
काठमाडौं : झण्डै एक करोड पार्टी सदस्यता रहेको चिनिया कम्युनिष्ट पार्टी (सीपीसी)को २६७ सदस्यीय केन्द्रीय कमिटी छ । डेढ करोड पार्टी सदस्य रहेको भारतीय जनता पार्टी (भाजपा) को १२० सदस्यीय कार्यकारी कमिटी छ । भर्खरै विभिन्न वाम घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले भने ती दलभन्दा पनि जम्बो केन्द्रीय समिति बनाएको छ ।
मंगलबार झन्डै २५ सय अर्थात् २ हजार ४ सय ९९ जना केन्द्रीय सदस्यले आज शपथ लिएका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा उपलब्ध केन्द्रीय सदस्य शपथमा सहभागी थिए । आधाआधी नेताहरूले भर्चुअल रूपमा शपथ लिए ।
यो पार्टीमा झन्डै २० वटा वाम घटक मिलिसकेका छन् । जसको समायोजनपछि जम्बो केन्द्रीय समिति बनेको हो ।
नेपाली कम्युनिस्ट पार्टीमा एक भएका वा समाहित भएका तत्कालीन दलहरू हुन्– नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेपाल, राजेन्द्र श्रेष्ठ नेतृत्वको जनता समाजवादी पार्टीका नेताहरू, जनसमाजवादी पार्टी, नेकपा (समाजवादी) ।
यसबाहेक नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी–समाजवादी), प्रेमबहादुर सिंह नेतृत्वको नेकपा (साम्यवादी), माओवादी कम्युनिस्ट केन्द्र, देशभक्त समाजवादी मोर्चा, नेकपा बहुमत पार्टीको विद्रोही समूह, नेकपा (माओवादी)को विद्रोही समूह, जनजागरण पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको समूह, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, शिवलाल थापा मगर नेतृत्वमा जसपाका केही नेताहरू, विप्लव नेतृत्वको पार्टीका केन्द्रीय सदस्य तथा रोल्पा इन्चार्ज, एमाले अछाम इन्चार्ज भैरव सिंहलगायत नेकपामा समाहित भएका छन् ।
झन्डै दुई दर्जन वाम घटक एक भएर बनेको नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समिति झन्डै २५ सय सदस्यीय भएको हो । धेरै पार्टी एक भएको र जम्बो केन्द्रीय समिति बनाएको भएरै होला नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले शपथ लिँदा नै पार्टी एकताको पक्षमा निरन्तर रहने प्रतिज्ञा नै गरेका छन् । साथै पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्ने पनि उनीहरूको प्रतिबद्धता छ ।
विश्वका अन्य देशहरूमा समेत दलहरूका संरचना साना र ठुला दुवै प्रकृतिका छन् । जहाँ राज्य बलियो छ त्यहाँ राजनीतिक दलका संरचना सानो आकारका छन् । जहाँ समाज अत्यन्त विविध छ वा आन्तरिक अविश्वास र शक्ति सन्तुलनको डर छ त्यस्ता समाज र देशका दलहरूका संरचनाको आकार ठुलो रहने गरेको देखिन्छ । राजनीति आन्दोलनबाट आएको शक्तिले पनि संरचनाको आकार ठुलो बनाउने गरेको पाइन्छ ।
नेपाली कम्युनिस्ट पार्टीका हकमा यी उदाहरण लागू हुँदैनन् । धेरै वाम एक ठाउँमा ल्याएर उसले शक्ति केन्द्रीकृत गर्न खोजेको देखिन्छ । केन्द्रीय सदस्य धेरैलाई बनाएर सबै पार्टीहरूलाई एकै ठाउँमा राख्ने प्रयास गरिएको नेकपाकै नेताहरूको स्वीकारोक्ति छ ।