२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

बैतडीमा विद्यालयमै भोट माग्न थाले उम्मेदवार, विद्यार्थी आन्दोलित

shivam cement
ललित बोहरा
२०८२ माघ २० गते २२:३२
Shares
बैतडीमा विद्यालयमै भोट माग्न थाले उम्मेदवार, विद्यार्थी आन्दोलित

बैतडी : आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बैतडीका विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले विद्यालयका कार्यक्रमहरूमा भोट माग्न थालेपछि विद्यार्थीहरू आन्दोलित भएका छन् । 

बैतडीका विद्यालयहरूले आयोजना गरेका वार्षिक उत्सव तथा कार्यक्रममा राजनीतिक दलका उम्मेदवार तथा नेताहरूले सहभागी भइ मतदातासँग भोटको अपिल गर्न थालेपछि विवाद चर्किएको हो । विद्यालयलाई राजनीति गर्ने थलो बनाइएको भन्दै विद्यार्थीहरूले आपत्ति जनाएका छन् । 

आइतबार डिलाशैनी गाउँपालिका–७ धामी गाउँस्थित एक विद्यालयमा आयोजित तेस्रो वार्षिक उत्सव कार्यक्रममा एमालेबाट संघीय सांसदका उम्मेदवार दामोदर भण्डारी सहभागी भएका थिए । सो कार्यक्रममा एमाले बैतडीका निवर्तमान अध्यक्ष तथा सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र पाल, एमाले केन्द्रीय सदस्य गोविन्द गिरीलगायतका नेताहरूको समेत उपस्थिति रहेको थियो । 

कार्यक्रममा राजनीतिक एजेन्डा प्रस्तुत गरिएपछि शिक्षा केन्द्र अमर माध्यमिक विद्यालयमा तनाव उत्पन्न भएको छ । विद्यार्थीहरूले विद्यालय परिसरमा राजनीतिक गतिविधि गरिएको भन्दै तालाबन्दी गरेको आरोप लगाएका छन् । उनीहरूको भनाइमा वार्षिक उत्सवको दिन विद्यार्थीको प्रतिभा प्रदर्शनभन्दा नेताहरूलाई बढी समय दिइएको थियो । 

डिलाशैनी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत छैठौंमहादेव भट्टले विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार कार्यक्रम सञ्चालन हुने भएकाले गाउँपालिकाले तत्काल हस्तक्षेप गर्न नसक्ने बताए । तर विद्यालयले गल्ती गरेको भन्दै जिल्ला प्रशासन कार्यालयबाट पत्र आएमा रोक्न सकिने उनको भनाइ छ ।

यता विद्यालयका प्रधानाध्यापक प्रमानन्द भट्टले तालाबन्दी नभएको दाबी गर्दै सामान्य छलफल मात्र भएको बताएका छन् । थप प्रश्नको जवाफ नदिँदै उनले फोन काटेका थिए ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम गर्न नपाएको विषयमा विवाद भएको बुझिएको छ । प्रहरी टोली विद्यालय पुगे पनि तालाबन्दीबारे स्पष्ट जानकारी नआएको प्रहरीले जनाएको छ ।

विद्यालय व्यवस्थापन समिति सदस्य जनक बहादुर धामीले तालाबन्दी आफूले तोडेको आरोप लागेको बताएका छन् । गाउँपालिका अध्यक्ष सन्तोष जोशीका अनुसार दिउँसो तालाबन्दी भएपनि पछि खुलाइएको थियो । 

विद्यालयको अभिभावक भेलालाई राजनीतिक मञ्च बनाइएको भन्दै डिलाशैनी गाउँपालिकामा एमालेबाहेक अन्य राजनीतिक दलहरूले आक्रोश व्यक्त गरेका छन् । स्रोतका अनुसार व्यवस्थापन समिति अध्यक्ष जनक सिंह धामीले तालातोडेको आरोप विद्यार्थीहरूले लगाएका छन् र आन्दोलनरत विद्यार्थीहरूले पुनःतालाबन्दी गर्ने तयारी गरेका छन् । 

यसैबीच दशरथचन्द नगरपालिकाले एक सूचना जारी गर्दै शिक्षकहरू निर्वाचन आचारसंहिता उल्लंघनमा संलग्न भएको उजुरी परेको जनाएको छ । निर्वाचन कार्यालयको पत्राचारपछि नगरपालिकाले शिक्षकहरूलाई निर्वाचन आचारसंहिता २०८२ पालनाका लागि ध्यानाकर्षण गराएको छ ।

ताजा खबर

सम्बन्धित खबर