२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

अर्थमन्त्री खनालद्वारा चार जिल्लाको निर्वाचन तयारी अनुगमन, स्वच्छ तवरले निर्वाचन गर्न निर्देशन

shivam cement
२०८२ माघ २२ गते ११:२५
Shares
अर्थमन्त्री खनालद्वारा चार जिल्लाको निर्वाचन तयारी अनुगमन, स्वच्छ तवरले निर्वाचन गर्न निर्देशन

काठमाडौंः आगामी फागुण २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी, सुरक्षा व्यवस्था तथा निर्वाचन आचारसंहिता पालनाको अवस्था बुझ्न अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो दुई दिनमा तनहुँ, कास्की, पर्वत र म्याग्दी जिल्लाको स्थलगत अनुगमन भ्रमण गरेका छन् ।

अर्थमन्त्रीले तीन जिल्लाको एकैदिन स्थलगत अनुगमन गरेका हुन् । उनले बुधवार कास्की, पर्वत र म्याग्दी जिल्लामा पुगेर प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन तयारी, सुरक्षा व्यवस्था र आचारसंहिता पालनाको अवस्थाबारे छलफल गरे । साथै जिल्ला निर्वाचन कार्यालयहरूको पनि अवलोकन गरे ।

अर्थमन्त्री खनाललाई कास्कीकी प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले आचारसंहिता पालनाको स्तर सन्तोषजनक रहेको र ५६ वटा मतदान केन्द्र अति संवेदनशील रहेको जानकारी दिइन् । मुख्य निर्वाचन अधिकृत हिमलाल वेल्वासे, क्षेत्रीय निर्वाचन अधिकृत निर्मला खड्का र सीता रेग्मी तथा प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले तयारीबारे ब्रिफिङ गरे । त्यस्तै सोही दिन पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको र ३५ वटा मतदान केन्द्र अति संवेदनशील रहेको बताए । मुख्य निर्वाचन अधिकृत बासुदेव पौडेल र जिल्ला निर्वाचन अधिकारी बुद्धिराम उपाध्यायले जानकारी गराए।

म्याग्दी जिल्लामा अनुगमनमा पुगेका खनाललाई प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले आचारसंहिता पालनाको स्तर सन्तोषजनक रहेको र १५ वटा मतदान केन्द्र अति संवेदनशील रहेको जानकारी दिए। मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा र जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले तयारीको अवस्थाबारे ब्रिफिङ गरे । अनुगमनपछि अर्थमन्त्री खनालले चारवटै जिल्लामा निर्वाचन तयारी सन्तोषजनक रूपमा अघि बढिरहेको बताए । उनले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको जोड दिँदै सबै सरोकारवालाको सहयोग आवश्यक रहेको बताए ।

यसअघी मंगलबार अर्थमन्त्री खनालले तनहुँ जिल्लाको अनुगमन गरेका थिए  । जसमा प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले तनहुँमा निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी कुनै पनि उजुरी नपरेको र जिल्लाका ८ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको जानकारी दिए । अर्थमन्त्रीले जिल्ला निर्वाचन कार्यालयको अवलोकन गरे । मुख्य निर्वाचन अधिकृत विष्णु उपाध्याय, निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत भेषराज पौडेल तथा जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख विकास लम्सालले हालसम्मको तयारीबारे विस्तृत ब्रिफिङ गरे ।  

ताजा खबर

सम्बन्धित खबर