२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

स्वतन्त्रको लहर 

निर्वाचन आयोगका अनुसार ३ हजार ३ सय ८७ जना उम्मेदवार छन् । त्यसमध्ये १ हजार १ सय ८९ जना स्वतन्त्र उम्मेदवार छन् । यो प्रतिशतका हिसाबले स्वतन्त्र उम्मेदवारको संख्या ३४ दशमलव शून्य ९ प्रतिशत हो । 

shivam cement
दिवाकर अधिकारी
२०८२ माघ ८ गते ०९:१५
Shares
स्वतन्त्रको लहर 

काठमाडौं : यस पटकको निर्वाचनमा एक तिहाइ स्वतन्त्र उम्मेदवार रहेका छन् । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा समानुपातिकतर्फबाट १ सय १० जना र प्रत्यक्षतर्फबाट १ सय ६५ जना प्रत्यक्ष निर्वाचित हुन्छन् । प्रत्यक्षतर्फ ३ हजार ४ सय ८७ र समानुपातिकतर्फ ३ हजार २ सय १३ जनाले उम्मेदवारी दिएका छन् । यसरी उम्मेदवारी दिनेमध्ये प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवारी दिनेको संख्या एक तिहाइ रहेको छ ।

निर्वाचन आयोगका अनुसार ३ हजार ३ सय ८७ जना उम्मेदवार छन् । त्यसमध्ये १ हजार १ सय ८९ जना स्वतन्त्र उम्मेदवार छन् । यो प्रतिशतका हिसाबले स्वतन्त्र उम्मेदवारको संख्या ३४.०९ प्रतिशत हो । बाँकी २ हजार २ सय ९८ दलीय उम्मेदवार छन् । दलीय उम्मेदवारको संख्या प्रतिशतका हिसाबले ६५ दशमलव ९० छ । 

विगतमा पनि स्वतन्त्र उम्मेदवार रहने गरेका छन् । २०७९ को निर्वाचनमा स्वतन्त्र नाम गरेको दल नै निर्वाचनमा सहभागी भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी नै गठन गरेर वैकल्पिक राजनीतिको वकालत गरिरहेकाहरू चुनावमा होमिएका थिए । २१ सिट ल्याएर यो पार्टी विघटित प्रतिनिधि सभामा चौथो शक्तिका रूपमा रहेको थियो । यो पार्टी यसपटक पनि चुनावी मैदानमा छ । 

२०७९ को निर्वाचनमा मधेशबाट सिके राउत नेतृत्वको जनमत पार्टी उदाएको थियो । नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि गत चुनावबाट उदाएको दल हो । यी दुवै दल पनि चुनावी मैदानमा छन् । 

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका महावीर पुन नै मन्त्रिपरिषद्बाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका छन् । मनोनयन दर्ताको दिन बिहान मन्त्री पदबाट राजीनामा दिए । म्याग्दी गएर प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिए । त्यसपछि पत्रकारहरूसँग कुरा गर्दै उनले भनेका छन्, ‘कुनै पार्टीको पुच्छर बन्न चाहन्नँ । पुरानोले सकेनन्, ढंग ल्याएन । अब नयाँले ल्याउँछ कि भनेको हो ।’ ३५ वर्षसम्म पनि पुराना पार्टीले ढंग नल्याएपछि स्वतन्त्र उम्मेदवार भएर अगाडि बढेको उनको प्रतिक्रिया छ । विगतका निर्वाचनहरूमा पनि स्वतन्त्र उम्मेदवार थिए । तर स्वतन्त्र उम्मेदवारले चुनाव न्युन संख्याले मात्र रहेका छन् । तथापि स्वतन्त्र उम्मेदवारी दिनेको संख्या घट्नुको संख्या बढ्दो छ । 

काठमाडौं निर्वाचन क्षेन नम्बर ४ मा ८७ वर्षीय पूर्वप्रशासक मदनदेव आचार्यले उम्मेदवारी दिएका छन् । मनोनयन दर्ता गराएपछि पत्रकारहरूसँग कुरा गर्दै आचार्यले भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि उम्मेदवारी दिएको बताए ।

