
काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत आज बुधबार उम्मेदवारले मनोनयन दर्ता गर्दै छन् । सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय रहेका छन् । जहाँ उपस्थित भएर उम्मेदवारले मनोनयन दर्ता गर्न सक्नेछन् ।
निर्वाचन आयोगका अनुसार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । भोलि बिहीबार बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय छ । पुस २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन चाहेको खण्डमा समय पाउनेछन् । सोही दिन दिउँसो १ देखि २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । आगामी माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।
५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक दुई/दुई वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुन्छ । १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदै छ । त्यसमध्ये एक जना वामदेव गौतम मनोनीत सांसद हुन् । उनको ठाउँमा सरकारको सिफारिसमा राष्ट्रपतिले नै अर्को व्यक्ति मनोनीत गर्नेछन् । बाँकी १८ पदका लागि निर्वाचन हुन लागेको हो । यही १८ पदका लागि आज मनोनयन दर्ताको समय छ ।
कोशी प्रदेशबाट तीन जना, मधेश प्रदेशबाट चार जना, बागमती र गण्डकी प्रदेशबाट दुई/दुई जना, लुम्बिनी प्रदेशबाट तीन जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट दुई/दुई जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदै छ ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । सातवटै प्रदेशमा ५ सय ५० प्रदेश सभा सदस्य छन् । ७ सय ५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ हजार ५ सय ६ मतदाता रहन्छन् ।
राष्ट्रिय सभा निर्वाचनमा प्रमुख दलहरूले तालमेल गर्दै छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी (जसपा) नेपालले तालमेल गर्न लागेका हुन् । मतभारका दृष्टिमा यी दल नै प्रमुख दल हुन् । मतभारका आधारमा १८ सिटमा भागबन्डा गरेर प्रमुख दलहरूले उम्मेदवार उठाउन लागेका हुन् ।
नेताहरूका अनुसार १८ सिटमा चार दलले चार भाग लगाएर उम्मेदवार उठाउने तयारी छ । ताकि सबैतिर सर्वसम्मतझैं हुन सकोस् । जसअन्तर्गत कांग्रेसले सात, एमालेले सात, नेकपाले चार र जसपा नेपालले एक सिटमा उम्मेदवार उठाउने गरी छलफल चलेको छ । यद्यपि, ठोस सहमति भने भइनसकेको नेताहरू बताउँछन् ।
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतका अनुसार तालमेलको निर्णय भएको छ । तर केही विषय मिलाउन बाँकी नै छ । यसकारण कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बिहान ९ बजे बस्दै छ ।
नेकपा एमालेका सचिव महेश बस्नेतका अनुसार कांग्रेससँग छलफल गरेर सिट बाँडफाँटको संख्या र कलस्टर टुंगो लगाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ । भागबन्डामा परेअनुसार उम्मेदवार चयन गर्ने अधिकार पनि ओलीलाई नै दिइएको छ ।
नेपाली कम्युनिस्ट पार्टीले पनि तालमेल र उम्मेदवार चयन गर्ने जिम्मेवारी संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललाई दिएको छ । तालमेलका लागि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव आफैं सक्रिय छन् ।