
रोल्पा : रोल्पाको माडी गाउँपालिका–२ का वडा अध्यक्ष ललित घर्ती मगरले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
विज्ञप्तिमा उनले भनेका छन्, “म २०७९ सालको स्थानीय तह निर्वाचनमा माडी गाउँपालिका-२ का वडा अध्यक्षमा जनताको अमूल्य मतदानबाट निर्वाचित भई स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा नेपालको संविधान २०७२ अनुसार आफ्नो अधिकार र दायित्वभित्र रहेर जनताको सेवा गर्दै आएको थिएँ । तर हाल उत्पन्न परिस्थितिले गर्दा म आफ्नो पदबाट राजीनामा दिन बाध्य भएको छु ।”
उनका अनुसार, माडी गाउँपालिकामा जेनजी पुस्ताले कात्तिक १४ गते ८ बुँदे मागसहित एक साताभित्र सर्वपक्षीय छलफलको माग गरेकोमा पालिकाले त्यसमा कुनै प्रतिक्रिया नदिँदा असन्तुष्टि बढेको थियो । त्यसपछि जेनजी समूहले कात्तिक २३ गते आन्दोलन थालेको र उक्त आन्दोलन स्थगित गराउन गाउँपालिका अध्यक्षले आफूलाई जिम्मेवारी दिएको उनले बताएका छन् ।
“आन्दोलन स्थगित गर्ने क्रममा कात्तिक २५ गते सर्वपक्षीय छलफल गर्ने सहमति भए पनि आजसम्म त्यसको तयारी नगरिएको र नैतिक प्रश्न उठाइएका कारण म पदबाट राजीनामा दिन बाध्य भएको छु,” विज्ञप्तिमा भनिएको छ ।
माडी गाउँपालिकामा करिब ३६ लाख रुपैयाँ हिनामिनाको मुद्दा उठाउँदै जेनजी समूहले निरन्तर आन्दोलन गर्दै आएको छ । घर्ती मगर नेकपा माओवादी केन्द्रबाट २०७४ र २०७९ सालमा लगातार दुई कार्यकाल वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
यसअघि, थबाङ गाउँपालिका–१ र २ का वडा अध्यक्षहरूले पनि माग पूरा नभए सामूहिक राजीनामा दिने चेतावनी दिएका थिए ।
थबाङ–२ की वडा अध्यक्ष अभिलाषा रोका मगरले कात्तिक १३ गते वडा कार्यालय बन्द गरी चाबी गाउँपालिकामा बुझाएकी थिइन् । उनका अनुसार, गाउँपालिकाले ग्रामीण सडक, केन्द्रीय विद्युत् प्रसारण लाइनलगायतका विकास कार्यमा ध्यान नदिँदा स्थानीयवासीले लामो समयदेखि समस्या भोग्दै आएका छन् ।
त्यस्तै, थबाङ–१ का वडा अध्यक्ष हिरा प्रसाद बुढा मगरले पनि सोही दिन वडा कार्यालय बन्द गरी चाबी गाउँपालिकामा बुझाएका थिए । उनले नेपाल विद्युत् प्राधिकरणको रोल्पा वितरण केन्द्रसँग विद्युत् आपूर्तिको सम्झौता २०८१ सालमै भएको तर लाइन तान्ने काम नहुँदा जनजीवन प्रभावित भएको बताएका छन् ।
उनले कात्तिक १२ गते जारी गरेको विज्ञप्तिमा भनिएको छ, “स्थानीय जनताको बारम्बारको माग बेवास्ता गरिएको र पहल नगरेकाले २०८२ साल कार्तिक १३ गतेदेखि वडा कार्यालय बन्द गरिएको हो ।”
तर हाल थबाङ–१ र २ दुबै वडा कार्यालय सञ्चालनमा फर्किएका छन् । वडा अध्यक्षहरूका अनुसार, गाउँपालिकाले कार्यपालिकाको बैठक डाकी उनीहरूको एजेन्डा माथि छलफल गरी समाधानको बाटो निकालेसँगै कार्यालय पुनः सञ्चालनमा ल्याइएको हो ।