२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एकताको ‘वार्मअप’मा वैकल्पिक शक्तिहरू

shivam cement
दिवाकर अधिकारी
२०८२ मंसिर १५ गते ०६:२५
Shares
एकताको ‘वार्मअप’मा वैकल्पिक शक्तिहरू

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टी एक भएका छन् । २१ फागुनमा तय भएको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दल ध्रुवीकरण र एकताको प्रयासमा छन् । 

चुनावपछि वैकल्पिक शक्तिले मुलुकको नेतृत्व गर्नुपर्छ भन्नेहरूबीच एकता र सहकार्यको प्रयास भइरहेको छ । यही प्रयासअन्तर्गत रास्वपा र विवेकशील साझा पार्टी एक भएका हुन् । 

नेतृ रञ्जु दर्शनाका अनुसार राजनीतिक दलहरू फुट्न सक्छन् मिल्न गाह्रो छ भन्ने भाष्य छ । यो भाष्य पुराना दलहरूका हकमा हो र वैकल्पिक शक्तिहरू एक हुनुपर्छ भन्ने सन्दर्भमा मिल्न गाह्रो छैन भन्ने सन्देश दिन विवेकशील साझाले निसर्त रास्वपासँग एकता गरेको हो । 

आइतबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित एकता सभामा दुवै दलका नेता उपस्थित थिए । एकीकरणसम्बन्धी सहमतिपत्रमा रास्वपाबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति स्वर्णिम वाग्लेले हस्ताक्षर गरे । विवेकशील साझाबाट अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारले हस्ताक्षर गरे । 

दुई पार्टीबीच रास्वपाको राजनीतिक सिद्धान्त र नेतृत्व निसर्त स्वीकार गर्ने र स्व. उज्वल थापा तथा विवेकशील अभियानको योगदानलाई आधिकारिक रूपमा दस्ताबेजीकरण गर्दै मान्यता प्रदान गर्ने सहमति भएको छ । 

रास्वपा नेता यज्ञमणि न्यौपानेका अनुसार अब कुलमान घिसिङलगायतसँग एकताको प्रयास हुनेछ । 

‘यो देशले एकपटक आदिवासी जनजातिको छोरोलाई प्रधानमन्त्री देख्न चाहेको छ । सभापति रवि लामिछाने र प्रधानमन्त्रीमा कुलमान घिसिङ आज नेपाली माटोको आवश्यकता हो । यो सर्तमा मिलन हुन्छ, हुन्छ, हुन्छ र हुनुपर्छ’ न्यौपानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो विषयमा तगारो बन्ने काम कसैले नगरोस् । यति कुरा हामीले मिलाएरै छोड्छौं ।’ 

सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री घिसिङले आफ्नै समर्थनमा पार्टी गठन गरेका छन् । उनी समर्थित पार्टीलाई समेत एकतामा ल्याउने रास्वपाको प्रयास जारी छ । 

चुनाव लड्न चाहने दलको संख्या १ सय २० पुगिसकेको छ । जेनजी आन्दोलनपछि गठन भएका २५ वटा नयाँ छन् जो चुनावी मैदानमा छन् । धेरै दल हँुदा मत छरिने र फेरि पनि पुरानै राजनीतिक शक्तिले चुनाव जित्न सक्ने त्रासमा वैकल्पिक शक्ति छन् । चुनाव हार्ने त्रास र मिल्दा सत्तामा पुग्न सकिने आसमा वैकल्पिक शक्तिको वकालत गरिरहेका एक हुन खोज्दै छन् । यसको नेतृत्व रास्वपाले लिन खोजिरहेको छ । यही उद्देश्यअन्तर्गत रास्वपा–विवेकशील एकता भएको हो । 

नेताहरूका अनुसार दल दर्ता गरिसके तापनि सहकार्य वा गठबन्धन गर्ने वा एउटा कुनै दलको निर्वाचन चिह्नमा चुनाव लडेर वैकल्पिक शक्तिलाई एकीकृत गर्ने अभियान छ । 

सम्बन्धित खबर