
काठमाडौं : जेनजी आन्दोलन हुनुको मुख्य कारण हो– राजनीतिक दलहरू जनताको इच्छा र आकांक्षा सम्बोधन गर्नमा कम र दलीय स्वार्थमा ज्यादा लागे । यही सन्देश दिन सडकबाटै संघीय सरकार अपदस्थ भयो । प्रतिनिधि सभामा बहुमत जुटाएर बनेका दुई तिहाइ बहुमतको केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनाए । तर मधेश प्रदेशमा चलिरहेको राजनीतिक रस्साकस्सी हेर्दा भने दलहरूले जेनजी आन्दोलनको म्यान्डेड ख्याल गरेको देखिँदैन ।
२०७९ मंसिर ४ गतेको चुनावपछाडि करिब तीन वर्षमा तीनवटा सरकार बनेर ढलिसकेका छन् भने चौथो सरकार गठनका लागि रस्साकस्सी चलिरहेको छ ।
चुनावलगत्तै सरोजकुमार यादव मुख्यमन्त्री बने । उनलाई सरकार बनाउने दलहरूको गठबन्धन लामो समय टिकेन । त्यसपछि सतिशकुमार सिंह मुख्यमन्त्री बने । उनी पनि संसदीय अंकगणितले ढले । त्यसपछि जितेन्द्रप्रसाद सोनल नेतृत्वमा सरकार बन्यो । यो पनि ढल्यो र तीन वर्ष नपुग्दै चौथो सरकार गठनका लागि रस्साकस्सी चलिरहेको छ । पछिल्लो अवस्थासम्म आउँदा कुनै पनि दल कुनै पनि दलसँग गठबन्धन गर्नबाट बाहिर छैनन् । सबैभन्दा ठुला दल कांग्रेस र एमालेले मात्रै पनि सरकार बनाउन सक्ने अवस्था छैन । कांग्रेस र एमालेबाहेकका दलहरूको समर्थनमा बनेको सोनल नेतृत्वको सरकार पनि एक महिना टिक्न सकेन ।
प्रयोग हुन सक्ने सबै प्रकारका अभ्यास गरिसके तापनि दलहरू फेरि संसदीय अंकगणितकै खेलमा छन् । यसपटक मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाबारे बहस सुरु भएको छ । विश्वासको मत नलिँदै मुख्यमन्त्री सोनलले राजीनामा दिएपछि नयाँ सरकार गठन प्रक्रियाबारे बहस सुरु भएको हो ।
सोनल संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनले राजीनामा दिएपछि फेरि दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाउने कि सबैभन्दा ठुलो दलको नेतृत्वमा सरकार बनाउने भनेर बहस सुरु भएको हो ।
जुन प्रक्रियाबाट नयाँ सरकार बनाए तापनि फेरि विश्वासको मत पाउने अवस्थामा समस्या खडा भएको छ । यसले मधेश प्रदेशमा सरकार गठनमै सकस पैदा भएको हो ।
नेकपा एमाले, जसपा नेपाल र लोसपा नेपालका एक÷एक जना प्रदेश सांसद निलम्बनमा छन् । यसपछि १ सय ७ सदस्यीय मधेश प्रदेश सभामा हाल १ सय ४ सांसद कायम छन् ।
१ सय ७ सदस्यीय प्रदेश सभामा नयाँ सरकार गठनका लागि ५४ जना सांसदको समर्थन चाहिन्छ । मधेश प्रदेश सभामा हाल एमालेका २३ र कांग्रेसका २२ र राप्रपाका एक जना सदस्य छन् । यसबाहेकका दलहरूले पनि सरकार बनाएर विश्वासको मत पाउन नसकेको अवस्था छ । किनभने सोनल बाँकी दलका सांसदहरूको समर्थनमा मुख्यमन्त्री भएका थिए ।
मधेश प्रदेशमा देखिएको राजनीतिक संकटको कारण र उदाहरण जेनजी आन्दोलनपछि पछाडि पनि दलहरू नसुध्रिएको प्रमाण भएको नेता बताउँछन् । प्रदेश सभा सदस्य रहोवर अन्सारीले त जेनजी आन्दोलनपछि पनि दलहरू नसुध्रिएको भनेर आफैंले अनुहारमा मोसो दलेर विरोध जनाएका छन् ।