
काठमाडौं : राष्ट्रिय सभा निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १८ पदका लागि ४४ जनाको उम्मेदवारी परेको छ । सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरेका हुन् ।
निर्वाचनमा नेपाली कांग्रेस र एमालेले चुनावी गठबन्धन गरेका छन् । यी दुई दल नै मतभारका दृष्टिमा सातै प्रदेशमा पहिलो र दोस्रो ठुला दल हुन् । कांग्रेसको २१ हजार बढी मतभार छ । एमालेको १७ हजार बढी र नेपाली कम्युनिस्ट पार्टीको १२ हजार बढी मतभार छ ।
मतभारमा दृष्टिमा तेस्रो रहेको नेपाली कम्युनिस्ट पार्टी एक्लै चुनावी मैदानमा रहँदा पहिलो र दोस्रो ठुलो दल कांग्रेस र एमालेले उपल्लो स्तरको गठबन्धन गरेका हुन् । उपल्लो गठबन्धनले सातै प्रदेशमा उनीहरूका उम्मेदवार बलिया भएका छन् ।
बलियो गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार महन्थ ठाकुरलाई समर्थन गरेको छ । यससँगै ठाकुर राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुने आधार तयार भएको छ । नेताहरू ८२ वर्षीय ठाकुरलाई सम्मान दिन राष्ट्रिय सभामा लैजान लागिएको बताउँछन् । ठाकुर कांग्रेसको राजनीतिबाट उदाएका नेता हुन् । २०६२/६३ सालको जनआन्दोलन र त्यसपछिको मधेश आन्दोलनपछाडि ठाकुर कांग्रेस छाडेर मधेश केन्द्रित राजनीतिमा लागेका हुन् ।
उपल्लो गठबन्धनले कतिपय नेतालाई व्यवस्थापनसमेत गरेको छ । एकीकृत समाजवादीबाट एमालेमा फर्किएकी रामकुमारी झाँक्रीलाई लुम्बिनी प्रदेशबाट उम्मेदवार बनाएको छ । झाँक्री राष्ट्रिय सभामा गएपछि उनको निर्वाचन क्षेत्रमा रहेका अर्का प्रतिस्पर्धी गोकर्ण विष्टलाई प्रतिनिधि सभामा आउन सहज भएको छ । प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्तासमेत आगामी माघ ६ गते हुँदै छ । प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार व्यवस्थापन गर्दा झाँक्री राष्ट्रिय सभा सदस्य उम्मेदवार बनेकी हुन् ।
कोशी प्रदेशबाट उम्मेदवारी दिएका कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध भइसकेका छन् । २०७० सालको संविधानको सभामा राप्रपाबाट चुनाव जितेका थापा २०७७ सालमा कांग्रेस प्रवेश गरेका थिए । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा थापा राष्ट्रपति रामचन्द्र पौडेलको सल्लाहकारसमेत भएर काम गरेका व्यक्ति हुन् ।
थापासहित कांग्रेसले नौ सिटमा उम्मेदवारी दिएको हो । सुदूरपश्चिबाट कांग्रेसका खम्मबहादुर खाती उम्मेदवार छन् । खाती पूर्वमहान्यायाधीवक्ता हुन् ।
बाग्मती प्रदेशबाट कांग्रेसकी गीता देवकोटा उम्मेदवार छिन् । गण्डकीबाट जगत तिमिल्सिना उम्मेदवार छन् । लुम्बिनीमा बासुदेव जंगली र चन्द्रबहादुर केसी उम्मेदवार छन् । कर्णालीमा ललितजंग शाही उम्मेदवार छन् ।
एमालेबाट आठ जना उम्मेदवार छन् । एमालेले कोशी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेललाई उम्मेदवार बनाएको छ । सीमान्तकृत समुदायकी रोशनी मेचे एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा रहेर काम गरेकी व्यक्ति हुन् । मेचे नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बन्नबाट समेत रोकिएकी थिइन् ।
एमालेले मधेस प्रदेश प्रदेशबाट रेखा झा, बागमतीबाट प्रेम दंगाल र गण्डकी प्रदेशमा सम्झना देवकोटालाई उम्मेदवार बनाएको छ । कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लिला भण्डारी एमालेका तर्फबाट उम्मेदवार रहेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीले १८ मध्ये १६ सिटमा उम्मेदवारी दिएको छ । नेकपाका तर्फबाट कोशी प्रदेशमा खेमराज सुन्दास र नमिता न्यौपाने उम्मेदवार छन् ।
