२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

राष्ट्रिय सभा चुनाव : आज मतदान, कांग्रेस-एमाले तालमेल यथावत्

shivam cement
दिवाकर अधिकारी
२०८२ माघ ११ गते ०६:३०
Shares
राष्ट्रिय सभा चुनाव : आज मतदान, कांग्रेस-एमाले तालमेल यथावत्

काठमाडौं : राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ मध्ये १८ पदका लागि आज निर्वाचन हुँदै छ । निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा सदस्यको निर्वाचनको सबै तयारी पूरा भएको छ । सातवटै प्रदेशमा मतदान केन्द्र छ । मतदान केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । 

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदै छ । त्यसमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुन् । बाँकी १८ सदस्य निर्वाचनबाट आउनेछन् । 

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम कायम भएका मतदाताहरूले मतदान गर्न पाउनेछन् ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख एवं पदाधिकारी मतदाता हुन्छन् । सातवटै प्रदेशमा ५ सय ५० प्रदेश सभा सदस्य छन् । ७ सय ५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी स्थानीय तहका पदाधिकारीतर्फ मात्रै १ हजार ५ सय ६ मतदाता रहन्छन् । मतदान गर्न जाँदा उनीहरूले पाँच किसिमका कागजातमध्ये एउटा लैजानुपर्नेहुन्छ । 

निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र, निर्वाचन अधिकृतबाट प्रदेश सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाणपत्र, निर्वाचन अधिकृतबाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाणपत्र भए पनि मतदान गर्न पाइनेछ ।

प्रदेश सभा सचिवालय वा स्थानीय तहले उपलब्ध गराएको सम्बन्धित पद खुलाएको परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र जुन भए पनि एउटा प्रमाण चाहिन्छ ।

निर्वाचन आयोगका अनुसार १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये कांग्रेस र एमालेले भागबन्डा गरेर क्रमश नौ र आठ सिटमा उम्मेदवारी दिएका छन् । बाँकी एउटा पदमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार महन्थ ठाकुरलाई समर्थन गरेका छन् ।

कोशी प्रदेशबाट तीन जना, मधेश प्रदेशबाट चार जना, बागमती र गण्डकी प्रदेशबाट दुई-दुई जना, लुम्बिनी प्रदेशबाट तीन जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट दुर्ई÷दुई जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुँदै छन् ।

भागबन्डाअनुसार मधेश प्रदेशमा कांग्रेसबाट सुनिलबहादुर थापा, एमालेबाट रोशनी मेचे र सोम पोर्तेल उम्मेदवार छन् । कोशी प्रदेशमा कांग्रेसका धमेन्द्र पासवान, रन्जित कर्ण र एमालेका रेखा झा उम्मेदवार छन् ।

बागमती प्रदेशमा कांग्रेसले गीता देवकोटा र एमालेले प्रेम दंगाललाई उम्मेदवार बनाएको छ । गण्डकी प्रदेशमा कांग्रेसबाट जगत तिमिल्सिना र एमालेबाट र सम्झना देवकोटा उम्मेदवार छन् । लुम्बिनी प्रदेशमा कांग्रेसबाट वासुदेव जंगली र चन्द्रबहादुर केसी, एमालेबाट रामकुमारी झाक्री उम्मेदवार छन् ।

कर्णाली प्रदेशमा कांग्रेसबाट ललितजंग शाही, एमालेबाट मिना रखाल, सुदूरपश्चिम प्रदेशमा कांग्रेसका खम्मबहादुर खाती र एमालेका लीला भण्डारी उम्मेदवार रहेका छन् ।

नेताहरूका अनुसार राष्ट्रिय सभा चुनावमा कांग्रेस र एमाले तालमेल यथावत् छ । तालमेलको निर्णय हुँदा कांग्रेस सभापतिमा शेरबहादुर देउवा थिए । विशेष महाधिवेशनबाट गगन थापा सभापति भएका छन् । देउवा नेतृत्वको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट निर्णय नै गरेर एमालेसँगको तालमेल भएको थियो । विशेष महाधिवेशनबाट आएको नेतृत्वले पूर्वनेतृत्वले निर्णय गरेअनुसार राष्ट्रिय सभा निर्वाचनमा एमालेसँगको तालमेललाई यथावत् रहेको छ । 

नेपाली कम्युनिस्ट पार्टीले भने सबैतिर एकल उम्मेदवारी दिएको छ ।

सम्बन्धित खबर