
ललितपुर : ललितपुर महानगरपालिका वडा नं २४ धापाखेलमा समावेशी सामुदायिक भवन निर्माण हुने भएको छ । बुधबार वडा अध्यक्ष दिनेशजंग पाण्डेले सांस्कृतिक परम्पराअनुसार भवनको शिलान्यास गरे । यो जानकारी समावेशी टोल सुधार समितिका अध्यक्ष लालकाजी श्रेष्ठले दिएका छन् ।
भवन निर्माणमा समावेशी टोल सुधार समिति, समावेशी महिला समूह र धर्मगुठीले सहकार्य गर्नेछन् । महिला समूहकी अध्यक्ष टिकादेवी तिम्सिनाका अनुसार, भवनले समुदायका ज्येष्ठ नागरिक, महिला र बालबालिकालाई दिवाकालीन सेवा सञ्चालन गर्न सहयोग पुर्याउनेछ । टोल सुधार समितिका अध्यक्ष पाण्डव कार्कीले भने, भवनले वैठक, छलफल र अप्ठेरोमा परेका नागरिकहरूबीच समन्वय र भेटवार्ता गर्न मद्दत गर्नेछ ।
वडा अध्यक्ष पाण्डेका अनुसार, समुदायको मागअनुसार चालु आर्थिक वर्षमा वडा कार्यालयबाट भवन निर्माणका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । भवन बनेपछि स्थानीय समुदायको जीवनमा महत्वपूर्ण सेवा र सहयोग पुग्ने अपेक्षा गरिएको छ ।