२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

अफवाह फैलाउने विज्ञापन सामग्री उत्पादन, प्रकाशन र प्रसारण नगर्न विज्ञापन बोर्डको आग्रह

shivam cement
२०८२ माघ २२ गते १६:२३
Shares
अफवाह फैलाउने विज्ञापन सामग्री उत्पादन, प्रकाशन र प्रसारण नगर्न विज्ञापन बोर्डको आग्रह

काठमाडौं : विज्ञापन बोर्डले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन आग्रह गरेको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै बोर्डले असत्य, अपुष्ट तथा अफवाह फैलाउने विज्ञापन सामग्री उत्पादन, प्रकाशन, प्रसारण तथा प्रदर्शन नगर्न सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकहरूलाई आग्रह गरेको छ ।

निर्वाचनका बेला सामाजिक सञ्जाललगायत विभिन्न माध्यम प्रयोग गरी राजनीतिक दल, उम्मेदवार, नेता तथा कार्यकर्तालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा होच्याउने, भ्रम सिर्जना गर्ने तथा भ्रामक सामग्री फैलाउने गतिविधि बढ्दै गएको गुनासो प्राप्त भइरहेको जनाएको छ । यस्ता गतिविधिले मतदातामा भ्रम सिर्जना गर्ने र निर्वाचनको स्वच्छता प्रभावित गर्ने भन्दै बोर्डले यसप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।

विज्ञापन बोर्डका अनुसार निर्वाचन आयोग र बोर्डबीच निर्वाचन अवधिमा हुने विज्ञापनको अनुगमन, नियमन, छानबिन तथा कारबाही गर्ने सहमति भइसकेको छ । सोही सहमतिअनुसार बोर्डले निर्वाचनसम्बन्धी विज्ञापनको नियमित अनुगमन तथा नियमन गरिरहेको जनाएको छ ।

बोर्डले मतदातालाई भ्रममा पार्ने, होच्याउने तथा भ्रामक श्रव्य र श्रव्यदृश्य सामग्री प्रयोग गर्ने कार्यको सूक्ष्म अध्ययन भइरहेको र फेक आइडी प्रयोग गरी त्यस्ता कार्य गर्ने वा गराउनेलाई कारबाहीको दायरामा ल्याइने स्पष्ट पारेको छ ।

प्रेस विज्ञप्तिमा असत्य, अपुष्ट वा अफवाह फैलाउने विज्ञापन सामग्री उत्पादन, प्रकाशन, प्रसारण तथा प्रदर्शन नगर्न आग्रह गरिएको छ । यस्तै, कुनै राजनीतिक दल वा उम्मेदवारलाई लक्षित गरी चरित्रहत्या गर्ने, घृणा फैलाउने, सामाजिक सद्भाव बिथोल्ने, अमर्यादित व्यवहार देखाउने तथा निर्वाचनको स्वच्छता प्रभावित गर्ने सामग्री नबनाउन र नफैलाउन अनुरोध गरिएको छ ।

कृत्रिम प्रविधिको प्रयोगबाट तयार गरिएका डिपफेक तथा अन्य भ्रामक सामग्री फेक आइडीमार्फत प्रकाशन तथा प्रसारण नगर्न, सामाजिक सञ्जालमा रहेका मिथ्या तथा भ्रमपूर्ण सामग्रीलाई लाइक, सेयर, ट्याग वा कमेन्ट नगर्न पनि बोर्डले आग्रह गरेको छ ।

कुनै पनि माध्यममा भ्रमपूर्ण सूचना, विज्ञापन वा प्रचार सामग्री प्रकाशित, प्रसारित वा प्रदर्शित भएको पाइएमा विज्ञापन बोर्डमा जानकारी गराउन अनुरोध गर्दै बोर्डले विज्ञापन (नियमन गर्ने) ऐन २०७६, नियमावली २०७७, निर्वाचन आचारसंहिता २०८२ तथा विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता २०७९ विपरीत गतिविधि भए कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर