
काठमाडौं : राष्ट्रिय सभा सदस्यको रिक्त हुन लागेका १८ पदमा नयाँ अनुहार आएका छन् । निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भयो । निर्वाचनमा ९५ दशमलव ६८ प्रतिशत मतदान भएको थियो । मतदानपश्चात् साँझ नै परिणाम आएको छ ।
कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भए । यो प्रदेशबाट एमालेकी रोशनी मेचे र सोमनाथ पोर्तेल मतदानबाट चुनिए ।
मधेस प्रदेशबाट कांग्रेसका धमेन्द्र पासवान र रञ्जित कर्ण निर्वाचित भए । एमालेकी रेखाकुमारी झा निर्वाचित भइन् । गठबन्धनबाट उम्मेदवार रहेका लोसपाका महन्थ ठाकुर पनि चुनिए ।
बागमती प्रदेशबाट कांग्रेसकी गीता देवकोटा, एमालेका प्रेमप्रसाद दंगाल, गण्डकी प्रदेशबाट एमालेकी सम्झना देवकोटा, कांग्रेसका जगत तिमिल्सिना निर्वाचित भए । लुम्बिनी प्रदेशबाट कांग्रेसका बासुदेव जंगली र चन्द्रबहादुर केसी चुनिए । यो प्रदेशबाट एमालेकी रामकुमारी झाक्री निर्वाचित भइन् ।
कर्णाली प्रदेशबाट कांग्रेसका ललितजंग शाही, एमालेका मीनासिंह रखाल, सुदूरपश्चिम प्रदेशबाट एमालेकी लीलाकुमारी भण्डारी र कांग्रेसका खम्मबहादुर खाती निर्वाचित भएका छन् ।
५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक दुई÷दुई वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुन्छ । यसअन्तर्गत आइतबार भएको निर्वाचनबाट १८ जना चुनिएका हुन् । अर्का एक जना राष्ट्रपतिबाट मनोनीत सांसद वामदेव गौतमले राजीनामा दिइसकेका छन् । उनको ठाउँमा सरकारको सिफारिसमा राष्ट्रपतिले अर्को व्यक्तिलाई मनोनीत गर्नेछन् ।
उपल्लो सदनका रूपमा समेत लिइने राष्ट्रिय सभा स्थायी सदन हो । कहिले पनि खाली नहुने गरी एक तिहाइ सदस्यका लागि प्रत्येक दुई÷दुई वर्षमा निर्वाचन गर्ने संवैधानिक व्यवस्था छ ।
कानुन निर्माणमा संघीय संसद्का दुवै सदनको भूमिका हुन्छ । तल्लो सदनका रूपमा लिइने प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैबाट विधेयक पारित हुनुपर्छ । एउटा सदनले गरेको संशोधन अर्को सदनले स्वीकार गर्नुपर्छ ।
सरकार निर्माणमा भने राष्ट्रिय सभा सदस्यको भूमिका हुँदैन । २ सय ७५ सदस्यीय प्रतिनिधि सभाले मात्रै सरकार बनाउँछ ।
पढाउँदा पढाउँदै सांसद भए जगत
राष्ट्रिय सभाका नयाँ सदस्यहरूमा यस्ता अनुहार पनि छन् जो केही दिन अगाडिसम्म विद्यार्थीलाई पढाइरहेका थिए । ती हुन्– जगत तिमिल्सिना । तिमिल्सिना गण्डकी प्रदेशबाट निर्वाचित भएका हुन् ।
राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गत पुस २३ गते भएको हो । त्यसको केही दिन अगाडिसम्म उनी त्रिभुवन विश्वविद्यालय व्यवस्थापन विभागमा अध्यापनरत थिए । राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुने पक्का भएपछि राजीनामा दिए र उम्मेदवार भए । आइतबार निर्वाचित भए । तिमिल्सिना तनहुँ शुक्लागण्डकी–७ खैरेनीटार निवासी हुन् ।
उनी कांग्रेस समर्थित प्रजातान्त्रिक प्राध्यापक संघमा २०७३ सालदेखि अध्यक्ष छन् । कांग्रेस पृष्ठभूमिका भए पनि पार्टीको जिम्मेवारीमा भने थिएनन् ।
प्रत्यक्ष हारेकाहरू सिधै माथिल्लो सदनमा
आइतबार राष्ट्रिय सभा सदस्यमा निर्वाचित केही अनुहार जनताले प्रत्यक्ष मतदान गर्ने निर्वाचनबाट तिरस्कृत भएकाहरू पनि छन् । ती हुन्– सुनिलबहादुर थापा, रामकुमारी झाँक्री र ललितजंग शाही र सम्झना देवकोटा ।
राष्ट्रिय सभा सदस्यको मतदाता स्थानीय तहका पदाधिकारी र प्रदेश सभा सदस्य हुन्छन् । उनीहरू जनताबाट निर्वाचित भएर आएका प्रतिनिधि हुन् । स्थानीय तह र प्रदेशका जनप्रतिनिधि भनेका अधिकांश दलीय टिकट लिएर निर्वाचित प्रतिनिधि हुन् । जहाँ दलको प्रभाव रहन्छ । दलको प्रभावको प्रयोग गर्दै स्थानीय तह र प्रतिनिधि सभा तथा प्रदेश सभामा निर्वाचित हुन नसकेकाहरू राष्ट्रिय सभामा आएका हुन् ।
एक हुन्– सुनिलबहादुर थापा । थापाले २०७० सालमा धनकुटा २ बाट संविधानसभा सदस्यको चुनाव जितेका थिए । २०७४ र २०७९ को चुनाव हारे । त्यसपछि राष्ट्रिय सभा सदस्य भए र चुनाव जिते ।
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रामकुमारी झाँक्री २०७४ मा समानुपातिक प्रणालीबाट प्रतिनिधि सभा सदस्य भएकी थिइन् । तर २०७९ को प्रतिनिधि सभा सदस्यको चुनावमा हार बेहोरेकी थिइन् । यसपटक राष्ट्रिय सभा सदस्य भइन् ।
कर्णाली प्रदेशबाट निर्वाचित ललितजंग शाही २०६४ को पहिलो संविधान सभा चुनावमा उम्मेदवार थिए । तर पराजित भए । २०७० को दोस्रो संविधान सभा चुनावमा विजयी भए । २०७९ को चुनावमा प्रदेश सभा सदस्यमा हारे । यसपटक राष्ट्रिय सभा सदस्य भए ।
यस्तै उदाहरण हुन्– गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित सम्झना देवकोटा । उनी २०७४ को निर्वाचनमा गोरखा नगरपालिकाबाट उपमेयरमा उम्मेदवार थिइन् । पराजित भइन् । २०७९ को निर्वाचनमा सोही नगरपालिकामा मेयरको उम्मेदवार भइन् । चुनाव जितिनन् । २०८० माघमा भएको राष्ट्रिय सभाको निर्वाचनमा पनि उम्मेदवार थिइन्, जितिनन् । यसपटक भने देवकोटा विजयी भइन् ।