–कौशल गोपालवंशी
काठमाडौं–चितवन जोड्ने राजमार्गमा आषाढ २८ गते परेको अविरल वर्षाको कारणले चितवनको सिमलतालमा आएको पहिरोले काठमाडौंबाट वीरगन्ज र गौरबाट काठमाडौं जाँदै गरेको दुई वटा रात्रि बसलाई पहिरोले एकै पटक त्रिशूलीमा पुर्यायो । पाँच दर्जन बढी यात्रु नदीको भेलसँगै बगे । घटना भएको एक साता बित्दा पनि हालसम्म केहीको मात्रै शव फेला परेको छ । खोजी कार्य भइरहे पनि बाँकीको शव भेटिएला वा नभेटिएला ठेगान छैन ।
यसरी पाँच दर्जन बढीको ज्यान गएको प्राकृतिक प्रकोपमाथि अहिले सबै आम जनता तथा सरोकारवालाको गम्भीरतापूर्वक ध्यानाकर्षण भएको देखिन्छ । भविष्यमा यस्तै किसिमको प्राकृतिक प्रकोपबाट बाँच्नको लागि नेपाल सरकारले तत्काल अति धेरै वर्षाको सम्भावना अर्थात् मौसम विभागले रेड जोन घोषणा गरेको क्षेत्रमा रात्रिकालीन लामो तथा मझौला दुरीको सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । यो आपत्कालीन कदम हो, यो दीर्घकालीन भने होइन । यो लेखमा पहिरोबाट जोगिन अत्याधुनिक प्रविधिको प्रयोगले कसरी जनतालाई पहिरोको पूर्वसूचना प्राप्त गरी धनजनको क्षति हुनबाट रोक्ने विषयमा केन्द्रित रहनेछ ।
१२ मे २००८ मा चीनको बैगेतिवतमा भूकम्पपछि हजारौँको संख्यामा पहिरो आउन थाल्यो । यसरी आएको पहिरोबाट हुन सक्ने धनजनको क्षति रोक्नको लागि त्यहाँ चिनियाँ सरकारले क्षती हुनबाट रोक्यो । यो प्रणाली केएफ–एफएफटि–एसभिएममोडेललाई प्रयोग गरेर निर्माण गरिएको थियो । यो प्रणाली बेईडोउ टर्मिनलर फ्र्याकचर मोनिटरको प्रयोग गरिएका छन् । फ्र्याकचर मोनिटर पुल वाईरद्वारा दुई वटा मेटल पोल जो करिब एक मि. गहिराइमा गाडिएकोसँग जोडिएको हुन्छ । पहिरो आउनु पूर्व हुने जमिनको सतहमा हुने जमिन चाल यी दुई पोललाई जोडिएको तारले त्यसको गति र प्रवेगलाई मापन गरी बेईडोउटर्मिनलमा पठाउँछ । बेईडोउले फ्र्याकचरबाट प्राप्त डाटा मोबाइल नेटवर्क अथवा सेटेलाइटको माध्यमद्वारा कन्ट्रोल ओफिसमा पठाउँछन् र त्यहाँ ऐटोमेटिक एल्गोरिथमवाट विश्लेषण तथा छानबिन गरी पूर्व चेतावनीको सूचना स्थानीय प्रशासनलाई दिने गर्छ ।
सन् २०१८ को जुनदेखि अगस्तसम्म परेको अविरल वर्षापछि भारतको केरला राज्यको इडुक्की जिल्लामा मात्र तीन हजारभन्दा बढी पहिरो गएको थियो । जसमा ५१६ डेब्रिज फ्लोर ६७३ जमिन स्लिप प्रकारको पहिरो गएको थियो । यसरी आएको पहिरोमा १५५ जना सर्वसाधारणको मृत्यु भएको थियो । त्यसपछि अमृता विश्वविद्यालयको अमृता सेन्टर फर वायरलेस नेटवर्क एण्ड एप्लिकेसनले रिसर्च गरी हालसम्मकै अत्याधुनिक प्राविधिकको प्रयोग गरी मेसिन लरनिङ्ग र एआईमा आधारित पहिरोको लागि पूर्व चेतावनी प्रणालीको विकास गरेको छ ।
यी प्रणाली पहिरो सम्भावित ५०० भन्दा बढी साइटमा सेन्सर र फिल्ड मोनिटर जडान गरेको छ । यसरी जडान गरेको सेन्सरले जमिनमा छिरेको वर्षाको पानी, माटोमा भएको पानीको चाप, हलचल, जमिन सतहको हलचल र जमिनको स्लोपको स्थिरताजस्ता अन्य कयौँ कारक तत्वहरूको विश्लेषण गरी फिल्ड मोनिटर अथवा फिल्ड स्टेसनलाई पठाउँछ । त्यसपछि फिल्ड स्टेसनले यी डाटाहरूलाई कन्ट्रोल रुममा पटाउँछन् । यसरी प्राप्त भएको डाटालाई एआई जेनेरेटेड एल्गोरिथमले विश्लेषण गरेर हल्का, मध्यम, अति जोखिम गरी तीन प्रकारले विभाजन गरी स्थानीय प्रशासनलाई पटाउँछन् । यी प्रणालीले प्रकृति प्रकोपबाट हुने धनजनको क्षति घटाएकोले भारत, जापान र अमेरिकाले अमृता विश्वविद्यालयलाई विभिन्न पुरस्कार पनि दिएको छ ।
पहिरो प्रायः तीन कारणले आउने गर्छ । भूकम्प, भारी वर्षा, माईनिङ्ग तथा स्लोप कटिङ । तर, नेपालमा भारी वर्षा र असुरक्षित कटिङको कारण काठमाडौं र–चितवन जोड्ने सडक खण्डमा प्रायः पहिरो आएको देखिन्छ । त्यसैले हामीले पहिरोको सम्भावना भएको क्षेत्रमा भारतको अमृता विश्वविद्यालयले अनुसन्धान गरेर बनाएको पूर्व चेतावनी प्रणालीको विकास गरे भविष्यमा हुनसक्ने धनजनको क्षति रोक्न सकिनेछ । यो प्रविधि अहिलेसम्मकै कम खर्चिलो पनि भएकोले, यो प्रणालीलाई नेपाल सरकारले सजिलैसँग प्रयोग गर्न सकिनेछ । त्यस्तै, नेपालमा बेला–बेलामा आउने भूकम्पको कारणले आउन सक्ने पहिरोको लागि चीनको तिब्बतमा प्रयोग भएको केएफ–एफएफटि–एसभिएम मोडेल प्रविधिको प्रयोग गर्न सकिन्छ ।