
बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकामा बालविवाह न्यूनीकरण परियोजनाअन्तर्गत विद्यालय तथा युवा महिलाद्वारा सञ्चालित व्यवसायहरूको अनुगमन गरिएको छ ।
प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप)को साझेदारीमा सञ्चालित परियोजनाअन्तर्गत अनुगमन टोलीले गेरुवा–४ गिदरपुरस्थित सरस्वती आधारभूत विद्यालय र गेरुवा–५ मा युवा अन्जु थारुद्वारा सञ्चालित बंगुर फारमको अवलोकन गरेको हो ।
विद्यालयका प्रधानाध्यापक नारायण पौडेलका अनुसार परियोजनाको सहयोगमा विद्यालयमा आचारसंहिता र बाल संरक्षण नीति तयार गरी कार्यान्वयनमा ल्याइएको छ । साथै बाल क्लब गठन गरी विभेदरहित सिकाइ वातावरण निर्माण र बाल संरक्षणका विषयमा निरन्तर पैरवी हुँदै आएको जानकारी उनले दिए ।
विद्यालयमा फोकल शिक्षक, गुनासो पेटिका, आराम कक्ष तथा स्यानिटरी प्याडको व्यवस्था गरिएको छ । त्यस्तै, विपद् व्यवस्थापन योजना पनि विद्यालय सुधार योजनामा समावेश गरिएको छ ।
अन्जु थारुद्वारा सञ्चालित बंगुर फारमको पनि टोलीले निरीक्षण गरेको थियो । फारममा युवतीहरूको उद्यमशीलता विकास र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्य राखिएको परियोजनाका प्रतिनिधिहरूले जानकारी दिएका छन् ।
गाउँपालिका अध्यक्ष जमानसिंह के.सी.का अनुसार बालविवाह अन्त्यका लागि पालिकाले निरन्तर प्रयास गरिरहेको छ र आगामी दिनमा यस अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाइनेछ ।
अनुगमन टोलीमा अध्यक्ष के.सी., उपाध्यक्ष लक्ष्मी चौधरी, शिक्षा शाखा प्रमुख नवराज अधिकारी, महिला तथा बालबालिका शाखा प्रमुख रमा पुन मगर, र साझेदार संस्थाका प्रतिनिधिहरू सहभागी थिए ।