२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

जिल्ला-जिल्लामा गगनको माग

shivam cement
दिवाकर अधिकारी
२०८२ पुष २ गते ०६:३०
Shares
जिल्ला-जिल्लामा गगनको माग

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापा २०६२÷६३ सालको संयुक्त जनआन्दोलनबाट उदाएका नेता हुन् । नयाँ पुस्ताको नेतृत्व गर्दै नेपाली कांग्रेसको मूल नेतृत्वमा पुग्न खोजिरहेका उनलाई पछिल्लो समय आफ्नो क्षेत्रबाट जिताउन चाहनेहरू समेत बढेको छ । यसको उदाहरण हो– उनको नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारको लागि एकभन्दा धेरै क्षेत्रबाट सिफारिसमा पर्नु । 

नेपाली कांग्रेसले २१ फागुनमा तय भएको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेर पठाउन मातहतका निकायलाई सर्कुलर गरेको छ । सर्कुलरअनुसार सम्बन्धित कमिटीले नाम सिफारिस गरिरहेका छन् । अहिलेसम्म गगन थापाको नाम पाँच निर्वाचन क्षेत्रबाट सिफारिसमा परिसकेको छ । यसमा केही संख्या अझ थपिने नेताहरू बताउँछन् । 

यसअघि उनी चुनाव लड्दै आएको क्षेत्र हो– काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा उनी यही क्षेत्रबाट विजयी भएका थिए । त्यसअघि २०७० र २०७४ मा पनि उनले यही क्षेत्रबाट चुनाव जित्दै आएका छन् । 

आगामी २१ फागुनको लागि समेत उनको नाम सिफारिसमा परिसकेको छ । गत साता नै काठमाडौं क्षेत्र नम्बर ४ बाट थापाको नाम एकल सिफारिसमा परिसकेको छ । 

यसबाहेक अन्य क्षेत्रबाट समेत उनको नाम सिफारिस भएको छ । 

आइतबार मात्रै नेपाली कांग्रेस तेह्रथुमले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि महामन्त्री थापालाई प्रत्यक्षतर्फको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ । तथापि सर्वसम्मतिमाथि समेत कतिपयले विरोध जनाएका छन् । 

नेपाली कांग्रेस जिल्ला कार्यसमिति तेह्रथुमले थापाको एकल नाम सिफारिस गरेको हो । एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा यस अगाडि सीता गुरुङ निर्वाचित भएकी थिइन् ।

तेह्रथुममा पूर्वसांसद तुलसी सुब्बामाथि केन्द्रीय अनुशासन समितिले कारबाही गरेको र उनले दिएको पुनरावेदनको विषय केन्द्रबाट नटुंगिएपछि जिल्ला कमिटीले सीतालाई सिफारिस गरेको छैन । 

गत निर्वाचनमा तुलसीले सीतालाई हराउन लागेको आरोप लगाउँदै कारबाहीका लागि सिफारिस गरिएको थियो । सुब्बा गगन थापा समूहका हुन् ।

यसअघि एक–एक निर्वाचन क्षेत्र रहेका धनकुटा र रोल्पाबाट गगनलाई उम्मेदवार बनाउन जिल्ला समितिले सिफारिस गरेका छन् । सर्लाही निर्वाचन क्षेत्र नम्बर चारबाट समेत थापाको नाम सिफारिस भएको छ ।

धनकुटामा २०७९ को चुनावमा ३० हजार १ सय १ मत पाएर एमालेका राजेन्द्र राई विजयी हुँदा कांग्रेसका सुनिल थापा २८ हजार ७ सय ४ मत पाएर पराजित भएका थिए । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल अहिले राष्ट्रपतिको सल्लाहकार छन् । चुनावमा पुनः उठ्नका लागि मंगलबार मात्र उनले शीतल निवासबाट राजीनामा दिएका छन् । 

गगन सिफारिस भएको अर्को निर्वाचन क्षेत्र रोल्पा माओवादी ‘जनयुद्ध’को उद्गम थलो हो, जहाँ २०६४ सालदेखि माओवादीले चुनाव जित्दै आएको छ । पछिल्लो निर्वाचनमा माओवादी केन्द्रबाट वर्षमान पुनले ४० हजार ७ सय १४ मत पाउँदा एमालेका पूर्ण बुढाले १६ हजार ४ सय ८५ मत पाएका थिए । 

गगन थापालाई उम्मेदवार बनाउन सिफारिस गरिएको सर्लाही क्षेत्र नम्बर ४ डा. अमरेशकुमार सिंह निर्वाचित हुँदै आएको निर्वाचन क्षेत्र हो । सिंहले २०७९ सालको चुनावमा स्वतन्त्र उठेर कांग्रेस उम्मेदवारलाई पराजित गरेका थिए ।

अमरेशले २० हजार १७ मत ल्याउँदा कांग्रेस उम्मेदवारले १८ हजार २ सय ५३ मत पाएका थिए ।

यस्तै, उपसभापति धनराज गुरुङको नाम स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ र २ बाट सिफारिसमा परेको छ । पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई कैलाली–५ र बर्दिया–२ का कांग्रेसका क्षेत्रीय कार्यसमितिहरूले जिल्ला समक्ष सिफारिस गरेका छन् । कांग्रेसको सुदूरपश्चिम कार्यसमिति सभापति वीरबहादुर बलायरको नाम कैलाली–४ र डोटीबाट सिफारिस भएको छ ।

सम्बन्धित खबर