२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

तोडियो गठबन्धन, १२ वर्षपछि एक्लाएक्लै चुनावमा दलहरू

shivam cement
दिवाकर अधिकारी
२०८२ माघ १० गते ०६:२५
Shares
तोडियो गठबन्धन, १२ वर्षपछि एक्लाएक्लै चुनावमा दलहरू

काठमाडौं : चुनाव अगाडि नै दलबीच गठबन्धन गर्ने अभ्यास तोडिएको छ । प्रमुख दलहरूले चुनाव अगाडि गठबन्धन गर्ने र चुनाव पछाडि चुनाव अगाडिको गठबन्धन भत्काएर सरकार बनाउने अभ्यास विकास हुँदै आएको थियो । यस्तो संस्कृतिकै धब्जी उडाएको टिप्पणी भइरहेका बेला आगामी निर्वाचनमा दलहरू एक्लाएक्लै चुनावी मैदानमा देखिने भएका हुन् । 

निर्वाचन आयोगको निर्वाचन तालिकाअनुसार शुक्रबार उम्मेदवारी फिर्ता लिने समयसमेत सकिएको छ । यससँगै अब दलबीच उम्मेदवार फिर्ता गराएर भए पनि गठबन्धन गर्न सक्ने सम्भावनालाई अन्त्य गरिदिएको छ । अर्थात् १२ वर्षपछि दलहरू एक्लाएक्लै निर्वाचनमा होमिएका छन् । 

२०६४ सालको चुनावमा दलहरू एक्लाएक्लै चुनावी मैदानमा थिए । २०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनबाट गठबन्धन संस्कृति सुरु भयो । त्यसबेला केही राजनीतिक दलहरूले अघोषित रूपमा केही निर्वाचन क्षेत्रमा चुनावी गठबन्धन गरेका थिए । प्रमुख दलबीच नै गठबन्धन गर्ने अभ्यास भने २०७४ सालबाट सुरु भएको हो ।

२०७४ सालको को स्थानीय चुनावमा एमालेविरुद्ध कांग्रेस र माओवादीले गठबन्धन गरे । कम्युनिस्ट र कांग्रेसले साझा उम्मेदवार उठाए । २०७४ मै उक्त गठबन्धन भत्कियो । २०७४ मंसिरमा भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसविरुद्ध एमाले र माओवादीले गठबन्धन गरे । वामशक्तिविरुद्ध लड्न कांग्रेसले पनि राप्रपासहितका साना शक्ति समेटेर गठबन्धन बनायो । मधेश प्रदेशमा उपेन्द्र यादव र महन्थ ठाकुर नेतृत्वका दलहरूले गठबन्धन गरे । 

चुनाव अगाडिको गठबन्धन चुनाव पछाडि लामो समय टिकेन । एमालेलाई सरकारबाट हटाएर कांग्रेस र माओवादीसहितका दलले सरकार बनाए । २०७९ को चुनावमा कांग्रेस र माओवादीसहितका पाँच दल गठबन्धनमा रहे । एमालेले राप्रपालगायतसँग मिलेर गठबन्धन बनायो ।

२०७९ को चुनाव अगाडिको गठबन्धन पनि चुनाव पछाडि भत्कियो । माओवादीले एमालेसँग मिलेर सरकार बनायो । यसरी छोटो समयमै गठबन्धन बन्ने र भत्किने प्रवृतिले गठबन्धन संस्कार बद्नाम र विकृत बन्न पुग्यो । जसविरुद्ध समाजमा प्रश्नहरू थिए । 

जेनजी आन्दोलन अगाडि त विघटित प्रतिनिधि सभाका पहिलो र दोस्रो दल कांग्रेस र एमालेले नै सरकार बनाए । यी दुई दल चुनावमा पनि गठबन्धन गर्ने प्रयासमा थिए । कांग्रेसभित्र नेतृत्व परिवर्तन हुँदा कांग्रेस र एमालेको चुनावी गठबन्धन गर्ने तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीको चाहना सफल हुन सकेन । परिणाममा १२ वर्षपछि दलहरू एक्लाएक्लै चुनावमा होमिने वातावरण बनेको हो । 

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा निर्वाचनमा एक्लाएक्लै चुनावमा लडौं भन्ने विषयलाई लामो समयदखि उठाउँदै आएको सम्झिन्छन् । 

‘प्रधानमन्त्रीको कुर्सी ताकेर गर्ने गठबन्धन गर्ने कुरा खारेज भएका छन्’ उनी सामाजिक सञ्जालमा लेख्छन्, ‘सरकार बनाउन चाहिने बहुमत पुगेन भने आवश्यक गणितका लागि चुनावपछि संवाद गरौंला ।’

एक्लाएक्लै चुनावमा जाँदा दलहरूले आ–आफ्ना दलका नेतृत्वलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेका छन् । कांग्रेसले सभापति गगन थापालाई नै भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ । एमालेले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको छ ।

२७५ सदस्यीय प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत १ सय १० जना र प्रत्यक्षतर्फबाट १ सय ६५ जना निर्वाचित हुन्छन् । सरकार बनाउन १ सय ३८ जना सांसद संख्या आवश्यक पर्छ । यदि निर्वाचनमार्फत एउटै दलको सांसद संख्या १ सय ३८ नभए वा नपुगे दुई वा दुईभन्दा बढी दलबीच बल्ल गठबन्धन गर्ने गरी छलफल हुन सक्छ । 

सम्बन्धित खबर