
काठमाडौं : कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवा सोमबार दिनभर निवासमै रहे । नेता÷कार्यकर्ताको राय लिए । पार्टीलाई एकताबद्ध बनाएर जानेमै सभापति देउवा रहेका छन् । दिनभरको भेटघाटपछि देउवाले दिउँसो औपचारिक रूपमै निटस्थलाई बोलाएर छलफल गरे । छलफलपछि नेताहरूले पार्टी विभाजन रोक्ने प्रयास भइराखेको प्रतिक्रिया दिए ।
सभापति देउवासँगको भेटपछि कांग्रेसका नेता डा. शशांक कोइरालाले भनेका छन्, ‘मिलाउने प्रयास हुँदै छ ।’
कांग्रेसका अर्का नेता वीरबहादुर बलायरका अनुसार सभापति देउवा पर्ख र हेरको अवस्थामा छन् । देउवासँगको छलफलपछि बलायरले पत्रकारहरूसँग भनेका छन्, ‘सभापति पर्ख र हेरको अवस्थामा हुनुहुन्छ ।’
पर्ख र हेरको अवस्थामै सभापति देउवाले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक राख्न लगाएका छन् । केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलले मंगलबार बिहान ११ बजे बस्नेगरी केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । जहाँ पार्टीको विशेष महाधिवेशनपछिको अवस्थाबारे छलफल हुनेछ ।
संस्थापन पक्षीय नेताहरूले विशेष महाधिवेशन अवैधानिक भनिरहेका बेला विशेष पक्षधरहरूले ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेषको पक्षमा हस्ताक्षर गरिसकेको दाबी गरेको छ । विशेष महाधिवेशन नेतृत्व र नीति चुन्नेगरी अघि बढ्न खोजिरहेको छ । विशेषको पक्षमा बहुमत पुग्दैन भन्नेमा रहेको संस्थापन झन्डै दुई तिहाइ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेको दाबीपछि अलमलमा परेको छ । स्वयं सभापति देउवा बिलखबन्दमा छन् । यसकारण केन्द्रीय कार्यसमिति बैठकबाट निकास खोज्न खोज्दै छन् ।
नेता गुरु बरालका अनुसार सभापति देउवा पार्टी फुट्न नदिनेमा प्रयासरत छन् । उनले मध्यान्हसँग भनेका छन्, ‘सभापतिज्यु दिनभर छलफलमा रहनुभयो । हामीले पनि भेट्यौं । उहाँ पार्टी फुट्न नदिने प्रयासमा हुनुहुन्छ र यसमा विश्वस्तसमेत देखिनुहुन्छ ।’
विशेष महाधिवेशन पक्षधर भने निकै अगाडि बढिसकेको छ । आइतबार उद्घाटन सत्र र सोमबार बन्दसत्र गरेको विशेष पक्षधरहरूले मंगलबारबाट निर्वाचन प्रक्रिया थाल्ने बताएको छ ।
महाधिवेशन प्रचार संयोजक सुवास पोखरेलका अनुसार सोमबार प्रस्तुत महामन्त्रीको प्रतिवेदनउपर मंगलबार हलले नीतिगत निर्णय दिनेछ । त्यसपछि निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ । जसअन्तर्गत मंगलबार निर्वाचन समितिलगायत भंग हुन्छ र नयाँ निर्वाचन समिति अगाडि बढ्छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ता सन्तोष पौडेलले कांग्रेस नेता शेखर कोइरालाप्रति व्यंग्य गर्दै लेखेका छन्, ‘सभापति बन्ने बेलामा बुद्धि पुगेन ।’ विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवादमा कांग्रेस रहेका बेला कोइराला दुवैपक्ष मिलाउन लागिरहेका थिए । जतिबेला विशेष महाधिवेशन पक्षमा बहुमत पुग्यो त्यतिबेला उनी कतै देखिएनन् ।
अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता सन्तोष वशिष्ठ लेख्छन्, ‘डा. शेखर कोइराला दाइले गरेको जीवनको सबैभन्दा ठुलो गलत निर्णय ।’ कोइरालाले के गर्नुपर्ने थियो भन्नेमा वशिष्ठ मौन छन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ता टिप्पणी गर्छन्, ‘शेखरमा ल्याकत देखिएन ।’ अर्थात्, सामाजिक सञ्जालदेखि विशेष महाधिवेशनस्थल भृकुटीमण्डपसम्म डा. शेखर कोइरालाको खोजी भयो । उनी कतै देखिएनन । बरु सभापति शेरबहादुर देउवालाई भेट्न गए । सभातिलाई भेटेर पनि उनले न संस्थापन पक्षमा रहेको भने न विशेष पक्षधरको पक्षमा खुले । सभापति देउवासँगको भेटपछि उनले कांग्रेस फुट्न नहुने बनिबनाउ जवाफ दिए ।
महाराजगन्जस्थित निवासमै पुगेर सभापति देउवालाई भेटेपछि उनले भने, ‘पार्टीलाई विभाजनबाट रोक्न के गर्न सकिन्छ तत्काल गर्नुस् भन्नौं ।’ डा. कोइराला आफूनिकटका पदाधिकारी तथा नेताहरूसहित देउवालाई भेट्न पुगेका थिए । जहाँ सभापतिलाई पार्टी विभाजनबाट रोक्न के गर्न सकिन्छ ? भन्ने आग्रह गर्नुबाहेक के गर्न सकिन्छ भनेर ठोस उपाय सुझाएनन् ।
डा. कोइराला तिनै नेता हुन् जो सभापति देउवाको दोस्रो कार्यकालमा निरन्तर पार्टीभित्र इतर पक्षको नेता भए । कांग्रेसले पाएको राजकीय जिम्मेवारीमा भाग लिए । आगामी राष्ट्रिय सभा निर्वाचनमा सभापति देउवासँग भागबन्डा गरे र तीन जना उम्मेदवार उठाए ।
अर्थात् इतर पक्षको नेताका रूपमा स्थापित डा. शेखर कोइराला जब संस्थापनलाई रोकेर अगाडि बढ्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा अगाडि बढे तब कतै देखिएनन् । इतर पक्षमा झन्डै दुई तिहाइ महाधिवेशन प्रतिनिधि खुल्दासमेत डा. कोइराला संस्थापन पक्षसँगै संवादमा छन् ।