२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

चुनाव निश्चित, संसद् भवन अनिश्चित

shivam cement
दिवाकर अधिकारी
२०८२ माघ १४ गते ०६:३०
Shares
चुनाव निश्चित, संसद् भवन अनिश्चित

काठमाडौं : प्रतिनिधि सभा सदस्यको चुनाव निश्चित भएर यससँग सम्बन्धित गतिविधि निकै अगाडि बढिसकेको छ । समानुपातिक र प्रत्यक्षतर्फको मनोनयन दर्ता भएसँगै राजनीतिक दल र उम्मेदवारहरू चुनावी प्रचारमा लागि सके । तर २१ फागुनको चुनावबाट निर्वाचित भएर आउने प्रतिनिधि सभा सदस्य कहाँ बस्ने हो निश्चित भएको छैन । संसद् बैठक कहाँ राख्ने भन्ने विषय अझैसम्म अनिश्चित छ ।

संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार यो विषयमा सरकारसँग कुराकानी भएको छ । उनी भन्छन्, ‘संसद् बैठक कहाँ बस्ने हो ? सांसदहरू, संसदीय दलका पदाधिकारी र संसद् सचिवालयका कर्मचारी कहाँ रहने हो ? यो प्रश्न हामीले सरकारलाई गरेका छौं, जवाफ आएको छैन ।’ 

गत सोमबार संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे, सचिव रोजनाथ पाण्डेलगायतका संसद्का कर्मचारी सहरी विकास मन्त्रालय पुगेका थिए । उनीहरूले सहरी विकासमन्त्री प्राडा कुमार इङ्नाम र सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललगायतसँग भेटे । छलफलमा सहरी विकासमन्त्री इङ्नामले २१ फागुनमा निर्वाचन भइसकेपछि चैत १ गतेबाट संसद्को बैठक चलाउने सरकारको तयारी रहेको बताएका छन् । 

संसद् सचिवालयका कर्मचारीहरूले भने संसद् बैठकको तयारीका लागि अधिवेशन सुरु हुनुभन्दा १५/२० दिनअगाडि भवन चाहिने बताएको छ । संसद् सञ्चालनका सन्दर्भमा आन्तरिक तयारीका लागि संसद् सचिवालयलाई समय चाहिने भनेर सरकारको ध्यानाकर्षण गरेका हुन् । 

सिंहदरबार भित्रै संसद् भवन बनिरहेको छ । तर निर्माण सकिएको छैन । यो भवन निर्माणको जिम्मा विशेष भवन आयोजनाले लिएको छ । भवन निर्माणको ठेक्का तुन्दी–सेक जेभीले पाएको छ । ठेकेदारले गत पुस १६ गतेभित्र सबै काम सक्नुपर्ने सम्झौता थियो । तर हालसम्म ८८ प्रतिशत मात्रै काम सकिएको छ ।

संसद् सचिवालयले यही माघ ९ गते विशेष भवन आयोजनाका अधिकारीहरूसँग पनि छलफल गरेका थिए । छलफलमा उनीहरूले ब्रिफिङ गरेअनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको सभा हलको काम सकिएको छ ।

सिंहदरबार भित्र संसद्का लागि १२ वटा भवन बन्दै छन् । त्यसमध्ये ६ वटा भवन चैत १ गते अगाडि नै हस्तान्तरण गर्न सकिने अवस्थामा रहेको आयोजनाले जनाएको छ ।

सहरी विकास मन्त्रालयका निर्माणाधीन संसद्को नयाँ भवन अत्याधुनिक सुविधासम्पन्न छ । सिंहदरबारको पुतली बगैंचामा बन्दै गरेको भवननजिकै राजनीतिक दलका लागि संसदीय दलको कार्यालय राखिएका छन् । संसद् सचिवालय, राष्ट्रिय सभा र प्रनिनिधि सभाका लागि आवश्यक संरचनानजिकै राखिएको छ ।

नयाँ संसद् भवन क्षेत्रको मध्यभागमा भिभिआइपीका लागि प्रवेशद्वार छ । त्यसकै छेउमा कर्मचारी तथा अन्यका लागि प्रवेशद्वार छ । मुख्य गेटबाट प्रवेश गर्नेबित्तिकै प्लाजामा पुगिन्छ । त्यसको एकापट्टि संसद् सचिवालय छ, अर्कोपट्टि प्रतिनिधि सभाको हल छ । सचिवालय र प्रतिनिधि सभाको पछिल्लो भागमा एकापट्टि संसदीय दलको कार्यालय र अर्कोपट्टि राष्ट्रिय सभा छ ।

७ सय सिट क्षमताको प्रतिनिधि सभा बैठक कक्ष छ । सभा हल ४ सय र बाल्कोनीमा ३ सय क्षमता छ । राष्ट्रिय सभाको बाल्कोनीमा २ सय ९० सिट क्षमता छ । ३ सय ५० सिट अट्ने संयुक्त लबी छ ।

साना–ठुला गरी १० वटा राजनीतिक दलका लागि संसदीय दलको कार्यालय र बैठक कक्ष बनाइएको छ । प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, दलका प्रमुख सचेतकलगायतलाई अति विशिष्ट कक्ष तयार गरिएको छ । हरेक कार्यकक्षमा २५ सिटको बैठक हलको व्यवस्था गरिएको छ ।

संघीय संसद् परिसरमा पुस्तकालय र क्यान्टिन हुनेछ । नयाँ संसद् भवन क्षेत्रभित्र बगैंचा र सानो चौर रहनेछ ।

तर यो भवनमै संसद् बैठक बस्छ वा बस्दैन भन्ने यकिन भएको छैन । यदि समयमै संसद् भवन निर्माणको कार्य नसकिने हो र वैकल्पिक उपाय खोज्ने हो भने त्यसबारे समयमै सोच्न सरकारलाई संसद् सचिवालयले आग्रह गरिसकेको छ ।

संसद् सचिवालयले पत्र नै लेखेर मुख्यसचिव सुमनराज अर्याललाई यस्तो आग्रह गरेको हो । जहाँ फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनपश्चात् संसद् बैठक बस्न आवश्यक सभा हल, पदाधिकारी र सचिवालयका कर्मचारीहरूको कार्यकक्ष, संसदीय दलका कार्यालयहरूको व्यवस्थापनबारे ध्यानाकर्षण गरिएको छ ।

‘सभा सञ्चालनका लागि आवश्यक अडियो, भिडियो रेकर्डिङ, लाइभ प्रसारण, श्रव्यदृश्य र सूचना प्रविधिसम्बन्धी उपकरणलगायतका भौतिक संरचनासहितको पूर्वाधार नभएकाले सोको आवश्यक व्यवस्था मिलाइदिनुहुन सचिवालय (श्रीमान् महासचिवस्तर)को ...निर्णयानुसार सादर अनुरोध गर्दछु’ संसद् सचिवालयले मुख्यसचिव अर्याललाई लेखेको पत्रमा उल्लेख छ । 

सम्बन्धित खबर