२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

प्रत्यक्षमा पत्याइएनन् महिला

shivam cement
दिवाकर अधिकारी
२०८२ माघ ७ गते ०६:३५
Shares
प्रत्यक्षमा पत्याइएनन् महिला

काठमाडौं : प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फबाट निर्वाचित हुने १ सय ६५ पदका लागि ३ हजार ४ सय २८ जनाको उम्मेदवारी परेको छ । जसमा पुरुषको संख्या ३ हजार ३७ जना र महिलाको संख्या ३ सय ९१ रहेको छ । 

निर्वाचन आयोगका सचिव कृष्णबहादुर रावतका अनुसार महिला उम्मेदवारको संख्या १२ प्रतिशतभन्दा कम रहेको छ । 

नेपाली कांग्रेसले ११ जना महिलालाई उम्मेदवार बनाएको छ । जसमा नेताहरू महालक्ष्मी उपाध्याय ‘डिना’, सरिता प्रसाई, सुशीला थिङ, किरण यादव, सपना राजभण्डारी, नानु बास्तोला छन् । यी ११ जनामध्ये प्रसाई, यादव, थिङ, उपाध्याय, राजभण्डारी र कुसुमदेवी थापा मगर पूर्वसांसद पनि हुन् ।

नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षबाट १० जना महिलालाई प्रत्यक्षको उम्मेदवार बनाएको छ । जसमा धर्मशिला चापागाईं, सरिता खड्का थापा, रामकुमारी चौधरी, मेनका भण्डारी, कल्पना शर्मा, रेणु दाहाल, यशोदा सुवेदी, डा. सिन्धु जलेशा, बिनामगर रहेका छन् । 

एमालेले पनि कम संख्यामा महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ । एमालेले बनाएका प्रत्यक्षमा महिला उम्मेदवारहरू हुन् – भगवती चौधरी (सुनसरी–४), कल्पना राई (सोलुखुम्बु), अस्मिता थापा (ओखलढुंगा)लाई उम्मेदवार बनाएको छ । त्यस्तै, मधेशबाट दुई महिला जुली महतो (धनुषा–३) र ज्वाला शाह (बारा–३) छन् । गण्डकीबाट भगवती न्यौपाने (तनहुँ–१), मञ्जु शर्मा चालिसे (बागलुङ–२) गरी २ महिला उम्मेदवार तय भएको छ । लुम्बिनीबाट एक मात्र महिला उम्मेदवार विमला विक (बर्दिया–२) छिन् । 

संघीय संसदमा महिलोको प्रतिनिधित्व ३३ प्रतिशत अनिवार्य छ । तर प्रत्यक्षमा उम्मेदवारी कम परेको छ । ३३ प्रतिशत पु¥याउन अब दलहरूले समानुपातिक तर्फबाट महिला सांसद बनाउनेछन् । 

२ सय ७५ सदस्यीय प्रतिनिधि सभामा १ सय १० जना समानुपातिक तर्फबाट र १ सय ६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुन्छन् । समानुपातिकतर्फको मनोनयन गत पुस १३ र १४ गते भइसकेको छ । प्रत्यक्षतर्फ मंगलबार मनोनयन आज भएको हो । 
राजनीतिक दलहरूले प्रत्यक्षतर्फ प्रायः जित सुनिश्चित ठानिएका क्षेत्रमा पुरुष उम्मेदवारलाई प्राथमिकता दिने गरेका छन् । महिला नेताहरूलाई भने जोखिमपूर्ण वा कमजोर मानिएका क्षेत्रमा पठाउने, अथवा समानुपातिक सूचीमा राखेर प्रतिनिधित्व पूरा भएको देखाउने प्रवृत्ति छ । यसले गर्दा महिला राजनीतिमा सक्रिय भए पनि निर्णायक प्रतिस्पर्धामा पुग्नै नपाउने अवस्था सिर्जना भएको छ ।
मंगलबारको प्रत्यक्षतर्फको उम्मेदवारीले पनि यस्तै प्रवृत्तिले निरन्तरता पाएको देखाउँछ । 

टिकट वितरणमा पुरुषकै वर्चस्व 

महिला उम्मेदवार कम हुनुको कारण टिकट वितरण गर्ने संरचनामा महिलाको उपस्थिति न्यून हुनु हो । नेपाली कांग्रेसको टिकट वितरण विशेष महाधिवेशनबाट सभापति भएका गगन थापाले गरेका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले टिकट वितरण गरेका हुन् । 

दलभित्रको आन्तरिक लोकतन्त्र कमजोर हुनु, उम्मेदवारी चयन व्यक्तिगत प्रभाव र आर्थिक सामथ्र्यमा निर्भर हुनुले पनि महिलालाई पछाडि धकेलिरहेको छ । चुनाव खर्चिलो बन्दै जाँदा स्रोतसाधन कम भएका महिलालाई प्रत्यक्ष प्रतिस्पर्धामा उत्रन झन् कठिन भएको छ ।

यसका साथै सामाजिक–सांस्कृतिक अवरोध पनि उत्तिकै बलियो छन् । प्रत्यक्षतर्फ महिला प्रतिनिधित्व बढाउन दलभित्र अनिवार्य कोटा, सुरक्षित निर्वाचन क्षेत्रलगायतको विषय निरन्तर बहसमा आउने गरेको छ । २०८० सालमा गृह मन्त्रालय पुगको एकीकृत निर्वाचन विधेयकमा महिलाका लागि सुरक्षित निर्वाचन क्षेत्रको प्रावधान छ । तर उक्त विधेयक अगाडि बढ्न सकेको छैन । 

सम्बन्धित खबर