२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

प्रधानमन्त्रीलाई खुला पत्र : ऐतिहासिक अवसरको सदुपयोग होस्

ADV
२०८१ साउन १० गते ०६:२५
प्रधानमन्त्रीलाई खुला पत्र : ऐतिहासिक अवसरको सदुपयोग होस्

–खिमराज गिरी 

प्रधानमन्त्री ज्यू अभिवादन,

गत साता मात्र प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामनासहित अहिले तपाईँ नेतृत्वको सरकारलाई यही पत्रमार्फत केही सल्लाह र सुझाव दिन चाहन्छु । 

वास्तवमा देशमा शाह वंशीय शासनलाई हत्याएर राणाहरूको करिब १०४ वर्षे जहानियाँ शासन व्यवस्था चल्यो । तैपनि उक्त समयमा श्री ३ जङ्गबहादुर राणाको जानी या नजानी बेलायत यात्राको क्रममा भएका उपलब्धि भनेको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा गाभ्न सक्नु, भलै ढिलै प्रयोगमा आए पनि बेलायतबाट गिद्धे प्रेस ल्याउनु, विदेशमा जाँदा नेपालका शासकहरूको जिम्मेवार बोध गराउने शैलीबाट उनी टाढिएनन् । तथापि,  जङ्गबहादुरले रोपेको जहानियाँ राणा शासनको वृक्ष वि.सं. २००७ सालको आन्दोलनले बढारियो ।

राणा हटे र प्रजातन्त्र आयो । जनताले ठुलो जित हात पारेको अनुभूतिसहित उल्लास मनाए । 

यद्यपि, व्यवस्था परिवर्तनको त्यो दशक जनतामा झन् निराशाको बादल मडारिन पुग्यो । जसको परिणाम स्वरूप पञ्चायती व्यवस्था आयो, राणाको ठाउँमा राजा आए । शासनको बागडोर सम्हालेका राजाले दलहरूमाथि प्रतिबन्ध लगाए । योबिच कम्युनिस्ट तथा प्रजातन्त्रवादीहरूको नेतृत्वमा जनता प्रजातन्त्र प्राप्तिको लागि आन्दोलनमा उत्रिए । राजाको शासन हटाउनकै निम्ति जनताले ठुलो त्याग र बलिदानी गर्नुपर्‍यो ।

त्यो सङ्घर्षका बिच तपाईँको जेल जीवन पनि पर्दछ । तपाईँको १४ वर्षे कठोर प्रकृतिको जेल जीवनलाई सामान्य मान्न मिल्दैन । तपाईँजस्तै धेरै, तपाईँभन्दा पनि धेरै पीडित भए । हुन त यसलाई पीडा होइन, त्याग र बलिदानी भन्नुपर्छ । ३० वर्षे पञ्चायती शासन फाल्न सानो सङ्घर्षले सम्भव भएको होइन । नेपाली काँग्रेस र संयुक्त वाम मोर्चासहित अन्य शक्तिहरू पनि जसको लागि सहयोगी बने । सायद, बौद्धिक वर्ग सक्रिय नभइदिएको भए, आन्दोलन निर्णायक बन्न सक्ने थिएन ।

आन्दोलनको सफलतापश्चात् व्यवस्था मात्रै बदलिएन नेपालको राजनीतिक कोर्स पनि बदलियो । कम्युनिस्टहरू शान्तिपूर्ण प्रतिस्पर्धात्मक व्यवस्थामा आए भने अन्य थुप्रै प्रजातन्त्रवादी धाराहरू पनि सिर्जना भए । विभिन्न कम्युनिस्ट घटक र माले मिलेर नेकपा (एमाले) बन्यो । मदन भण्डारीको उदय पनि यही कालखण्डमा भएको थियो । जसको अहिलेसम्म पनि उत्तिकै सम्मान गरिन्छ ।

कम्युनिस्टलाई शान्तिपूर्ण प्रतिस्पर्धाको धारामा ल्याउने भण्डारीको अवसानपश्चात् एमालेभित्र निरङ्कुश शैलीको उदय भयो । लाग्छ, तपाईँको योगदान र प्रखरतालाई पनि त्यतिखेरदेखि नै दबाइएको थियो । तत्पश्चात् नेपाली राजनीतिमा भएको उतारचढाव, सामाजिक द्वन्द्व, विदेशी चलखेल जस्ता कुराले पार्टी र सरकारलाई स्थिरता सकेन । राजनीति लयमा अगाडि बढ्न सकेन । राजनीतिमा फेरि भिन्न परिस्थितिको सिर्जना भयो । 

१० वर्षे सशस्त्र द्वन्द्व अनि राजाको निरङ्कुश अभ्यास, यही बिचमा देखा परे । यही घटनाक्रमकै बिच देशले पनि नयाँ राजनीतिक कोर्समा आफूलाई लैजान सफल भयो । जहाँ तपाईँ पनि सँगसँगै हुनुहुन्छ । ठुलो त्याग र बलिदानबाट प्राप्त यो व्यवस्थाको आज नेतृत्वकर्ताको रूपमा तपाईँ विराजमान हुनुहुन्छ । 

२०२७ सालदेखि सुरु भएको तपाईँका राजनीतिक जीवनको आरोह–अवरोह सामान्य छैन । पूर्ण कालिन राजनीतिक जीवन सुरु गरे लगत्तै २०३० सालमा जेल चलान, २०४४ सालमा जेलबाट मुक्त, लगत्तै पार्टीको सक्रिय राजनीति । ०४७ सालमा युवा सङ्घको संस्थापक अध्यक्ष, २०४८ सालमा पहिलो पटक सांसदमा निर्वाचित भई २०५१ सालमा सरकारको गृहमन्त्री पनि हुनुभयो । यसरी २०७१ सालमा एमाले अध्यक्षमा निर्वाचित भई २०७२ सालमा पहिलो पटक प्रधानमन्त्री बन्न सफल हुनुभयो । २०७४ मा दोस्रो, २०७८ मा तेस्रो र हाल यही असार ३१ गते मात्र नेपालको कम्युनिस्ट इतिहासमा सबभन्दा बढी चौथो पटक प्रधानमन्त्री हुन सफल हुनुभयो । 

यसरी १५ वर्षको उमेरदेखि नै सङ्गठित राजनीतिमा लागेर देश र जनताको लागि जुन बलिदानी दिनुभयो त्यसमा अन्य प्रधानमन्त्रीको तुलनामा राष्ट्रियताको मामलामा २०७२ सालको नाकाबन्दी, देशले गुमाएको भूभाग लिपुलेक र लिम्पियाधुरा नेपालको हो भनेर गरिएको दाबी तथा संसदीय प्रक्रिया, त्यस्तै विकासका काममा जसरी स्व.कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौँमा ल्याउने सपना देख्नुभयो र अहिले साकार भयो, त्यस्तै तपाईँले पनि सुरुङ मार्ग निर्माण, रेल, पानीजहाज, व्यापार, उत्तरी नाकाबारे, देशका विभिन्न जिल्लामा भएका सडक विकासका कार्यहरू, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम आदि राम्रा पक्षका कार्यहरू नेपाली जनताले भुल्न सक्दैनन् ।

तथापि, नेपालको राजनीतिमा देखिएको उतारचढाव र अझ पनि नेपाल गरिब देशमा गनिनु, यहाँ च्याउ उम्रिएजस्तै उम्रिएका राजनीतिक दल, रोजगारी नपाएर दैनिक हजारौँ युवा बिदेसिएको दृश्य, सहरको चाप, रित्तिएको गाउँघर, आर्थिक मन्दी, सामाजिक विभेद, धार्मिक संस्कार फैलाउने नाममा विदेशीको चलखेल, भएका अथाह सम्पत्ति जल, जमिन, जङ्गल, जनावर, जडीबुटी आदिको सदुपयोग हुन नसक्नु, आर्थिक विकासको नाममा अस्थिर राजनीतिले देश विदेशीको चङ्गुलमा फस्ने हो कि भन्ने आशङ्का सबै नेपालीको मनमा उब्जिनु, विकासको नाममा देखिएको वर्षे असारे विकासको विकृति, स्थानीय निकायमा केही जनप्रतिनिधि तथा इतर पक्षबाट भएको प्राकृतिक दोहन, मौलाएको भ्रष्टाचार, कुनै पनि कार्यमा दोष देखाउने तर, दोषी भेट्टाउन नसक्ने परिपाटीको अन्त्य सबैले खोजेका छन् । गणतन्त्र ल्याएका हौँ भन्नेहरूले साँवा ब्याज तथा स्याज सबै खान खोज्नु, अझै पनि देशका कयौँ गाउँ बस्तीहरूमा बिजुली खानेपानीको अभाव तथा उत्पादित कृषि उपजहरूको निर्यातमा समस्या, यही काठमाडौँ उपत्यकामा भएको पानीको असहजता, ढलको समस्या आदि थुप्रै समस्याहरूको चाङमा तपाईंका अगाडि यी यावत चुनौतीहरू थुप्रिएका छन् । 

त्यसैले तपाईंलाई यो पत्रमार्फत निम्न कुराहरूमा ध्यानाकर्षण गराउन चाहन्छु :

१. आर्थिक विकास : नेपालको अर्थतन्त्र बढी कृषि र रेमिट्यान्समा निर्भर रहकोले आधुनिक कृषि प्रणाली, पर्यटन व्यवसायमा जोड तथा साना तथा मझौला उद्योगमा विशेष ध्यान दिनुपर्नेछ ।

२. पूर्वाधार विस्तार गर्ने : सडक, पुल र ऊर्जा आयोजनालगायत अन्य पूर्वाधारमा लगानीले आर्थिक गतिविधिलाई बढवा दिनुपर्नेछ ।

३. सुशासन र पारदर्शितामा सुधार : सुशासनको लागि बलियो र पारदर्शी संस्थाहरूको निर्माण, भ्रष्टाचार उन्मुलन गर्न एउटा छुट्टै शक्तिशाली निकाय गठन गर्नुपर्ने जसमा निष्पक्ष र निश्कलंकीत भई अवकाश प्राप्त भएका कर्मचारीलाई छानबिन समितिमा राख्नुपर्ने र विगतमा देखिएका भ्रष्टाचारका फायल निष्पक्ष तवरले केलाउनु पर्नेछ । 

४. ई–शासन : अहिलेको युगअनुसारको शासन हो । सञ्चारमाध्यममा भित्तामा लेख्ने प्रविधिबाट प्रिन्ट मिडिया, रेडियो, टिभी, इन्टरनेट, सामाजिक सञ्जाल, नागरिक पत्रकारिता हुँदै अहिले एआईको प्रविधिले विश्वको ध्यान कता पुगिसक्यो । यही सन्दर्भमा नेपालमा पनि ई–शासनको रूपरेखा तयार पार्न सकियो भने वार्षिक रूपमा आइटीबाट करिब ६२ अरबको आम्दानी हुँदै आइरहेको नेपाली प्राविधिकहरूको अचित्यतालाई पुष्टि गर्न सक्ने ठाउँ देखिन्छ ।

५. स्वास्थ्य सेवामा सुधार : नेपालमा स्वास्थ्य क्षेत्रमा विज्ञ डाक्टरहरूको कमी छैन र तपाईँले पनि मिर्गौला फेर्नेजस्तो साहसिक कार्यको लागि नेपालका डाक्टरहरूलाई नै पत्याउनु भयो र सफल पनि हुनुभयो । तथापि, दूर दराजका कयौँ गरिब मानिसहरूले अझै पनि आर्थिक अभावले उपचार गराउन नपाएर आफ्ना परिवार गुमाएको अवस्था छ । यसको बदलामा हुने खानेहरू जो करको दायरामा आएका छैनन्, तिनीहरूलाई यसमा कडाइ गरेर भए पनि ती गरिब दुःखी परिवारको पहिचान गरी उनीहरूलाई बिना झन्झट राहतको व्यवस्था मिलाउन अत्यन्त जरुरी छ । अझै पनि प्रायः सरकारी अस्पतालमा देखिएको समस्या भनेको बिरामी भर्ना गर्न प¥यो भने नेताको पावर लगाउन पर्ने बाध्यता हट्नुपर्दछ । 

यसको अलावा भारतीय जनतालाई जस्तो प्रत्येक गरिब नेपालीको पहिचान गरी राशन कार्डको व्यवस्था गर्ने वा सहुलियत दरमा राशन उपलब्ध गराउन अनिवार्य, बाँझो जमिनको सदुपयोग, कृषिमा टाठा बाठाले खल्तीको योजना बनाएर रकम असुल्ने प्रवृत्तिलाई हटाई वास्तविक किसान पहिचान गरी राहतको व्यवस्था प्रत्यक्ष रूपमा स्थानीय सरकारले मिलाउन अनिवार्यता, वैज्ञानिक क्षेत्रमा गरिएको प्रयासलाई प्रोत्साहन, नयाँ–नयाँ आविष्कार गर्ने वैज्ञानिकलाई विदेश जानबाट रोक्ने आदि कामको लागि एउटा बलियो टिम बनाएर अगाडि बढ्न सक्नुभयो भने आगामी निर्वाचनमा मात्र नभएर सधैँ सधैँ नै तपाईँको यो कार्यकालको सम्झना प्रत्येक नेपालीको तनमनमा रहिरहने छ । र, भावी पुस्ताका नेताहरूमा पनि एउटा देश र जनताप्रतिको जिम्मेवार बोधको अनुभव हुनेछ । किनकि संसारमा कयौँ देशमा कयौँ नेताहरू छन् तर, देश र जनताको लागि आफ्नो दल र परिवार नभनीकन त्याग र बलिदान दिने नेताहरू कमै मात्र पाइन्छन् । त्यसमा उपयुक्त कार्यहरू गरेर सफलताको लक्ष्यमा पुग्नुभयो भने पछिका पिँडीले पनि तपाईँको नाम सदैव मनमा राखिरहनेछन् । 

निष्कर्षमा, भन्नुपर्दा तपाईँको नेतृत्वमा गठित सरकारसँग रणनीतिक सुधार र सक्रिय शासनमार्फत नेपालको भविष्यका लागि बलियो जग स्थापित गर्ने प्रशस्त अवसरहरू छन् । किनकि २०४६ सालको सहयोद्धा दल तपाईँको साथमा छ । तसर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाउँदै राजनीतिक स्थिरताउन्मुख हुँदै आर्थिक, सामाजिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा कोही पनि नेपाली विमुख हुन नपरोस् र भ्रष्टाचारले नै देश उँभो लाग्न नसकेको हो भन्ने आम नेपाली जनताको मनसायलाई आत्मसात् गर्दै अगाडि बढ्नुहुनेछ भन्ने अपेक्षाका साथ पत्रबाट बिदा हुन्छु । अभिवादन ! 

लमजुङ (हाल : काठमाडौँ)

ADVADV

सम्बन्धित खबर

Advertise