प्रत्यक्षतर्फको मनोनयन यही माघ ६ गते भएको हो । उम्मेदवारको अन्तिम नामावली यही माघ ९ गते प्रकाशित गर्ने निर्वाचन कार्यतालिका छ ।

जो बागी उम्मेदवार बने 

स्वतन्त्र उम्मेदवारी दिनेहरूमा आफू आबद्ध दलबाट टिकट नपाएपछि बागी उम्मेदवारी दिनेहरू पनि छन् । 

नेपाली कम्युनिस्ट पार्टीले सिन्धुलीमा लेखनाथ दाहाल ‘राजन’लाई टिकट दिएको थियो । नेकपाबाट उम्मेदवारका आकांक्षी अर्का नेता महेश्वर दाहालले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् । 
सिन्धुली–२ मा पार्टीका उम्मेदवार लेखनाथ दाहालविरुद्ध केन्द्रीय सदस्य तथा प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष महेश्वर दाहालले बागी उम्मेदवारी दिएका हुन् । 

यो क्षेत्रमा दाहाल पक्ष र विपक्षीबीच पहिलेदेखि नै चर्को द्वन्द्व थियो । महेश्वरको उम्मेदवारी परेपछि नेता÷कार्यकर्ताहरू दुईतिर लागेका छन् । साबिक माओवादी केन्द्रका उपमहासचिव हरिभक्त गजुरेलले पनि महेश्वरलाई समर्थन गरेका छन् । गजुरेल २०७९ सालमै टिकट नपाएपछि असन्तुष्ट थिए । यो क्षेत्रमा २०६४ देखि माओवादीले जित्दै आएको छ । अघिल्लो निर्वाचनमा लेखनाथ कांग्रेस–माओवादी गठबन्धनका साझा उम्मेदवार बनेर जितेका थिए । 

कालीकोटमा नेपाली कांग्रेसबाट नेता भूपेन्द्रजंग शाही उम्मेदवारका आकांक्षी दिए । तर पार्टीले हर्षबहादुर बमलाई टिकट दियो । पार्टीले टिकट नदिएपछि शाहीले स्वतन्त्र उम्मेदवारी दर्ता गरे । २०७० सालको संविधान सभा निर्वाचन र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा टिकट पाएका शाहीले यसपटक टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 

कालीकोटमै नेकपाका नेता जीवन बुढाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टीबाट उम्मेदवारका दाबेदारी रहेका बुढाले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । कालीकोटमा नेकपाका आधिकारिक उम्मेदवार महेन्द्रबहादुर शाही रहेका छन् । यस क्षेत्रबाट सधैं पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही मात्र उम्मेदवार बनेको भन्दै नेता जीवन बुढाले बागी उम्मेदवारी दिएका हुन् । 

दाङ निर्वाचन क्षेत्र नम्बर १ मा पनि नेकपाको असन्तुष्ट पक्षबाट बागी उम्मेदवारी परेको छ । यस क्षेत्राट पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी सोनाम आकांक्षी थिए । पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । नेकपाको आधिकारिक उम्मेदवारका रूपमा भने मेटमणि चौधरी रहेका छन् । अघिल्लो निर्वाचनमा पनि चौधरीले यही क्षेत्रबाट चुनाव जितेका थिए । 

पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट टिकटका आकांक्षी रहेका राजेश्वरप्रसाद साहले पनि पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् । कांग्रेसले पर्सा–२ बाट आधिकारिक रूपमा पूर्वकानुनमन्त्री अजयकुमार चौरसियालाई उम्मेदवार बनाएको छ ।

स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता साह भने आफू चुनाव जित्ने दाबी गर्छन् । उम्मेदवारी दर्तापछि उनले पत्रकारहरूसँग भनेका छन्, ‘मैले आफ्ना लागि उम्मेदवारी दिएको होइन, युवाहरूका लागि दिएको हुँ । परिर्वतनका लागि मैले उम्मेदवारी दिएको हुँ ।’ 
 

सम्बन्धित खबर