
काठमाडौं : जेनजी आन्दोलनपछि राजनीतिक दलहरूमा ध्रुवीकरण र नयाँ दल खोल्ने लहर नै ल्याएको छ । कतिपय पुराना राजनीतिक दल एकअर्कोमा गाभिने र नयाँ शक्ति निर्माणमा लागेका छन्, कतिपय दलका दोस्रो र तेस्रो तहका नेताहरूले नयाँ पार्टी र अभियान सुरु गरेका छन् । यस्तैमा नयाँ दल खोल्नेहरू पनि उत्तिकै छन् ।
निर्वाचन आयोगका अनुसार जेनजी आन्दोलनयता मात्रै १३ वटा नयाँ दल आएका छन् । जसले निर्वाचन आयोगबाट आधिकारिता पाइसकेका छन् । यसमा अझ केही दल थपिने क्रममा छ ।
आइतबारसम्मको तथ्यांकअनुसार १३ वटा नयाँ दलले आधिकारिता पाएका हुन् । जेनजी आन्दोलनपछि जन्मिएका दलहरूमा हर्कराज राई (हर्क साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टी छ । साम्पाङ धरानका मेयर हुन् । दिनेशराज प्रसाईंको नेतृत्वमा गतिशील लोकतान्त्रिक पार्टी बनेको छ । यो पार्टीमा व्यवसायी वीरेन्द्रबहादुर बस्नेत पनि छन् । प्रसाईं भने समाजशास्त्री हुन् ।
रेशम चौधरी संरक्षक रहेर नागरिक उन्मुक्ति पार्टी, नेपाल बनेको छ । यो पार्टीको अध्यक्षमा कविर सोप रहेका छन् ।
राजेश प्रतेल नेतृत्वमा राष्ट्रिय परिवर्तन पार्टी, रियाज अहमद शेषको संयोजकत्वमा राष्ट्रिय जनमत पार्टी बनेको छ । नेत्रविक्रम चन्द (विप्लव) पनि पहिलोपटक संसदीय चुनाव लड्दै छन् । उनको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बनेको छ ।
अकबर खानले राष्ट्र निर्माण दल नेपाल बनाएका छन् । योगेन्द्र मण्डलको नेतृत्वमा राष्ट्रिय ऊर्जाशील पार्टी, नेपाल छ । मण्डल विघटित प्रतिनिधि सभा सदस्यसमेत हुन् । प्रशान्त सिंहले पिपुल फस्र्ट पार्टी बनाए । पूर्वसचिव अनुपकुमार उपाध्यायको नेतृत्वमा उज्यालो नेपाल पार्टी बनेको छ । यो पार्टीको संरक्षकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ छन् ।
सत्यवानकुमार सिंहले स्वाभिमान पार्टी दर्ता गरेका छन् । रत्नप्रसाद श्रेष्ठले नागरिक सर्वोच्चता पार्टी नेपाल बनाएका छन् । अभियन्ता खगेन्द्र सुनारले हाम्रो पार्टी नेपाल गठन गरेका छन् । जसले निर्वाचन आयोगबाट आधिकारिकतासमेत पाइसकेको छ । यो पार्टीको चुनाव चिह्न गोलो घेराभित्र राम्रो जनाउने लाइक चिह्न रहेको छ ।
यो सँगै निर्वाचन आयोगमा दर्ता दलको संख्या १ सय ३२ पुगेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई भन्छन्, ‘दर्ता दलको संख्या १ सय ३२ पुगेको छ । यसमध्ये १३ वटा दल नयाँ दलहरू हुन् ।’
प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते हुँदै छ । सो निर्वाचनमा भाग लिन राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि समेत दल दर्ता गर्नुपर्छ । निर्वाचन प्रयोजनका लागि भने ५६ वटा दलले दल दर्ता गरेका छन् । निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय यही मंसिर १० गतेसम्म छ । त्यतिन्जेलसम्म दर्ता भएका नयाँ दलले पनि निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सक्नेछन् ।
निर्वाचन आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार मिति आगामी माघ ६ गते छ । सोही दिन उम्मेदवारको सूची प्रकाशन हुनेछ । मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते रहनेछ । माघ ८ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ हुनेछ र सोही दिन उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । माघ ९ गते उम्मेदबारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।