यस प्रदेशमा नेकपाले हेमराज घिमिरेलाई पनि उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर समयमै उम्मेदवारी दर्ता हुन नसकेपछि कांग्रेसका थापा निर्विरोध भए ।
नेपाली कम्युनिस्ट पार्टीले मधेश प्रदेशमा रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समिकुमारी अग्रवाललाई उम्मेदवार बनाएको छ ।
बागमती प्रदेशमा प्रेमप्रसाद सापकोटा र सरोज कुमारी झा उम्मेदवार छन् । गण्डकी प्रदेशमा कपिल लामा, लुम्बिनी प्रदेशमा दुर्गा भण्डारी, वृहस्पति अधिकारी र सर्जन विक, कर्णाली प्रदेशमा बुद्धिप्रसाद शर्मा, अन्जु महतरा, सुदूरपश्चिम प्रदेशबाट टीकाराम जैशी र रोजी बस्नेत सुनार उम्मेदवार रहेका छन् ।
जसपा नेपालले मधेश प्रदेशबाट तीन सिटमा उम्मेदवारी दिएको छ । एउटा सिटमा लोसपाका महन्थ ठाकुरलाई समर्थन गरेको छ । बाँकी तीन सिटमा जसपा नेपालका तर्फबाट अल्पसंख्यकतर्फ शैलेश चौधरी, महिलातर्फ चन्द्रकला साह र दलिततर्फ चमेलीदेवी दासको उम्मेदवारी परेको छ ।
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता भट्टराईका अनुसार बिहीबार उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने तालिका छ । पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान हुनेछ ।
प्रतिस्पर्धामा छैन नेकपा
मतभारमाका आधारमा नेपाली कम्युनिस्ट पार्टी प्रतिस्पर्धामा छैन । कांग्रेस र एमाले मिलेकाले अन्तर्घात भएन भने यी दुई दलले राष्ट्रिय सभामा हुन लागेका निर्वाचनमा सबैतिर जित निकाल्न सक्नेछन् ।
कोशी प्रदेशमा एमालेको ४ हजार २ सय १० र कांग्रेसको ३ हजार ७ सय २२ मतभार जोड्दा ७ हजार २२ हुन्छ । जुन कुल मतभार १० हजार १ सय ३५ को दुई तिहाइ बहुमत हो । यो प्रदेशमा नेकपाको १ हजार ६ सय २३ मतभार छ ।
मधेश प्रदेशमा पनि कांग्रेस र एमाले बहुमतमा छन् । यो प्रदेशमा कांग्रेसको ३ हजार १ सय ४ र एमालेको २ हजार ४ सय ८ जोड्दा ५ हजार ५ सय १२ मतभार हुन्छ । यो जम्मा मतभार १० हजार ८ सय ३९ को बहुमत हो । मधेश प्रदेशमा नेकपा चौथो छ र यसको १ हजार ३ सय ४६ मतभार छ ।
बागमती प्रदेशमा कांग्रेसको ४ हजार १३ र एमालेको २ हजार ५ सय ७१ मतभार छ । दुवै जोड्दा ६ हजार ५ सय ८४ मतभार पुग्छ । यो बागमती प्रदेशको जम्मा मतभार १० हजार ३ सय ३५ को बहुमत हो । बागमती प्रदेशमा नेकपा दोस्रो ठुलो दल हो । यहाँ नेकपाको मतभार २ हजार ७ सय ३८ रहेको छ ।
गण्डकी प्रदेशमा कांग्रेसको मतभार २ हजार ७ सय ४ छ । एमालेको २ हजार ४ सय ५८ छ । दुवै मिल्दा ५ हजार १ सय ६२ पुग्छ । यो पनि कुल मतभार ६ हजार ४ सय १० को दुई तिहाइ मत हो । यहाँ नेकपाको १ हजार १३ मतभार छ ।
लुम्बिनीमा कांग्रेसको ३ हजार १ सय ७९ र एमालेको २ हजार ८ सय १० मतभार जोड्दा ५ हजार ९ सय ८० हुन्छ । यो पनि कुल मतभार ८ हजार ७ सय ५३ को दुई तिहाइ मत हो । यहाँ नेकपाको १ हजार ३ सय ९६ मतभार छ ।
कर्णालीमा पनि कांग्रेस र एमाले मिल्दा (१ हजार ८ सय ६३ र १ हजार १ सय ९५ मतभार) ३ हजार ५८ मतभार पुग्छ । यहाँ ५ हजार १ सय २२ कुल मतभार हो । यो प्रदेशमा दोस्रोमा रहेको नेपाली कम्युनिस्ट पार्टीको १ हजार ८ सय ४४ मतभार छ ।
सुदूरपश्चिममा कांग्रेसको २ हजार ५ सय ५८ मतभार छ । यसमा एमाले १ हजार ५ सय ३३ थपिए ४ हजार ९१ पुग्छ । यहाँ जम्मा ६ हजार १ सय ५३ मतभार छ । जसको दुई तिहाइ मतभार कांग्रेस र एमाले मिल्दा पुग्छ । यहाँ नेपाली कम्युनिस्ट पार्टीको १ हजार ३ सय ६५ मतभार छ ।