
काठमाडौं : मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शीर्ष नेताहरू संवादमा जुटेका छन् । जेनजी आन्दोलनपछि एकसाथ नबसेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकसाथ प्रधानमन्त्री सुशीला कार्कीसँग देखिए ।
राष्ट्रपति पौडेलको उपस्थितिमा भएको छलफल करिब २ घण्टासम्म चल्यो ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार शीर्ष संवादमा चुनावको वातावरण बनाउने समझदारी पनि बनेको छ ।
‘देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिन चुनावको घोषण भएको हो, यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको एक मात्र दायित्व हो,’ राष्ट्रपति पौडेलले शीर्ष नेताहरूलाई भनेका छन् ।
प्रतिनिधि सभाको निर्वाचन आगामी २१ फागुनमा तोकिएको छ । उक्त चुनाव हुने वा नहुनेमा कतिपयले संशय व्यक्त गरिरहेका बेला मंगलबार शीर्ष तहमा संवाद भएको छ ।
शीर्ष तहमा संवाद हुन नै १ सय ७ दिन लाग्यो । २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । मंगलबारको भेट जुर्न नै भदौ महिनामा ९ दिन, असोजमा ३१, कात्तिकमा ३०, मंसिर २९ र असोजमा ८ दिन लाग्यो ।
जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए । ओलीको राजीनामासँगै सत्ता साझेदार दल कांग्रेस पनि सत्ताच्युत भएको थियो । ओलीपछि देउवा प्रधानमन्त्री बन्ने समझदारी थियो । तर जेनजी आन्दोलनले एमाले र कांग्रेसको सहकार्यमा चलिरहेको सरकार मात्रै ढालेन । प्रतिनिधि सभाबाट सरकार बन्न सकेन । पूर्वप्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकार बनेको साढे तीन महिनापछि शीर्ष तहमा संवाद भएको हो ।
राष्ट्रपति कार्यालयका अनुसार छलफलमा कांग्रेस सभापति देउवाले २१ फागुनको चुनावका लागि तयार रहेको बताए । ‘तर चुनाव नहुँदा के हुन्छ ? प्रतिनिधि सभा पुनर्स्थापनाको विकल्प अर्को हुन्छ र ?’ देउवाको प्रश्न छ ।
एमालेका अध्यक्ष ओलीले नेतालाई स्थान हद लगाएर चुनाव गराउने भन्ने विषय आफैंमा नमिल्ने भन्दै सरकारको आलोचना गरे । ‘पूर्वप्रधानमन्त्रीलाई स्थान हद लगाएर कस्तो चुनावको कुरा गरेको ?’ ओलीको प्रश्न छ ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले पनि समयमै चुनाव हुनुपर्ने बताए । अन्यथा, परिस्थिति फरक हुन सक्ने भन्दै उनले पनि सरकारलाई नै प्रश्न गरे, ‘चुनाव नभए संसद् पुनर्स्थापनाको विषय बलियो बन्दैन र ?’
अर्थात् शीतल निवासमा प्रधानमन्त्री सुशीला प्रश्नले घेरिइन् । उनले चुनावको विकल्प नरहेको र चुनावबाहेक सरकारले केही नसोचेको जवाफ दिइन् । शान्तिसुरक्षा र चुनावी वातावरणबारे शीर्ष नेताहरूको प्रश्नले घेरिएकी प्रधानमन्त्री कार्कीको एउटै उत्तर थियो, ‘म चुनावको वातावरण बनाउँछु । दलहरू तयार हुनुप¥यो ।’ लगत्तै बालुवाटारमा अर्को छलफल गर्ने समझदारीसमेत बनेको शीतल निवास स्रोतले बतायो ।
प्रधानमन्त्री कार्की बाहिरिएपछि फेरि शीतल निवासमै ओली, देउवा, प्रचण्ड छलफलमा रहे । मुलुकलाई संवैधानिक रूपमा अगाडि बढाउने सन्दर्भमा उनीहरूमा बीचमा संवाद भएको छ ।
नेपाली कांग्रेस समयमै चुनाव भए चुनावमा भाग लिने र चुनाव नभए प्रतिनिधि सभा पुनर्स्थापनाको माग लिएर अगाडि बढ्ने नीतिमा छ । एमाले प्रतिनिधि सभा पुनर्स्थापनाको मागलाई प्रमुख विषय बनाएर अगाडि बढेको छ भने नेपाली कम्युनिस्ट पार्टी समयमै चुनाव हुनुपर्ने पक्षमा देखिएको छ । चुनाव नभए प्रतिनिधि सभा पुनर्स्थापनाको माग बलियो हुने उसको पनि तर्क छ । यहीबेला सरकारले राजनीतिक दलहरूको कार्यालय भ्रमण गर्ने र शीर्ष संवाद गर्ने कार्य एकसाथ सुरु गरेको हो ।