले भूराजनीतिक चक्रब्युहमा नफसी अखण्ड नेपालको नवनिर्माण गर्नुपर्ने पनि बताएका छन् । शुभकामना सन्देश दिँदै शाहले भनेका छन्, ‘कुनै परनिर्भरता वा भूराजनीतिक चक्रब्यूहमा नफसी आफ्नो बाटो आफैं तय गर्ने सामथ्र्य राख्दै अखण्ड नेपाललाई नवनिर्माण गर्नुपरेको छ ।’

नयाँ पुस्ताको अभिलाषा र इच्छालाई राज्य व्यवस्थाले समेट्नै पर्ने भन्दै उनले अब बिगार्ने होइन, सपार्नेतिर अघि बढ्नुपर्ने धारणा समेत राखेका छन् । यहाँनेर उनले जेनजी आन्दोलनलाई समर्थन जनाएको देखिन्छ । 

सरोकारवाला राजा भइसकेको हैसियतले ज्ञानेन्द्र शाहले आफ्नो अभिभावकीय भूमिका देखाउन खोजेको र सक्रियताको प्रयासमा रहेको सन्देश प्रवाह गरेको बताउँछन् । आफूलाई अभिभावकीय भूमिकामा रहेको देखाउँदै त्यही हैसियतमा शान्ति र प्रगतिको कामना गरेका छन् । 

ज्ञानेन्द्र शाह नेपालको इतिहासमा दुईपटक राजा हुने पहिला व्यक्ति र नेपालका अन्तिम शाहवंशीय राजा हुन् । उनी परिस्थितिले दुईपटक नेपालका राजा भएका थिए । तर दुवैपटक परिस्थितिले बाहिरिनुपरेको थियो । २००७ सालमा उनका हजुरबुवा त्रिभुवन र बुवा महेन्द्रले देश छाडेर भारतमा शरण लिन गएपछि राणा शासकहरूले ज्ञानेन्द्रलाई राजा बनाएका थिए । २०५८ सालमा राजा वीरेन्द्रको वंश विनाशपछि ज्ञानेन्द्र दोस्रोपटक राजा भएका थिए ।

२०५८ साल जेठ १९ गते नारायणहिटी दरबारभित्र हत्याकाण्ड भयो । त्यसबेला तत्कालीन राजा वीरेन्द्रलगायत तत्कालीन राज परिवारका अधिकांश सदस्यको हत्या भयो । राजा महेन्द्रका माहिला छोरा ज्ञानेन्द्र राज परिवारको परम्पराअनुसार राजा हुने रोलक्रममा थिएनन् । तर वीरेन्द्रलगायत तत्कालीन राज परिवारका अधिकांश सदस्यको हत्या भएपछि राजा वीरेन्द्रका भाइ ज्ञानेन्द्र दोस्रोपटक राजा भएका हुन् । 

राजा भएपछि ज्ञानेन्दले २०६१ माघ १९ गते प्रत्यक्ष शासन गर्ने उद्देश्यले कदम चाले । तत्कालीन राजनीतिक दलहरूले सो कदमको विरोध गरे । प्रजातान्त्रिक शासन व्यवस्थामाथि हमला गरेको भनेर आन्दोलनमा उत्रे । २०६३ वैशाख ११ मा तत्कालीन राजा ज्ञानेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै जनताको नासो जनतामै सुम्पिएको घोषणा गरे । त्यसपछि तत्कालीन सात राजनीतिक दलले २०६२/६३ मा लोकतान्त्रिक आन्दोलनमार्फत प्रजातान्त्रिक शासन व्यवस्था पुनस्र्थापना गर्दै राजतन्त्रको अन्त्य गरी गणतन्त्रको घोषणा गरे । त्यसपछि राजसंस्था औपचारिक रूपमै ढल्यो र ज्ञानेन्द्र नेपालको अन्तिम राजा बन्न पुगेका हुन् । 

पूर्वराजा भएको दुई दशकसम्म पनि उनी कुनै न कुनै रूपमा अभिव्यक्त भइरहेका छन् । यसपटक पनि पूर्वराजा ज्ञानेन्द्रले दसैंको अवसरमा शुभकामना सन्देश जारी गर्दै सक्रियताको संकेत गरेका हुन् । 

ADV

सम्बन्धित खबर

Advertise