–विपिन थापा
कुनै पनि रासायनिक पदार्थ जसको सेवन गर्दा मानिसको केन्द्रीय स्नायु प्रणालीमा असर गरी सेवनकर्ताको भावना सोचाईं तथा शारीरिक अवस्थामा परिवर्तन ल्याउँछ भने यसलाई लागु औषध भनिन्छ । यसले मानसिक चेतना, अनुभूति र मनोभावनालाई प्रभावित पारी बुझ्ने, सम्झने र सोच्ने शक्तिलाई विकृत तुल्याउँछ । युवाहरूलाई राज्यको कर्णधारको रूपमा लिइन्छ । स्वास्थ्य युवाहरू देशका कर्णधार हुन्छन्, तर देश विकासका आधार शक्ति नै जोखिम तथा धरापमा परेर राज्यले ठुलो सङ्कट बेहोर्नुपर्ने हुन्छ ।
नेपालको विशेष गरी मध्य क्षेत्रका केही जिल्लामा युवाहरू दुर्व्यसन तथा एच.आई.भी.को सबैभन्दा बढी जोखिममा रहेको पाइन्छ । एच.आई.भी सङ्क्रमणको प्रमुख कारक असुरक्षित यौन सम्पर्क हो भने दोस्रो कारकको रूपमा सुईद्वारा लागु औषधको प्रयोग पनि हो । सानो उमेरका प्रयोगकर्ताहरू एच.आई.भी.को जोखिममा पर्ने डरलाग्दो अवस्था मान्नु पर्दछ । यस्ता युवा गरिब तथा ग्रामीण बस्तीमा रहेको पाइन्छ । तथ्याङ्कलाई केलाउँदा जोखिममा रहेका युवाहरूमा महिलाको अनुपात पनि भयावह खालको छ । राष्ट्रको मेरुदण्डको रूपमा रहेको युवा शक्तिहरू यसरी पथ भ्रष्ट भएर हिँड्नु राष्ट्रकै चिन्ताको विषय हो ।
लागु औषधको जोखिम जुनसुकै उमेर, लिङ्ग, वर्ग र पेसा समूहको व्यक्तिलाई पर्न सक्दछ । तर केही कारणहरू छन् जसले गर्दा लागु औषधको जोखिम बढाउन मद्दत गर्दछ । लागु औषध प्रयोग गर्ने साथीहरूको सङ्गत, फेसन, मिडिया, बढ्दो सामाजिक कुरीति, विवाह, व्रतबन्ध, अन्नप्राशन तथा विभिन्न शुभ कार्यहरूमा मादक पदार्थ तथा सुर्तीजन्य पदार्थको प्रयोग बढ्दै जानु र विभिन्न धार्मिक कार्यहरूमा गाँजा, भाङ्ग धतुरोको प्रयोगलाई सामान्य परम्पराको रूपमा लिनु, चुरोट तथा मदिराको विज्ञापनमा प्रसिद्ध कलाकारहरूलाई प्रयोग गरिनु र त्यसको नक्कल गर्ने बानीले पनि लागु औषधको सिकार हुने सम्भावना प्रबल रहेको पाइन्छ । समयसापेक्ष ढङ्गले नेपालमा महिला लागु औषध प्रयोगकर्ता पनि बढ्दै गएको पाइन्छ । लागु औषध प्रयोग गर्नेमा पुरुषभन्दा महिलाहरूको सङ्ख्या कम छैन तर, उपचारमा आउने महिलाको सङ्ख्या भने निकै न्यून छ । त्यसैले गर्दा महिला दुर्व्यसनी हुनु र एच.आई.भी. सङ्क्रमित हुनु निकै नै जोखिमपूर्ण विषय हो ।
विश्व स्वास्थ्य सङ्गठनले ‘रक्सी र लागू पदार्थ निर्भरता एक रोग हो’ भनेर वर्णन गरी सक्दा पनि दुर्व्यसनी महिलाहरू घरका कोठाभित्र र गल्लीहरूभित्र आफूलाई लुकाउँदै बसिरहेको अवस्था छ । पुरुषहरूको उपचार केन्द्रको तुलनामा महिला उपचार केन्द्र त झनै न्यून छन् । उनीहरूलाई उपचार केन्द्रमा नल्याउनु तथा नजानु त छँदै छ, उपचार गर्न जान चाहने महिलाहरूलाई पनि देशका मुख्य सहरहरूमा उपचार केन्द्र नहुँदा र उपचार हुन्छ भन्ने अज्ञानताको कारणले गर्दा अकालमै ज्यान गुमाउन विवश छन् ।
