२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

चुनावी चासो : निर्वाचन आयोगलाई दैनिक ५० मतदाताको फोन

shivam cement
दिवाकर अधिकारी
२०८२ माघ २२ गते ०६:२०
Shares
चुनावी चासो : निर्वाचन आयोगलाई दैनिक ५० मतदाताको फोन

काठमाडौं : निर्वाचनको दिन नजिकिँदै जाँदा मतदातामा उत्साह बढ्दो छ । मतदान गर्न मतदाता परिचयत्र अनिवार्य छ कि छैन ? राष्ट्रिय परिचयत्रमा फरक विवरण परेको अवस्थामा के हुन्छ ? सरकारी कागजात हुँदा मतदान गर्न पाइन्छ कि पाइँदैन ? भनेर निर्वाचन आयोगलाई फोन गर्नेहरू बढ्दो क्रममा छन् । 

निर्वाचन आयोगले मतदाताका जिज्ञासा र प्रश्न सम्बोधन गर्न कल सेन्टर नै स्थापना गरेको छ । निर्वाचनसँग सम्बन्धित विषयमा अलमल भए वा कुनै प्रश्न रहे जोसुकैले निःशुल्क टोल–फ्री नम्बर ११०२ मा कल गर्न सक्छन् । एकैपटकमा १५ जनासम्मको कल लिन मिल्नेगरी जनशक्ति व्यवस्थापन गरिएको आयोगले जनाएको छ । 

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार दैनिक ५० जनाभन्दा बढीले फोन गरेर जिज्ञासा तथा प्रश्न राख्ने गरेका छन् । निर्वाचन आयोगले यही माघ ५ गते कल सेन्टर स्थापना गरेका हुन् । त्यसयता मंगलबारसम्म १ हजार ८ सय बढी जिज्ञासा तथा प्रश्न प्राप्त भएका छन् । 

आयोगका सहायक प्रवक्ता जिसी भन्छन्, ‘दैनिक ५०/५५ जनाले फोन गर्ने गरेका छन् । आयोगले १ हजार ८ सय बढी जिज्ञासा तथा प्रश्न प्राप्त भएको छ ।’ 

निर्वाचनमा राजनीतिक दल र उम्मेदवार होमिइसकेका छन् । यसबेला मतदातामा पनि उत्साह बढ्दो रहेको पाइएको छ । यसको एउटा उदाहरण भने निर्वाचन आयोगमा स्थापित कल सेन्टरमा नागरिकका जिज्ञासा र प्रश्न पुग्नेक्रम बढ्नु पनि हो । 

निर्वाचन आगोगका अनुसार कल सेन्टरमा फोन गर्नेहरूले मतदानसँग सम्बन्धित विषयमा बढ्ता जिज्ञासा राख्ने गरेका छन् । आयोगका अनुसार मतदान गर्न मतदाता नामावलीमा नाम दर्ता भएको हुनु अनिवार्य छ । मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिले मतदान गर्न जाँदा सामान्यतया आफूसँग भएको मतदाता परिचयपत्र साथमा लिएर जानुपर्छ । मतदाता परिचयपत्र नभएको वा नासिएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाण पुर्जामध्ये कुनै एउटा सक्कल कागजात साथमा लिएर जाँदा मतदान गर्न पाइन्छ ।

२ सय ७५ सदस्यीय प्रतिनिधि सभा सदस्यका लागि समानुपातिकतर्फबाट १ सय १० जना र १ सय ६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीतर्फबाट निर्वाचित हुन्छन् । दुवै निर्वाचन प्रणालीतर्फ उम्मेदवारी दर्ता भएर अगाडि बढिसकेको छ । आगामी फागुन २१ मा मतदान हुनेछ । दलले पाएको मतका आधारमा समानुपातिकतर्फका उम्मेदवार छानिन्छन् । प्रत्यक्षतर्फ भने सम्बन्धित निर्वाचन क्षेत्रमा खसेको मतको बहुमत ल्याउने उम्मेदवार विजयी हुन्छन् । 

निर्वाचन आयोगका अनुसार कल सेन्टर उम्मेदवारलाई प्रमाणपत्र दिने समयसम्म सञ्चालित हुनेछ । मतलदानपछि पनि समानुपातिकको सिट छुट्याउन केही समय लाग्नेछ । त्यतिन्जेलसम्म मतदाता वा सरोकारवाला जोसुकैले निर्वाचनसँग सम्बन्धित विषयमा कल सेन्टरमा फोन गरेर जिज्ञासा राख्न सक्छन् । 

ताजा खबर

सम्बन्धित खबर