२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सिङ्गापुर र अमेरिकाबीच गैर–सैनिक परमाणु उर्जा सहयोग सम्झौतामा हस्ताक्षर

Nada
२०८१ साउन १६ गते १३:५२
Shares
सिङ्गापुर र अमेरिकाबीच गैर–सैनिक परमाणु उर्जा सहयोग सम्झौतामा हस्ताक्षर

काठमाडौं– संयुक्त राज्य अमेरिका र सिङ्गापुरले बुधबार परमाणु ऊर्जाको शान्तिपूर्ण प्रयोगको सम्बन्धलाई प्रगाढ बनाउने उदेश्यले एउटा सम्झौतामा हस्ताक्षर गरेको छ । एशियाको भ्रमणको क्रममा वासिङ्टनका शीर्ष कूटनीतिज्ञ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र उनका सिङ्गापुरका समकक्षी भिभियन बालाकृष्णनले गैर–सैनिक परमाणु उर्जासँग सम्बन्धित ‘१२३ सम्झौता’ मा हस्ताक्षर गरेका छन् ।

ncell

‘यो सम्झौता संयुक्त राज्य अमेरिका र सिङ्गापुरबीच लामो समयदेखि रहेको सहकार्यमा आधारित छ । यसले आपसी प्रतिबद्धतामा आधारित शान्तिपूर्ण गैरसैनिक परमाणु उर्जा सहयोगका लागि गहिरो सम्बन्ध बनाउने विस्तृत ढाँचाको रूपरेखा बनाउँछ’, सम्झौतापछि दुवै देशका प्रतिनिधिद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।

क्षेत्रीय वित्तीय केन्द्र र विश्वव्यापी सेमिकन्डक्टर उद्योगको एक प्रमुख उत्पादक सिङ्गापुर हाल तेल र प्राकृतिक ग्यासमा भने निर्भर छ । यसले सन् २०५० सम्ममा शून्य कार्बन उत्सर्जनको लक्ष्य पूरा गर्न परमाणु उर्जासहितका विकल्पहरूको अध्ययन गरिरहेको छ । अमेरिकी संसदले समीक्षा गरेपछि सन् २०२४ को अन्त्यसम्ममा यो सम्झौता लागु हुने अपेक्षा गरिएको छ । 

‘यो सम्झौता ३० वर्षसम्म चल्नेछ र सिङ्गापुरलाई अमेरिकी ऊर्जा प्रविधि र निर्यात नियन्त्रणमा रहेको विशेषज्ञताबारे विस्तृत जानकारीको पहुँचमा सहजीकरण गर्नेछ’, विज्ञप्तिमा भनिएको छ, ‘यो सम्झौतापश्चात सिङ्गापुर पनि अमेरिकी विदेश विभागको कार्यक्रममा सामेल हुनेछ जसले साझेदारहरूलाई थप उन्नत परमाणु ऊर्जा प्रविधिबारे बुझ्न सक्षम बनाउँछ ।’

वासिङ्टनले चीन, इन्डोनेसिया, फिलिपिन्स र भियतनामलगायत २२ वटा  देशका साथै युरोपेली आणविक ऊर्जा समुदाय र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी गरी दुई संस्थाहरूसँग सक्रिय ‘१२३ सम्झौता’ गरेको छ । (एजेन्सी)
 

सम्बन्धित खबर