
काठमाडौं : राजनीतिक दलहरू राष्ट्रिय सभाको निर्वाचन केन्द्रित भएका छन् । खासगरी ठुला दलहरू गठबन्धनको प्रयासमा छन् । गठबन्धन गर्नेबारे नेपाली कांग्रेस र नेकपा एमाले छलफलमा छन् । कांग्रेससँग नेपाली कम्युनिस्ट पार्टीले पनि गठबन्धन गर्न चाहेको छ । तर कांग्रेसले औपचारिक रूपमा कुनै निर्णय लिइसकेको छैन ।
कांग्रेसका प्रवक्ता प्रकाशशरण महतका अनुसार यस विषयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अन्य राजनीतिक दलहरूसँग संवाद गरिरहेका छन् । कांग्रेसले एमाले, नेपाली कम्युनिस्ट पार्टी र साना दलहरूसँग समेत संवाद गरिरहेको छ ।
‘एमाले र नेपाली कम्युनिस्ट पार्टीसँग पनि भएको छ,’ कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले भने । उनका अनुसार साना दलसँग समेत संवाद भएको छ । तर कांग्रेसले औपचारिक रूपमा निर्णय लिइसकेको छैन ।
आगामी ११ माघमा निर्वाचन हुँदै छ । ५९ सदस्यीय राष्ट्रिय सभामा १९ पदका लागि निर्वाचन हुन लागेको हो ।
आगामी फागुन २० मा बिदा हुने राष्ट्रिय सभा सदस्यहरूमा एमालेका आठ जना र माओवादी केन्द्रका सात जना छन् । नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालमा एक÷एक जना बिदा हुँदै छन् । मनोनीत सांसद वामदेव गौतम पनि बिदा हुँदै छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत माघ १९ गते र सोमबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेका थिए । यसबीचमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत कांग्रेस सभापति देउवासँग भेट गरेका छन् ।
सभापति देउवाको सचिवालयका अनुसार प्रचण्डले मधेश सरकारको सन्दर्भमा कुरा गर्दा नै राष्ट्रिय सभामा समेत सहकार्यको प्रस्ताव राखेका थिए । तथापि कुनै निर्णय वा जवाफ सभापति देउवाले नदिएको उनको सचिवालयले जनाएको छ ।
कांग्रेसका प्रवक्ता महतका अनुसार बुधबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकमा राष्ट्रिय सभाको निर्वाचनको विषयमा कुरा उठेको थियो ।
कार्यसम्पादन समितिको बैठक बिहीबार दिउँसो १ बजे पुनः बस्दै छ । उनका अनुसार बिहीबार बस्ने कार्यसम्पादन समितिको बैठकमा थप रिर्पोटिङ हुनेछ, समीक्षा हुन्छ र एउटा निर्णयमा पुग्ने प्रयास हुनेछ ।
मतभारका दृष्टिमा कांग्रेस र एमाले नै अगाडि छन् । यी दुई दल मिल्दा अधिकतम सिटमा जित हासिल गर्न सहज हुनेछ । यसकारण एमाले र कांग्रेस गठबन्धनको कसरतमा रहेका हुन् ।
५९ सदस्यीय राष्ट्रिय सभामा हाल कांग्रेसका १६ जना सांसद छन् । उनीहरू कोही पनि आगामी फागुन २० मा बिदा हुने छैनन् ।
हाल १७ सिटमा रहेको माओवादी केन्द्रका सात जना बिदा हुँदा १० जना बाँकी रहन्छन् र चुनाव जितेर आउँदा थपिने हुन् ।
हाल १० सिटमा रहेको एमालेका आठ जना बिदा भएपछि दुई जना बाँकी रहन्छन् । जति नयाँ जितेर आउँछन् उनीहरू थपिन्छन् ।
आठ सदस्य रहेको एकीकृत समाजवादीका एक जना बिदा हुँदा सात जना बाँकी रहन्छन् ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवाद मिलेर नेपाली कम्युनिस्ट पार्टी बनिसकेको छ । यसो हुँदा नेपाली कम्युनिस्ट पार्टीको १७ सिट यथावत् रहनेछ । यसमा कति थपिन्छन् वा थपिँदैनन् ११ माघको चुनावपछि टुंगो लाग्नेछ ।
हाल तीन जना सांसद रहेको जनता समाजवादी पार्टी नेपालका एक जना बिदा हुँदा दुई जना बाँकी रहनेछन् । हाल लोसपाका एक जना छन्, उनी पनि बिदा हुँदै छन् ।
यस्तो अंकगणितमा कांग्रेसले साना दलहरूको साथ लिएर चुनाव लड्ने कि एमाले वा नेपाली कम्युनिस्ट पार्टीसँग गठबन्धन गर्ने निर्णय लिइसकेको छैन ।
एमाले नेता गोपाल भट्टराई भन्छन्, ‘गठबन्धन गर्दा कांग्रेससँग नै गर्ने कि भन्ने छ । गठबन्धन हुँदा सायद त्यही नै हुन्छ ।’
कांग्रेस र एमाले प्रदेश सरकारहरूमा सँगै छन् । मधेश प्रदेशमा पनि पछिल्लो समय बनेको कांग्रेस नेतृत्वको सरकारलाई एमालेले विश्वासको मत दिएको छ ।
बाँकी प्रदेशहरूमध्ये कोशी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा एमाले नेतृत्वको सरकार छ । त्यस्तै, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार छ ।
प्रतिस्पर्धामा १३ दल
राष्ट्रिय सभाको निर्वाचनमा विभिन्न १३ वटा राजनीतिक दलले भाग लिँदै छन् ।
निर्वाचन आयोगले १३ वटै दलको क्रमसमेत निर्धारण गरिदिएको छ । आयोगका अनुसार २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा दलहरूले समानुपातिकतर्फ प्राप्त गरेको मतका आधारमा क्रम निर्धारण गरिएको हो ।
यसअनुसार मतपत्रमा क्रमशः नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी जनता समाजवादी पार्टी नेपालको निर्वाचन चिह्न हुनेछ ।
छैटौं नम्बरपछि क्रमशः जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी–नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, बहुजन शक्ति पार्टी र तराई÷मधेश लोकतान्त्रिक पार्टीको क्रम निर्धारण भएको छ ।
नयाँ दर्ता भएका दुई दल नागरिक उन्मुक्ति पार्टी नेपाल र श्रम संस्कृति पार्टीको निर्वाचन चिह्न मतपत्रको अन्तिममा रहनेछ ।