पुरुष लागु औषध प्रयोगकर्ताहरू आफूलाई सहयोग गर्ने समूहहरू निर्माण गर्दै उपचारको पहुँचसम्म पुग्न सक्छन् । यद्यपि, महिलाहरूको हकमा भने उनीहरू त्यसरी अवसर प्रयोग गर्न सक्दैनन् । लागु औषध प्रयागकर्ता भनेर आफन्त तथा चिन्ने जान्नेले देख्दा आफूलाई हेर्ने दृष्टिकोण गलत हुने डरले महिलाहरू खुल्दैनन् । त्यस कारण उनीहरू बढी जोखिममा परिरहेको अवस्था छ । यदि उनीहरूले पनि सङ्गठित भएर आपसमा विचार, अनुभव आदान–प्रदान गरी आफूलाई सबल र सङ्गठित बनाउने वातावरण पाएको खण्डमा उठ्न सक्षम हुने कुरामा दुई मत छैन ।
त्यसैले महिलाहरूमा पनि सहज रूपमा सहभागी गराई अनुभव वा विचारहरू व्यक्त गर्ने तथा लिने वातावरणको खाँचो छ । उनीहरू यसरी बैठकमा गए फलानाको छोरी लागु औषध प्रयोगकर्ता भनेर थाहा पाएमा बाबुआमाको इज्जतमा दाग लाग्दछ भन्ने आम धारणा छ । विडम्बना के छ भने महिला लागु औषध प्रयोगकर्ताहरूको उपचार एवम् सहयोगका लागि एकाध बाहेक अहिलेसम्म कुनै पनि आमाबुबा वा आफन्त अघि सर्दैनन् । यसको एउटा कारण त के पनि हो भने महिलाले कडा खाले कुनै पनि किसिमको लागु औषध सेवन गर्दैनन् भन्ने भ्रम पनि छ ।
महिला हुन् या पुरुष, लागु औषध प्रयोगकर्ताहरू पनि यसै समाजका सदस्य हुन् । सबै मान्छेको सोच्ने शक्ति र जिउने तरिका एउटै हुँदैन । र कोही पनि मान्छे जान्दा जान्दै वा बुझ्दा बुझ्दै लागु औषधको दलदलमा फस्दैन । विविध कारण र परिस्थितिले लागु औषधमा फसेर उन्मुक्ति नपाइरहेकाहरूको उद्धार र सहयोग गर्नु हामी सबैको मानवीय धर्म हो । त्यसैले यदि तपाईँका वरपर वा छरछिमेकमा त्यस्ता व्यक्तिहरू, जो तपाईँका दिदीबहिनी, श्रीमती, भाउजू, नजिकका महिला नातेदार वा छिमेकी होलान्, तिनलाई लागु औषधको दलदलबाट जोगाउन र नयाँ जीवन दिन तपाईँ एक आदर्श नागरिकको भूमिका बहन गर्न सक्नुहुन्छ ।
भोलीको कर्णधार युवाहरू दिन दुई गुणा रात चार गुणाको दरले लागूपदार्थको प्रयोगको दुनियाँमा फस्दै गएकोले देशको आर्थिक, सामाजिक लगायत हरेक पक्षमा नकारात्मक असर पुगिरहेको छ । महिलाको अवस्था अझ जटिल रहेको छ । अतः महिलाहरू पनि लागु औषधको रोगबाट अछुतो छैनन् भन्ने कुरा जनमानसमा बुझाउनुपर्ने र लागु औषध प्रयोगकर्ताहरूको जीवनस्तरमा सुधार ल्याइ लागूपदार्थको लतबाट मुक्त गर्न सरकारले रोजगारीको अवसरहरूमा वृद्धि गर्नुपर्ने साथै निःशुल्क उपचार सेवा प्रदान गर्नुपर्ने देखिन्छ । सरोकारवालाहरूले लागु औषधको लतबाट मुक्त गर्न शिक्षामूलक कार्यक्रमहरूसहित निःशुल्क उपचार सेवा सञ्चालन तथा वैज्ञानिक तरिकाले लागु औषध प्रयोगकर्ताहरूको हक र हितको विषयमा र प्रयागकर्ताको अवस्था बुझ्नको लागि प्रभावकारी खोज अनुसन्धान वैज्ञानिक तरिकाको रिसर्च गर्ने योजना बनाउनुपर्ने देखिन्छ ।
(थापा, साइकोथेरेपिस्ट हुन् ।)