
काठमाडौंः प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ कलाकार सुनिल थापाको निधनप्रति दुःख व्यक्त गरेकी छन् । एक विज्ञप्ति जारी गर्दै उनले थापाको निधनप्रति दुःख व्यक्त गरेकी हुन् ।
थापाको निधनसँगै नेपाली र भारतीय चलचित्र जगतले एक बहुआयामिक कलाकार मात्र नभई दरिलो खम्बा गुमाएको भन्दै प्रधानमन्त्री कार्कीले चार दशकभन्दा बढी समयको उनको साधना, समर्पण र योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोत रहने बताएकी छन् ।
‘चिनो’का राते काइँलादेखि ‘मेरी कोम’का प्रशिक्षकसम्ममा उहाँका खलनायक र सहनायकका उम्दा भूमिका करोडौँ मन जित्न सफल भए। उहाँका यी हरेक चरित्र हामी दर्शकको स्मृतिमा सदैव जीवित रहनेछन्’, विज्ञप्तिमा भनिएको छ, ‘यस दुःखद् घडीमा म दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक तथा सम्पूर्ण कला क्षेत्रप्रति गहिरो समवेदना व्यक्त गर्दछु।’
आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा थापाको निधन भएको हो । उनलको हृदयाघातका कारण निधन भएको जनाइएको छ ।