प्राथमिकतामा युवा, टिकट बाँड्दै नेकपा, उम्मेदवार छान्दै एमाले, चुनावी रणनीतिमा कांग्रेस, मैदानमा रास्वपा

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ टिकट वितरणमा लागेका छन् । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा रञ्जित तामाङलाई टिकट दिएका छन् । यो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनाव लड्दै आएको क्षेत्र हो । यही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चुनाव लड्ने तयारी गरेका छन् । ओली र बालेनसँग प्रतिस्पर्धा गर्न नेपाली कम्युनिस्ट पार्टीले पनि युवालाई नै उम्मेदवार बनाएको छ । तामाङ स्थानीय युवा हुन् ।
नेकपाले भोजपुरबाट युवा नेता अजम्बर राई काङमाङलाई उम्मेदवार बनाएको छ । २०७९ सालको निर्वाचनमा उनलाई तत्कालीन माओवादी केन्द्रले समानुपातिक सूचीमा राखेको थियो । तर सांसद हुन पाएनन् । यसपटक प्रत्यक्षमै टिकट पाएका हुन् ।
नेकपाका संयोजक प्रचण्डका अनुसार उनले गत शुक्रबारबाट टिकट दिन थालेका हुन् । ‘आफ्नो दलको तर्फबाट मैले शुक्रबारदेखि नै टिकट बाँड्न सुरु गरेको हुँ,’ शनिबार चितवनको भरतपुर महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय भवनको उद्घाटन गर्दै प्रचण्डले भने ।
शनिबार नेकपा एमालेको सचिवालय बठक बस्यो र उम्मेदवारहरूबारे छलफल गर्यो । टिकट वितरणको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई छ । उनी अब धमाधम टिकट दिने कार्यमा सक्रिय हुँदै छन् । तय भएका उम्मेदवारलाई टिकट दिने र निर्वाचन क्षेत्र पठाउने एमालेको नीति छ ।
२१ फागुनमा हुने निर्वाचनका लागि समानुपातिकतर्फ मनोनयन दर्ता भइसकेको छ । प्रत्यक्षतर्फको मनोनयन यही माघ ६ गतेका लागि तय भएको छ । त्यसअगावै उम्मेदवार टुंगो लगाएर निर्वाचन क्षेत्र पठाउने नीतिअन्तर्गत एमालेले काम गरिरहेको छ ।
नेपाली कांग्रेस चुनावी रणनीति बनाउँदै छ । खासगरी पार्टीको आधिकारिता विवाद निर्वाचन आयोगबाट टुंग्यो लगाएसँगै कांग्रेसमा टिकट वितरणको अधिकार सभापति गगनकुमार थापाले पाएका छन् । यसअघि शेरबहादुर देउवाले टिकट वितरणको तयारी गर्दै थिए । गगन थापासहितको नेतृत्वमा भएको विशेष महाधिवेशनले आधिकारिता पाएपछि उपसभापति विश्वप्रकाश शर्मासहितको टिम चुनावी रणनीति बनाउन लागिपरेको छ । रणनीतिअनुसार टिकट वितरण गर्ने, पार्टीभित्रको असन्तुष्टि मिलाउने र चुनावमा पहिलो दल हुने ध्याउन्नमा रहेको कांग्रेसका नेता बताउँछन् ।
शनिबार बसेको केन्द्रीय समितिको बैठकले अन्य दलसँग चुनावी गठबन्धन नगर्ने निर्णय नै गरेको छ । बैठकपछि पार्टीका प्रवक्ता देवराज चालिसेले पत्रकारहरूसँग भने, ‘कुनै पनि अप्राकृतिक गठबन्धन वा सत्ता केन्द्रित सम्झौता नगर्ने, संविधानको रक्षा र नवयुवाको आकांक्षा सम्बोधन गर्ने निर्णय भएको छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनावी मैदानमा उत्रिसकेको छ । कुन क्षेत्रमा पार्टीको कस्तो प्रभाव छ भनेर सुषुप्त अध्ययनमा रहेको रास्वपा नेताहरू सोहीअनुसार उम्मेदवार तय गर्दै छन् । फिल्डमा अध्ययन टोली खटिएको छ र अध्ययन टोलीको राय÷सुझावसमेतका आधारमा सभापति रवि लामिछानेसहितका केन्द्रीय पदाधिकारी उम्मेदवार छनोटमा लागेका छन् ।
नेताहरूका अनुसार सबै पार्टीबाट यसपटक युवा उम्मेदवार प्राथमिकतामा परेका छन् । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको प्रभाव र पार्टीमा समेत युवाको बढ्दो हस्तक्षेपले नवयुवालाई उम्मेदवार बन्न सहज बनाइदिएको छ ।