२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

चर्को स्वरमा डिजे बाजाउनेलाई ५ वर्ष कैद, ५० हजार जरिवाना

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ साउन ९ गते १३:४९
चर्को स्वरमा डिजे बाजाउनेलाई ५ वर्ष कैद, ५० हजार जरिवाना

रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक बाटो, सडक, विद्यालय, सरकारी कार्यालयलगायतका स्थानहरूमा सर्वसाधारणको जनस्वास्थ्यमा जोखिम बढ्न सक्ने गरी चर्को ध्वनिमा अभद्र र उच्छृंखल प्रकारको डिजे साउण्ड नबजाउन आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले एक सूचना जारी गरेर डिजे बाजाले सामाजिक तनाव तथा द्वन्द्वको वातावरण सिर्जना हुने गरेको, समाजमा मानसिक तथा शारीरिक समस्या उत्पन्न भएको, झै–झगडाका घटनाहरू बढेको, विद्यार्थीहरुको पठनपाठन तथा सरकारी कार्यालयहरुको कामकाजमा असर परेको र ध्वनि प्रदूषणले जनस्वास्थ्यमा प्रतिकूल असर पारेको भन्दै डिजे साउण्ड नबजाउन आग्रह गरेको हो ।

चर्को ध्वनिमा अभद्र र उच्छृंखल प्रकारको डिजे साउण्ड बजाएर समाजमा प्रतिकूल असर पार्ने कार्य गरेमा प्रचलित कानूनबमोजिम कारबाही हुनेसमेत जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा ११२ मा वातावरण प्रदूषित गर्न नहुने भन्ने व्यवस्था र सोही दफाको उपदफा (२) मा अधिकार प्राप्त अधिकारीको इजाजतबिना यान्त्रिक साधनबाट ध्वनि, रेडियोकर्मी विकिरण वा जोखिमपूर्ण फोहोर मैलाको उत्पादन, प्रसारण ओसारपसार गर्न आउन वा थुपार्न नहुने र सोही दफाको उपदफा (४) मा यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ ।

यसैगरी मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२४ मा सार्वजनिक उपद्रयाई गर्न नहुने व्यवस्था रहेको र सोको उपदफा (२) मा कसुर गर्ने व्यक्तिलाई २५ हजार रुपैयाँ जरिवाना हुने व्यवस्था रहेको समेत प्रहरीले प्रेस नोटमा उल्लेख गरेको छ । वातावरण संरक्षण ऐन, २०७६ को परिच्छेद ३ को दफा १५ को उपदफा १ बमोजिम नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै सवारी साधन, यन्त्र, उपकरण औद्योगिक प्रतिष्ठान, होटल, रेष्टुरेन्ट वा अन्य स्थान वा मालवस्तु वा कुनै क्रियाकलापबाट हुने प्रदूषण नियन्त्रण गर्ने व्यवस्था रहेको र सो विपरीत कार्य गर्नेलाई यसै ऐनबमोजिम न्यूनतम ५ लाख रुपैयाँ जरिवाना र क्षतिपूर्तिदेखि अधिकतम ५० लाखसम्म जरिवाना तथा क्षतिपूर्ति भराउने कानूनी व्यवस्था रहेको समेत प्रेस नोटमा जनाइएको छ ।

ध्वनि प्रदूषणको कारण झिझ्याहट हुने, मानसिक समस्यामा वृद्धि हुने, गर्भवती महिलाहरूमा गर्भ खेर जान सक्ने समस्या हुने, मुटु रोगीहरूमा समस्या हुने, कान सुन्न सक्ने क्षमतामा कमी आउने, वृद्ध वृद्धाहरूको स्वास्थ्यमा समस्या हुने, बालवालिकाहरूमा रातिको समयमा बेचैन र अनिद्रा हुने,अनावश्यक अभद्र र उच्छृंखल गीत संगितले समाजिक सद्भावमा खल्ल पुग्ने, अस्पतालमा भएका बिरामीहरू र विद्यालयमा पढिरहेका विद्यार्थीहरूलाई असर पर्ने प्रहरीले उल्लेख गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise