२०८२ मंसिर ४ गते बिहिवार / Nov 20 , 2025 , Thursday
२०८२ मंसिर ४ गते बिहिवार
Ads

निर्वाचनमा जाने दलहरूलाई मंसिर १० को समयसीमा

shivam cement
दिवाकर अधिकारी
२०८२ मंसिर ४ गते ०६:३०
Shares
निर्वाचनमा जाने दलहरूलाई मंसिर १० को समयसीमा

काठमाडौं : सरकार र निर्वाचन आयोग प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारीमा अगाडि बढिसकेका छन् । सरकारले निर्वाचनका लागि आवश्यक पर्ने बजेट विनियोजन गरिसकेको छ भने निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिकलगायतका कार्य सकाएको छ । 

तर आगामी फागुन २१ मा चुनाव हुन्छ कि हुँदैन भन्ने संशय राजनीतिक दलहरूमा कायमै छ । यही विषयमा नेपाली कांग्रेस र नेकपा एमालेले सभामुख देवराज घिमिरेसँग समेत छलफल गर्दै आएका छन् । 

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौला सभामुख घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनकै कार्यकक्ष पुगेका थिए । उनीहरूबीच आइतबार भेट भएको हो । विघटित प्रतिनिधि सभामा कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार सभामुखसँगको भेटमा एमालेका तर्फबाट महेश बर्र्ताैला थिए । बर्तौला विघटित प्रतिनिधि सभामा एमाले संसदीय दलका प्रमुख सचेतक थिए ।सभामुखसँगको भेटमा प्रतिनिधि सभा पुनस्र्थापनाबारे कुराकानी भएको घिमिरेले जानकारी दिए । आगामी निर्वाचन हुन्छ कि हुँदैन भन्ने विषयमा समेत छलफल गर्न गएको भन्दै उनले सभामुखसँगको भेटघाटलाई स्वाभाविक भनेका छन् । 

कांग्रेस र एमालेका नजरमा एकातिर प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा छ । अर्कोतिर सरकारले निर्वाचनको वातावरण बनाइरहेको छैन । 

गत २७ भदौमा प्रतिनिधि सभा विघटन भएको थियो । आगामी २१ फागुनका लागि चुनावको मिति तय भएको छ । निर्वाचन तयारीअन्तर्गत निर्वाचन आयोगले आगामी ६ माघमा उम्मेदवारी दर्ताको समयसहितको निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ ।

नेताहरूका अनुसार प्रतिनिधि सभा सदस्यको चुनाव लड्न चाहने राजनीतिक दलले यही मंसिर १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्नेहुन्छ । यस अवधिमा ठुला राजनीतिक दल दर्ता प्रक्रियामा जान्छन् कि जाँदैनन् त्यसले आगामी फागुन २१ को निर्वाचनको सुनिश्चितता तय गर्दछ । 

निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय सुरु भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा)लगायतले दल दर्ताको निवेदन दिइसकेका छन् । बाँकी सबै दललाई निर्वाचनमा सहभागी गराउने प्रयासमा प्रधानमन्त्री कार्की रहेकी छन् । 

निर्वाचनमा दलहरूको सहभागिता सुनिश्चित गर्न उनले नागरिक समाजलगायतसँग समेत छलफल गरेकी छन् । नागरिक समाजसँगको छलफलमा प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘निर्वाचनको विश्वसनीयताका लागि प्रमुख दललाई मंसिर १० गतेभित्र निर्वाचन आयोगमा अनिवार्य दर्ता गराउनु हाम्रो पहिलो र अनिवार्य सर्त हो । मंसिर १० को समयसीमा निर्वाचन सुनिश्चितताको प्रमुख सूचक हो ।’

यसका लागि सरकारले के गरिरहेको छ त ? प्रधानमन्त्री कार्कीको जवाफ छ, ‘सरकारले ट्रयाक–टु संवादमार्फत विभिन्न दलसँग विश्वासको वातावरण बनाउने काम गरिरहेको छ ।’
नेताहरूका अनुसार प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले कांग्रेस, एमाले र अन्य दलका दोस्रो तहका नेताहरूसँग संवाद गरिरहेका छन् ।

निर्वाचन आयोगका अनुसार फागुन २१ को चुनावका लागि आगामी माघ ६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ । सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ । मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । सोही दिनको दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरी माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । 

समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुनेछ । यो कार्यक्रमअनुसार मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले निवेदन पेस गर्नुपर्नेहुन्छ । मंसिर २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निवेदन पेस गरेका राजनीतिक दलहरूको नामावली प्रकाशन गर्ने, पुस १३ र १४ गतेसम्म राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्नेछन् । माघ २० गते उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम छ ।

स्वीकृत निर्वाचन कार्यक्रमअनुसार फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

निराशा चिर्ने नाम खोज्दै नयाँ दल

जेनजी आन्दोलनपछि दर्ता भएको एउटा नयाँ दल हो– राष्ट्रिय परिवर्तन पार्टी । यसको अध्यक्षमा राजेश पटेल रहेका छन् । पटेल गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा घाइते भएका थिए । यो पार्टीको चुनाव चिह्न बाँसुरी रहेको छ ।  दल दर्ताको प्रमाणपत्र पाएपछि पटेलले भने, ‘हाम्रो नाम र काम समान हुनेछ । देशमा परिवर्तन आउँछु भनेर आफ्नो ज्यानसम्म अर्पण गर्ने प्रत्येक शहीदको सपना पूरा गर्नेछौं ।’

उनका अनुसार जेनजीले भ्रष्टाचारविरुद्ध तत्काल ठोस कदम सुरु होस् भनेर आन्दोलन गरेका हुन् । प्रणाली परिवर्तन गरेर प्रत्यक्ष कार्यकारीको दिशामा स्पष्ट रोडम्याप तयार हुनुपर्नेछ । अर्थात्, नामअनुसार परिवर्तन पक्षधरहरूको नेतृत्व गर्ने यो पार्टीको प्रतिबद्धता छ ।  जेनजी आन्दोलनपछि उदाएका नयाँ दलहरूको नाम हेर्दा जनतामा रहेको निराशा नामबाटै चिर्न सकिन्छ कि भनेर प्रयत्न गर्नेहरू धेरै छन् । नामबाटै जनताको मन जित्ने र मतमार्फत सत्तामा पुग्ने लालसा राखेर दलको नामबाटै ऊर्जा भर्ने प्रयास गरेको देखिन्छ । 

किशोरी कार्कीको नवनिर्माण पार्टी छ । जीवन लिम्बुले एकता नेपाल नामक दल बनाएका छन् । टीकाराम पुरीको राष्ट्रिय गौरव पार्टी छ । नुमा लिम्बुको समावेशी समाजवादी पार्टी बनेको छ । सन्दीप उप्रेतीले राष्ट्रिय स्वाभिमान पार्टी बनाएका छन् । प्रशान्त सिंहको पिपुल फस्ट पार्टी छ । सुन्दरराम बोहराको आवाज पार्टी छ । चन्द्र प्रकाश सुवेलदीले सुन्दर नेपाल निर्माण पार्टी बनाएका छन् । 

गणेशकुमार मण्डलले ‘सार्वभौम नागरिक पार्टी’ नामक दल बनाएका छन् । रत्नप्रसाद श्रेष्ठ नेतृत्वमा ‘नागरिक सर्वोच्चता पार्टी नेपाल’ छ । कविर सोपले आफ्नै नेतृत्वमा ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ नामक दल बनाएका छन् । 

हिमालयबहादुर चन्दले युवाहरू राजनीतिमा छन् भन्ने सन्देश नामबाट दिन पार्टीको ‘नेपाल राष्ट्रिय युवा पार्टी’ रोजे । अभियन्ता खगेन्द्र सुनारको ‘हाम्रो नेपाल पार्टी’ छ । सविन सिग्देलनको नेतृत्वमा ‘राष्ट्र निर्माण पार्टी’ बनेको छ । ‘राष्ट्र निर्माण दल नेपाल’ नाम राखेर अकबर खान अगाडि बढेका छन् ।  माधवप्रसाद खतिवडा नेतृत्वको नागरिक बचाऊ दल नेपालले निर्वाचन आयोगबाट आधिकारिता पाइसकेको छ । धरानका मेयर हर्क साम्पाङ श्रम संस्कृत पार्टी दर्ता गरेर चुनाव लड्दै छन् । 

ADV

सम्बन्धित खबर