–नारायण गाउँले
असहाय र राज्यविहीन नेपाली मूलका भुटानी नागरिकहरूलाई हामीले सुरक्षित फर्काउन या देशमै नागरिकता दिन नसकेपछि कम्तीमा दोस्रो पुस्ताको भविष्य अन्धकार नहोस् भनेर साइनो नै नभएका युरोप र अमेरिकाले मानवता देखाउँदै तिनलाई शरण दिएका थिए । जबकि हाम्रो त रगत, भाषा र भावनादेखि जातीय साइनो सबै थियो । नेपाल रहुन्जेल पनि तिनलाई हामीले पालेका थिएनौँ । बाहिरबाट आउने सहयोग हाम्रो कमिसन कटाएर त्यहाँ पुग्थ्यो !
तर हामीले त्यस्तो मानवीय सहयोगमा पनि दानवी चरित्र देखायौँ । राज्यविहीन भुटानी नागरिकको कोटामा हामीले केही लाख पैसामा र्याल चुहाएर आफ्नै नागरिकलाई बेच्यौँ । त्यो बेच्ने काम पनि हामी गरिब भएर या गरिबले गरेको नभई झन्डा हल्लाउँदै सरकारी गाडी चढ्ने हाम्रा धनाढ्य मन्त्री र नेताले गरेको हो । गरिबसँग लाखौँ रुपियाँ हुने कुरो भएन, न त्यति उच्चस्तरका मान्छेसँग तिनको सम्पर्क हुन्छ । राज्य नै किर्ते काममा लागेको यो घटनाले हाम्रो मन त कति पोल्यो थाहा भएन, यति धेरै धोका र उपेक्षा हुँदा पनि आफूलाई ‘नेपाली’ ठान्ने भुटानी नागरिकको मन भने पक्कै पोल्यो होला । यसभन्दा घटियापन अरू के होला ?
भर्खरै उपसभामुखले आफ्नै लेटर प्याडमा एउटा दूतावासलाई भिसाका लागि चिठी लेखेको खबर बाहिर आयो । सर्वोच्चका न्यायाधीशदेखि अख्तियार प्रमुखसम्म सिफारिस गर्ने देशकै माथिल्लो संवैधानिक परिषद्को एउटा सदस्यले झुटो विवरणसहित एउटा दूतावासमा भिसामा लागि पत्र लेख्नु राज्यकै बेइज्जती हो । आफूले नचिनेका र कार्यक्रमसँग सम्बन्ध नै नभएका व्यक्तिलाई ‘आफूसँगै कार्यक्रममा सहभागी हुने’ भनेर चिठी लेख्नु पदको दुरुपयोग मात्रै होइन, देशको प्रतिष्ठा र विश्वसनीयताप्रतिको खेलबाड हो । अझ त्यसमा पैसाको खेल पनि मिसिएको गन्ध आउनुलाई के भन्नु ।
हाम्रा सांसद र मन्त्रीले विगतमा रातो पासपोर्टको दुरुपयोग गरेको खबर हाम्रो मस्तिष्कमा नहोला, दूतावासहरूको रेकर्डमा छँदै छ । अझ कुनै देशको कानुनअनुसार भिसाका लागि अयोग्य भएका व्यक्तिलाई भिसा नदिएको भन्दै हाम्रा सांसद र मन्त्री रत्नपार्कमा टेम्पु जलाउन गएका घटना पनि याद होलान् । कति धेरै खेलाडी, पत्रकार, कर्मचारी बाहिर लुकेर बसेका घटना पनि घट्दै गरेका वर्तमान हुन् । बेलायतका लागि नेपाली राजदूत नै शरणार्थी बनेर यतै लुकेको इतिहास छ ।
अब एक छिन यस्ता घटनालाई खुला मनले गमेर हेर्नु भयो भने हामीलाई कसले पत्याउला र किन पत्याउला ? हाम्रो कागज सही हो या होइन भन्ने बाहिरको एउटा कर्मचारीले कसरी छुटाउला ? देशको गृहमन्त्री र सचिवले नक्कली कागज बनाएर मान्छे बेच्ने देशमा कस्तो प्रमाणपत्र र चिठी विश्वसनीय होला ? ‘मन पग्लियो’ भनेर सोझै दूतावासमा चिठी लेख्ने उपसभामुख भएको देशमा कुन पद, कुन थिति र कुन प्रक्रिया भरपर्दो होला ?
हामी विश्वकै गरिब देश होइनौँ, हामीमाथि झन्डै चालिस गरिब देश छन् । न हामी असुरक्षित या ठुलो द्वन्द्वग्रस्त मुलुक हौँ । हामीकहाँ भोकमरीको अवस्था पनि छैन । औसतमा हामी शिक्षित नै छौँ । तर, पनि हाम्रो पासपोर्ट विश्वकै कमजोरमध्ये एक हुनु दुर्भाग्य नै हो । र, त्यो लेख्ने हामी नै हौँ ।
एउटा खेलाडी लुक्नुले अलिकति असर गर्दो हो, तर देशकै उच्च ओहोदामा बस्नेहरूले यसरी नीचता देखाएपछि त्यसको ड्यामेज दीर्घकालीन हुन्छ । हामी दयामाया, मानवता, आफ्नो मूलप्रति ममता या विधिप्रति श्रद्धा नभएका स्वार्थी र पैसाका लागि जति तलसम्म पनि गिर्न सक्ने प्राणीका रूपमा चिनिन्छौँ, चिनिइरहेछौँ !
(लेख, गाउँलेको फेसबुक वालबाट साभार ।)